को हुन् कांग्रेस संसदीय दलको नेता भीष्मराज आङ्देम्बे?
काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध निर्वाचित भए। लामो राजनीतिक संघर्ष, वैचारिक अडान र संगठनात्मक भूमिकाबाट उदाएका आङ्देम्बे कांग्रेसभित्र समन्वयकारी र स्पष्ट विचार राख्ने नेताका रूपमा परिचित छन्।
आङ्देम्बेको राजनीतिक यात्रा विद्यालयकालदेखि नै विद्रोही चेतनासँग जोडिएको थियो। २०३६ सालमा पाँचथरको फिदिममा स्कुल पढ्दै गर्दा उनले टाउकोमा कालो रुमाल बाँधेर पञ्चायती व्यवस्थाविरुद्ध शान्तिपूर्ण विरोध जनाएका थिए। त्यतिबेला भएको राजनीतिक दमन र अन्यायका घटनाले उनलाई लोकतान्त्रिक आन्दोलनमा सक्रिय बन्न प्रेरित गर्यो।
२०४२ सालको सत्याग्रहका क्रममा उनी ९ महिना जेल परे भने पटक-पटक गरी डेढ वर्षसम्म कारावास भोगे। त्यस अवधिमा उनी नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य थिए। २०४६ सालको जनआन्दोलनमा उनले पूर्वाञ्चलको कमाण्ड सम्हाल्दै सक्रिय भूमिका खेले, जसको परिणामस्वरूप बहुदलीय प्रजातन्त्र पुनःस्थापित भयो।
लोकतान्त्रिक आन्दोलनपछि आङ्देम्बेले संगठन र निर्वाचन राजनीतिमा सक्रियता बढाए। २०४९ सालमा जिल्ला विकास समिति पाँचथरको सदस्य बनेर उनले जनप्रतिनिधिको यात्रा सुरु गरे। त्यसपछि कांग्रेसको क्षेत्रीय नेतृत्व सम्हाल्दै २०५१ सालतिर नेपाल तरुण दलको केन्द्रीय उपाध्यक्ष बने। माओवादी द्वन्द्वको पूर्वसन्ध्यामा पार्टीको युवा संगठनमा उनको भूमिका महत्वपूर्ण मानिन्छ।
उनले २०५६ सालदेखि संसदीय चुनाव लड्न सुरु गरे पनि सफलता २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा प्राप्त भयो। प्रतिस्पर्धात्मक क्षेत्रबाट निर्वाचित हुँदै संविधानसभा सदस्य बनेका आङ्देम्बेले संसदीय सुनुवाइ समिति सदस्यका रूपमा तथा संविधान निर्माणका विवाद समाधान गर्ने समितिमा रहेर योगदान दिए।
२०७२ सालमा संविधान जारी भएपछि उनी संसद्को उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण समितिको सभापति बने।
वैचारिक रूपमा आङ्देम्बे पहिचानको मुद्दामा स्पष्ट अडान राख्ने नेताका रूपमा चिनिन्छन्। राज्य पुनर्संरचनाको बहसमा उनले बहुपहिचानको पक्षमा खुलेर धारणा राखे, जुन त्यतिबेला कांग्रेसभित्रै अल्पमतमा थियो। आन्तरिक र बाह्य विरोधका बाबजुद उनले आफ्नो अडान कायम राख्दै संवादमार्फत समाधान खोज्नुपर्ने धारणा अघि सारे। कोशी प्रदेशको नाम ‘किरात’ राखिनुपर्ने उनको धारणा समेत रहँदै आएको छ।
पार्टीभित्र उनी समन्वयकारी नेताका रूपमा परिचित छन्। विचार समूहभन्दा माथि उठेर सक्षम नेतृत्वको पक्षमा आवाज उठाउने उनले स्वीकार गर्छन् कि यसले व्यक्तिगत राजनीतिक लाभमा भने असर पारेको छ। तैपनि संगठनभित्र सन्तुलन र समावेशी सोच स्थापित गर्न उनले निरन्तर प्रयास गरेका छन्।
आङ्देम्बे कांग्रेसको आदिवासी जनजाति विभागका संयोजक र केन्द्रीय अनुशासन समितिका संयोजकका रूपमा समेत सक्रिय रहे। अनुशासन कायम गर्न कठोर निर्णय लिन पछि नहट्ने उनले तीनपटक केन्द्रीय सदस्य र एकपटक केन्द्रीय सहमहामन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।
विद्यालयकालको विद्रोहदेखि संविधान निर्माणसम्मको यात्रा तय गरेका आङ्देम्बे अब संसदीय दलको नेताका रूपमा कांग्रेस संसदीय राजनीतिलाई अघि बढाउने जिम्मेवारीमा पुगेका छन्।
प्रतिक्रिया दिनुहोस !