परिधिको वरिपरि

समीक्षा

परिधिको वरिपरि

नेपाली आख्यान लेखनको क्षेत्रमा एक सुपरिचित र स्थापित नाम हो, उमा सुवेदी। उनको पछिल्लो कृति ‘परिधि’ पाठकमाझ आएको छ, जसले आख्यानको दुनियाँमा एउटा नयाँ तरंग पैदा गरेको छ। यसअघि उमाका ‘तोदा’, ‘इति’ र ‘सयौं पुतली’जस्ता महत्वपूर्ण कृति प्रकाशित भइसकेका छन्।

प्रस्तुत उपन्यासमा लेखकले वास्तविक र काल्पनिक संसारलाई आफ्नै विशिष्ट कलामार्फत जोड्न सफल भएकी छन्। कुनै पनि विषयमा कलम चलाउनु आफैंमा चुनौतीपूर्ण कार्य हो। त्यसमा पनि आख्यानको सिर्जना गर्नु कुनै खेलबाची होइन। आख्यानमा लेखकले एउटा सिंगो संसार निर्माण गर्नुपर्ने हुन्छ, जहाँ पात्रहरूले आफ्नै जीवन बाँचिरहेका हुन्छन्। यो उपन्यास पढ्दै जाँदा बोध हुन्छ कि लेखकले अक्षर र भावनाको मेलमिलाप गराउन निकै कडा परिश्रम गरेकी छिन्। शब्दहरूमा भावना भर्नु र तिनलाई जीवन्त बनाउनु उनको लेखनको मुख्य विशेषता हो।

नेपालको सन्दर्भमा कानुनी फैसलाहरू प्रायः वास्तविकताको गहिराइ नबुझीकन गरिएका हुन्छन् भन्ने कुरा यस कृतिले उजागर गर्छ। यो किताबभित्रका नायक र नायिकाको जीवनकथा अनि उनीहरूले भोगेको नियति थाहा पाएपछि न्याय प्रणालीका छिद्रहरूबारे प्रस्ट हुन सकिन्छ। मान्छेले जीवनमा भोग्ने सुखद र दुःखद् अनुभूतिहरूलाई लेखकले यस कृतिमा बडो मार्मिक ढंगले समेटेकी छिन्। जीवनका आरोह–अवरोह, न्याय र अन्यायको चेपुवामा परेका मानिसको मनोविज्ञानलाई यहाँ सूक्ष्म रूपमा प्रस्तुत गरिएको छ।

एउटै मान्छेले आफ्नो जीवनकालमा कयौं प्रकारका जीवन बाँचिरहेको हुन्छ। लेखकले ‘छाया संसार’ को उदाहरण दिँदै किताबभित्रका नारी र पुरुष पात्रहरूको वर्णन गरेकी छिन्। मान्छे र पुतलीबीचको सम्बन्धलाई उनले प्रतीकात्मक रूपमा प्रस्तुत गरेकी छिन्, जसले मानव जीवनको चञ्चलता र रूपान्तरणलाई दर्शाउँछ। विभिन्न घटनाक्रमसँग पात्रहरूलाई जोड्ने उमाको शिल्प निकै तारिफयोग्य छ। मान्छे बाहिरबाट हेर्दा एउटा जीवन बाँचिरहेको देखिन्छ, तर उसको भित्री र खास जीवन त्योभन्दा नितान्त फरक हुन सक्छ। किताबभित्रका पात्रहरूलाई फरक–फरक भूमिकामा उभ्याएर लेखकले उपन्यासमा विविधता दिन खोजेकी छिन्।

यो पुस्तकका महिला तथा पुरुष पात्रहरू संगत र विसंगत परिधिभित्र र बाहिर ओहोरदोहोर गरिरहेका भेटिन्छन्। उनीहरू आशा र निराशाको चाकाचुलीमा झुलिरहेका छन्। लेखकले यस उपन्यासमा पारिजातको कालजयी कृति ‘शिरीषको फूल’ का मुख्य पात्र सुयोगवीरलाई पनि एउटा सन्दर्भमा समावेश गरेकी छिन्, जसले उपन्यासलाई अझ दार्शनिक बनाएको छ।

उमाको विचारमा पात्रहरू लेखकका कठपुतलीमात्र होइनन्। उनले भनेकी छिन्, ‘तिनलाई मुखुण्डो लगाइदिएर पठाइदिए पनि भयो, हेलमेट लगाएर पठाए पनि भयो।’ लेखकको यही क्षमताले नै पात्रहरूलाई सार्थकता दिन सक्छ र उनी यो कार्यमा निकै कुशल देखिएकी छन्।

हाम्रो समाजकै वरिपरि रहेका मानिसहरू नै यस किताबका पानाहरूमा घुमिरहेका छन्। उमाले यस कृतिभित्र ‘भाद्र १९’को दिनलाई बारम्बार संकेत गरेकी छिन्, जसले उपन्यासमा एउटा रहस्यमयी र महत्वपूर्ण मोडको काम गरेको छ। त्यही दिन उपन्यासकी एउटी वकिल पात्रले आत्महत्या गर्ने योजना बनाएकी हुन्छे। तर, जीवनका अनेक बहाना र संयोगहरूले उनलाई मर्नबाट बचाउँछन्।

संयोग कस्तो छ भने, त्यही दिन चित्रकार अभय सुन्दरको मृत्यु हुन्छ र अर्की पात्र आर्याको जन्मदिन पनि पर्छ। त्यसैले यो मिति पुस्तकभित्र एउटा विशेष समय र सन्दर्भ बनेर उभिएको छ। आर्या एक नाट्यकर्मी हुन्। बालगृहमा हुर्किएकी उनलाई आमाबाबुको मायाको अभावले नाटकको दुनियाँसम्म पुर्‍याउँछ, जहाँ उनले आफ्ना भावनाहरूलाई अभिनयमार्फत व्यक्त गर्छिन्।

मान्छेपिच्छेका भिन्नभिन्न कथाहरू बुन्न उमा सुवेदीले निकै मिहिनेत गरेकी छिन्। आफ्ना अघिल्ला कृतिहरूको तुलनामा उनी यस उपन्यासमा निकै खारिएको अनुभव हुन्छ। नेपाली साहित्यमा ‘नारी लेखकहरूले केवल रोइलो मात्र लेख्छन्’ भन्ने एउटा संकुचित भ्रम व्याप्त छ। 

यो भ्रमको विरुद्ध उनी आफ्नो लेखन क्षमता र बौद्धिकतामार्फत बुलन्द रूपमा उभिएकी छिन्। बाध्यतावश आफ्नो नग्नता बेचेर घर–परिवार चलाउन विवश एक महिलाको मार्मिक कथा पनि यसभित्र समेटिएको छ। उनले कमाएको पैसामा मोजमस्ती गरेका घरका सदस्यहरूले जब यथार्थ थाहा पाउँछन्, तब उनलाई गलहत्याएर घरबाट बाहिर निकाल्छन्। उनको पीडा र यथार्थ सुन्ने फुर्सद कसैलाई हुँदैन। यो हाम्रो समाजको एउटा कठोर र पाखण्डी पाटो हो।

त्यस्तै, चंगा उडाउँदा–उडाउँदै रहस्यमय ढंगले मृत्यु भएका दुई बालिकाको कथा पनि उत्तिकै मर्मस्पर्शी छ। बाहिर सर्पले टोकेर मृत्यु भएको समाचार आए पनि वास्तविक रूपमा उनीहरू बलात्कृत भएर मारिएका हुन्छन्। यो हृदयविदारक घटनाले समाजमा व्याप्त असुरक्षा र आपराधिक मानसिकतालाई नांगो पारेको छ। यसरी हेर्दा पुस्तकका हरेक पात्रका आफ्नै विशिष्ट कथाहरू छन्। अस्मिता, आर्या, पूर्वा, अभयसुन्दर, सोफिया र विम्ब आदि यस उपन्यासका प्रतिनिधि पात्रहरू हुन्, जसले समाजको विभिन्न तह र तप्कालाई प्रतिनिधित्व गर्छन्।

समाजका वरिपरि घट्ने सामान्य लाग्ने तर गहिरा घटनाहरूलाई कलाको रङले रंगाएर लेखकले एक पठनीय कृतिको सिर्जना गरेकी छन्। उनको प्रखर कल्पनाशक्तिलाई यस उपन्यासका हरेक पृष्ठमा महसुस गर्न सकिन्छ। समग्रमा, ‘परिधि’ एक उत्कृष्ट र प्रभावकारी कृति हो। यसको लेखकीय शक्तिले पाठकलाई अन्त्यसम्म बाँधिराख्छ र कतिपय सन्दर्भमा घोत्लिन बाध्य तुल्याउँछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.