दाङमा लाटोकोसेरो तथा हुचिल उत्सव
दाङ : दाङमा लाटोकोसेरो तथा हुचिल उत्सव भएको छ। किसानको साथीका रूपमा परिचित लाटोकोसेरो तथा हुचिल संरक्षणको सन्देश दिन दाङको लमहीमा पहिलो पटक उत्सव गरिएको हो।
अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमही र ‘प्रकृतिका साथीहरू’ नामक संस्थाको संयुक्त आयोजनामा महोत्सव भएको हो। दाङको लमहीमा गरिएको यो महोत्सव १३औँ महोत्सव हो। १३औँ लाटोकोसेरो तथा हुचिल उत्सवको उद्घाटन लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले गरेका हुन्।
समुदायका नागरिक तथा विद्यार्थीहरूले उत्साहपूर्वक उत्सवमा सहभागिता जनाएका छन्। तीनवटा अस्थायी संग्रहालयमा लाटोकोसेरोसँग जोडिएका धेरै दृश्य र त्यसको महत्त्व जनाउने आकृतिहरू प्रदर्शनमा राखिएका छन्। ‘यहाँ पहिलो पटक लाटोकोसेरो तथा हुचिल उत्सव आयोजना गरिएपछि संरक्षणकर्मीहरू समेत उत्साहित भएका छन्। ‘वातावरण जोगायौँ, वन जोगायौँ भने लाटोकोसेरो जस्ता चराहरूको संरक्षण गर्न सकिन्छ,’ उनले भने, ‘यसको संरक्षण सबैको साझा जिम्मेवारी हो।’
संग्रहालय तथा ४० भन्दा बढी स्टलमा लाटोकोसेरो तथा चरा, पुतलीसँग सम्बन्धित सचेतनामूलक स्टलहरू समावेश छन्। यसका अतिरिक्त सहभागीहरूले हात तथा अनुहारमा लाटोकोसेरो अंकित चित्रहरू बनाएर खुसी मनाएका छन्। लाटोकोसेरोलाई हेलारी चराका रूपमा लिने प्रचलन नै गलत भएको भन्दै यो चराको महत्व प्रकृतिमा निकै धेरै रहेको सन्देश छरिएको छ।
किसानको साथीका रूपमा चिनिने लाटोकोसेरो अवैध व्यापार र चोरी सिकारका कारण संकटमा पर्न थालेको छ। ग्रामीण क्षेत्रमा चरा तथा वन्यजन्तु संरक्षणप्रति जनचेतना फैलाउने, स्थानीय संस्कृति प्रवर्द्धन गर्ने र पर्यटन आकर्षण बढाउने उद्देश्य राखिएको ‘प्रकृतिका साथीहरू’ संस्थाका निर्देशक राजु आचार्यले बताए।
‘लाटोकोसेरो किसानको साथी हो, यसले प्रकृतिलाई सन्तुलनमा राख्ने काम गर्छ,’ उनले भने, ‘यसको संरक्षण गर्ने दायित्व तपाईं हामी सबैको हो।’ समुदायस्तरबाट संरक्षणको पहल लिइएको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले बताए। ‘समुदायबाट नै यसको संरक्षणको जिम्मेवारी लिन जरुरी छ,’ उनले भने, ‘लाटोकोसेरो प्रकृतिको अभिन्न अंग हो।’ संरक्षण अबको आवश्यकता हो।
बासस्थानको अभाव, रासायनिक मल तथा विषादीको प्रयोग र सुरक्षित आहाराको कमीले लाटोकोसेरोको संख्या घट्दो अवस्थामा पुगेको संरक्षणकर्मीहरूले बताएका छन्। ठूला रुख कटान र परम्परागत घरको संरचना हराउँदै जाँदा बस्ने र प्रजनन गर्ने ठाउँसमेत घट्दै गएको छ। त्यसैले लाटोकोसेरोको संरक्षण सबैको साझा विषय बन्न पुगेको छ।
उत्सवका क्रममा चरा अवलोकन, लाटोकोसेरोसम्बन्धी अस्थायी लघु म्युजियम, रोबोट प्रदर्शनी तथा स्लाइड र भिडियो प्रस्तुति राखिएको छ। उत्सवलाई आकर्षक बनाउन थारु, मगर, गुरुङ र कुमाल समुदायका सांस्कृतिक नृत्य, भजन तथा लोपोन्मुख स्थानीय खेल प्रतियोगितासमेत आयोजना गरिएको छ। लाटोकोसेरोले मुसा नियन्त्रण गरी कृषिमा महत्वपूर्ण योगदान पुर्याउने भएकाले यसलाई किसानको साथी भनिन्छ। एउटा भाले, पोथी र बच्चासहितको समूहले एक सिजनमा करिब तीन हजारसम्म मुसा खाने तथ्य उल्लेख गरिएको छ।
नेपालमा लाटोकोसेरो तराईदेखि हिमालसम्म पाइने भए पनि यसको यकिन संख्या छैन। विश्वभर करिब २३० प्रजाति पाइन्छन् भने नेपालमा करिब ८८६ प्रजातिका चरामध्ये ३९ प्रजाति संकटापन्न अवस्थामा रहेको तथ्यांक छ।
प्रतिक्रिया दिनुहोस !