मौसम पूर्वानुमानबारे विभागले भन्यो–‘नआत्तिनू, सतर्क रहनू’

मौसम पूर्वानुमानबारे विभागले भन्यो–‘नआत्तिनू, सतर्क रहनू’
सुन्नुहोस्

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमानका विषयमा सर्वसाधारणमा केही भ्रम वा गलत बुझाइ परेको हुन सक्ने बताएको छ। विभागले मंगलबार विज्ञप्ति जारी गर्दै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको चेतावनी दिएको थियो, जसले आममानिसमा केही त्रास पैदा गरेको देखिएको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार पुनः अर्को सूचना जारी गर्दै मौसमी प्रभावबारे थप स्पष्ट पारेको छ। महाशाखाका अनुसार हिमाली भूभागबाहेक नेपालका अन्य क्षेत्रमा वर्षा र हावाहुरीको क्रम पश्चिमबाट सुरु भएर पूर्वतर्फ सर्ने देखिएको छ। मौसमविद् सञ्जीव अधिकारीका अनुसार हालको मौसमी गतिविधि ‘प्रि–मनसुन’को स्वाभाविक प्रक्रिया हो। उनले भने, ‘हावाहुरी र वर्षा बुधबार सुरु भएर बिहीबारसम्म लगातार भइरहने भन्ने होइन। यो फरक–फरक समयमा र फरक–फरक ठाउँमा हुन सक्छ। हाम्रो सूचनाले त्रास फैलाउनुभन्दा पनि पूर्वतयारीका लागि सचेत गराउनु थियो।’

विभागले देशभर १०० बढी स्वचालित वर्षा मापन केन्द्र र ५०० भन्दा बढी म्यानुअल मेसिनमार्फत नियमित अनुगमन गरिरहेको छ। वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार स्थानीय र पश्चिमी वायु सक्रिय रहेकाले यो अवस्था आएको हो। प्रि–मनसुनमा हावाहुरी, असिना र चट्याङ हुनु एक नियमित प्रक्रिया भएको उनले स्पष्ट पारे।

  • आगामी एक सातासम्म वर्षाको सम्भावना तर निरन्तर होइन, बीचबीचमा हुने।
  • मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सामान्य मौसमी प्रक्रिया भएको मौसमविद्को भनाइ।

जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले झन्डै एक सातासम्म देशका विभिन्न भागमा पानी पर्ने सम्भावना रहेको बताए। उनी भन्छन्, ‘भारी वर्षा, असिना र चट्याङ जस्ता घटना कुनै निश्चित सानो क्षेत्रमा मात्र हुन्छन्। त्यसैले ठ्याक्कै कुन समयमा कुन गल्ली वा गाउँमा यस्तो हुन्छ भनेर किटान गर्न प्राविधिक रूपमा कठिन हुन्छ।’ उनका अनुसार काठमाडौंमा बेलुका चलेको हुरी अर्को जिल्लामा मध्यरातमा चल्न सक्छ। वर्षाको मात्रा पनि ठाउँअनुसार फरक हुन्छ। बुधबार बेलुकाको तथ्यांकअनुसार म्याग्दीमा २४ घण्टामा ११० मिलिमिटर (मिमि) बढी वर्षा भएको छ। संखुवासभाको नुममा ९० मिमि बढी वर्षा भएको छ।

मौसमविद् अधिकारीका अनुसार वर्षाको क्षति भूगोलमा पनि भर पर्छ। मनाङ र मुस्ताङ जस्ता जिल्लामा ५०–६० मिमि वर्षाले पनि ठूलो क्षति पुर्‍याउन सक्छ भने अन्य ठाउँमा त्यति नै वर्षा सामान्य हुन सक्छ। विभागले आगामी केही दिन अझै वर्षाको सम्भावना रहेको समेत बताएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.