एमसीसी सडक परियोजना : धानखोला-लमही सडक निर्माण सुरू
दाङ : एमसीसी परियोजना अन्तर्गतको सडक परियोजना महेन्द्र राजमार्गको धानखोला-लमही सडक खण्डको करिब ४० किलोमिटर सडक स्तरोन्नति कार्य सुरू गरिएको छ । सडक खण्डको भालुबाङ क्षेत्रमा सडक निर्माणकोको शुभारम्भ गरिएको हो। सडक शुभारम्भसँगै औपचारिक निर्माणको काम सुरू भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सडकको शिलान्यास गरेका हुन् ।
यस सडक स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र सुपरपेभ आस्फाल्ट जस्ता अत्याधुनिक प्रविधि प्रयोग गरिने भएको छ । यी प्रविधिले पुराना सामग्री पुनःप्रयोग गर्दै सडकलाई बलियो, टिकाउ र वातावरणमैत्री बनाउने लक्ष्य राखेको निर्माण कम्पनीले जनाएको छ । यसबाट दीर्घकालीन रूपमा लागत घट्ने र सडक मर्मतको गुणस्तर बढ्ने अपेक्षा गरिएको छ । आयोजनाअन्तर्गत सडकको दुवैतर्फ सात मिटर चौडा क्यारिजवे र साढे दुई/दुई मिटर सोल्डर निर्माण गरी कूल १२ मिटर चौडाइ कायम गरिने परियोजनाले बताएको छ । निर्माणको जिम्मा शर्मा जेबि कन्स्ट्रक्सन प्रालिले पाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले अत्याधुनिक प्रविधिको प्रयोग सराहनीय भएको बताए । उनले सडक स्तरोन्नतिले यात्रालाई सुरक्षित र भरपर्दो बनाउनुका साथै स्थानीय व्यवसाय,कृषि र उद्यममा सकारात्मक प्रभाव पार्ने बताए । साथै,स्थानीयको अपेक्षाअनुसार सडक सुधार र स्तरोन्नतिको काम अघि बढाउनुपर्नेमा भन्दै दुवै देशको सहकार्य र विकास साझेदारी निरन्तर रहने अपेक्षा समेत व्यक्त गरे।
नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले नेपाल–अमेरिका साझेदारीको महत्वपूर्ण उदाहरणका रूपमा यस आयोजनालाई लिनुपर्ने बताए । उनले एमसीसी अन्तर्गतको एउटा मुख्य परियोजना यो सडक भएको भन्दै यसलाई नेपाल र अमेरिकी सरकारले विशेष आयोजनाको रुपमा लिएको बताए। उनले ढुवानी लागत घटाउने,सडक सुरक्षा अभिवृद्धि गर्ने र स्थानीय समुदायलाई बजारसँग जोड्ने लक्ष्यमा यो परियोजना केन्द्रित रहेको स्पष्ट पारे ।
एमसीए नेपालका सञ्चालक समिति सदस्य तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव सुशील बाबु ढकालले एमसिए–नेपालको लगानी सरकारका योजना तथा कार्यक्रमको पूरकका रूपमा रहेको बताए । यस सहकार्यले पूर्वाधार विकास र आर्थिक अवसर विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
एमसीसीका राष्ट्रिय आवासीय उप–निर्देशक सञ्जय पौड्यालले दीर्घकालीन कार्यसम्पादन सुनिश्चित गर्ने प्रविधिमार्फत लागत प्रभावकारी पूर्वाधार निर्माणमा सहयोग पुग्ने बताए । एमसीए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले सडक मर्मत आयोजना एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको महत्वपूर्ण परियोजना भएको उल्लेख गर्दै पारदर्शी र उच्च गुणस्तरसहित कार्य सम्पन्न गरिने प्रतिबद्धता जनाए । शर्मा कन्स्ट्रक्सन र कुमार निर्माण सेवा प्रालिका प्रतिनिधि सौरभ शर्माले निर्धारित समयभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले गुणस्तरीय काममा कुनै पनि कमी नहुने र यसका लागि स्थानीय स्तरबाट पनि सहयोग चाहिने अपेक्षा व्यक्त गरे। शर्माले अबको २० महिनाभित्रमा परियोजना सम्पन्न गरेर हस्तान्तरण गर्ने तयारी स्वरूप काम सुरु गरिएको समेत बताए।
सडक खण्ड स्तरोन्नतिका लागि सन् २०२४ अक्टोबर ३० मा बोलपत्र आह्वान गरिएको थियो । निर्माणको जिम्मा शर्मा कन्स्ट्रक्सन र कुमार निर्माण सेवा प्रालिको संयुक्त उपक्रम शर्मा–कुमार जेभीले पाएको हो । गत पुस ७ गते एमसिए–नेपाल र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । सम्झौताअनुसार आयोजनाको निर्माण कार्य २४ महिनाभित्र सम्पन्न गर्नुपर्नेछ । निर्माण कम्पनीले भ्याटबाहेक दुई करोड आठ लाख अमेरिकी डलर ९करिब तीन अर्ब रुपैयाँ० मा काम गर्ने जिम्मा लिएको छ ।
नेपाल सरकारको मापदण्डअनुसार स्तरोन्नति गरिने सडकमा गाडी गुड्ने भाग ७ मिटर चौडा र दुवैतर्फ २।५–२।५ मिटर कालोपत्रे सोल्डर रहने गरी कुल १२ मिटर चौडाइ कायम गरिनेछ । उक्त सडक खण्डमा प्रयोग हुने फूल–डेप्थ रिक्लेमेशन र सुपरपेभ प्रविधिअन्तर्गत सडकमा प्रयोग भएका अधिकांश पुराना निर्माण सामग्री प्रशोधन गरी पुनः प्रयोग गर्न सकिनेछ । यसअन्तर्गत बालुवा, गिट्टीलगायत सामग्रीलाई पुनः प्रयोग गर्दा लागत घट्नुका साथै वातावरणीय प्रभाव पनि न्यून हुन्छ । यस प्रविधिबाट निर्माण गरिने सडक थप बलियो, टिकाउ र जलवायुमैत्री हुने बताइएको छ । यो प्रविधि नेपालमा पहिलोपटक प्रयोग गरिँदैछ। यही सडकमा यो प्रविधि प्रयोग गरिन लागेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। कार्यक्रमको सहजीकरण सबिन मिश्रले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !