खेलकुद

मधेसी युवतीकी ‘रोल मोडल’ क्रिकेटर पूजा महतो

युवा शक्ति

मधेसी युवतीकी ‘रोल मोडल’ क्रिकेटर पूजा महतो

गरिब मजदुर परिवारमा जन्मिएकी पूजाको कठोर परिश्रम, धैर्य र सहनशीलताले महिला क्रिकेटमा उनको नाम देश विदेशमा चर्चित छ।

मधेसका विद्यालयका छात्रा हुन् वा गाउँका बेरोजगार युवती— उनीहरूलाई एकपटक सोध्नुस् ‘तपाईं के बन्न चाहनुहुन्छ ?’ धेरैको एउटै जवाफ आउँछ, ‘पूजा महतो जस्तो सफल क्रिकेटर।’

ग्रामीण भेगकी यी युवती अहिले एउटा उदाहरणीय पात्र अर्थात् ‘आइकन’ सावित भइसकेकी छिन्। गरिब मजदुर परिवारमा जन्मिएकी पूजाको कठोर परिश्रम, धैर्य र सहनशीलताले नै उनलाई यो उचाइमा पुर्‍याएको हो। दाइजो, अशिक्षा र संकीर्ण सोचका कारण विभेदको सिकार हुने महिलाका लागि पूजा एउटा दरिलो जवाफ बनेकी छिन्। स्वाभिमानी बन्न आफूमा कुनै न कुनै सीप हुनुपर्छ भन्ने मान्यतालाई उनले चरितार्थ गरेकी छिन्। त्यसैले त अहिले यहाँका छोरीचेलीहरू क्रिकेटर बनेर पूजाझैं नाम कमाउने सपना बुन्न थालेका छन्।

गौशालाकी २० वर्षीया पूजा महतोले यो नाम आर्थिक अभाव र सामाजिक दबाबलाई चिरेर कमाएकी हुन्। अहिले घरघरमा उनको चर्चा छ। छोरीको सपना पूरा गर्न कतिपय अभिभावकहरू अहिले हौसलामात्र होइन, आर्थिक र भौतिक रूपमै सहयोग गर्न अघि सरेका छन्। खेल सामग्री खरिद गर्न होस् वा प्रशिक्षणका लागि, अभिभावकहरू नै अग्रसर देखिनु सकारात्मक परिवर्तन हो। हिजो खेलमैदान पठाउन हिचकिचाउनेहरू आज छोरीलाई मैदानसम्म पुर्‍याउँछन्। यसको एउटै कारण हो— पूजाको दमदार सफलता।

मधेस त्यस्तो ठाउँ हो, जहाँ छोरी जन्मिएपछि कतिपयले अझै पनि मिठाई बाँड्दैनन्। टाउकोमा ऋण थपियो भन्दै चिन्तित हुने बुबाहरूलाई क्रिकेटर पूजाले ब्याट र बलको माध्यमबाट कडा जवाफ दिएकी छिन्। उनले मैदानमा बनाउने हरेक रन र लिने हरेक विकेटमा मधेसका विभेदविरुद्धको आवाज लुकेको हुन्छ।

२०७९ सालमा जलेश्वर रंगशालामा पहिलोपटक उनले स्वदेशमा आफ्नो कला प्रदर्शन गरेकी थिइन्। उनको त्यो प्रदर्शन नै सफलताको पहिलो सिँढी बन्यो। २०८० सालमा राष्ट्रिय टोलीबाट डेब्यु गरेपछि उनले मलेसियामा भएको एसिया क्वालिफायर र हङकङमा सम्पन्न यू–१९ सिरिजमा उत्कृष्ट प्रदर्शन गरिन्।

खेलप्रेमी रामविनय सदाका अनुसार ग्रामीण भेगका गृहिणीहरू समेत पूजाको खेलका प्रशंसक छन्। ‘चुलोचौकोमा सीमित महिला फुर्सद निकालेर पूजाले खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरू टेलिभिजनमा हेर्ने गर्छन्,’ सदा भन्छन्।

पूजाको गृहनगरी गौशालामा अहिले बिहान–बेलुका छोरीहरू क्रिकेट खेलिरहेका भेटिन्छन्। गौशाला नगरपालिकाले पनि महिला क्रिकेटलाई प्राथमिकतामा राखेको छ। मेयर डा. दीपेन्द्र महतोका अनुसार नगरभरि नै महिला क्रिकेट टिम स्थापना भइसकेको छ। ‘नगरपालिकाले पूजालाई खेल दूत नियुक्त गरी मासिक प्रोत्साहन भत्ता दिँदै आएको छ,’ मेयर महतोले भने, ‘उनी फुर्सदमा यहाँ आएर खेलाडीहरूलाई प्रशिक्षण र सल्लाह 
दिने गर्छिन्।’

सन् २००६ मा महोत्तरीको गौशाला–९ डुवरवन्नाको एउटा फुसको घरमा पूजाको जन्म भएको थियो। घरको अवस्था कमजोर भएका बेला पुनः छोरी जन्मिएपछि परिवार चिन्तित बनेको पिता रञ्जित महतो स्मरण गर्छन्। कामको खोजीमा सन् २०१० मा यो परिवार दिल्ली पलायन भयो। रञ्जितले दिल्लीमा बिहान ४ देखि राति ११ बजेसम्म चिया पसलमा काम गरेर चार सन्तानको पालनपोषण गरे।

क्रिकेटप्रेमी रञ्जितले नै पूजालाई दिल्लीको रोहतक रोड जिमखानामा प्रशिक्षक राजेश चौहानको सहयोगमा निःशुल्क प्रशिक्षणको व्यवस्था मिलाइदिए। त्यसपछि पूजाको संघर्षपूर्ण यात्रा सुरु भयो। बिहान ४ बजे उठेर जिमखाना जाने, ८ बजेसम्म प्रशिक्षण लिएर स्कुल दौडिने र स्कुलबाट फर्केपछि पुनः राति ८ बजेसम्म अभ्यास गर्ने उनको दैनिकी बन्यो। प्रशिक्षक श्रवण कुमार र भारतीय क्रिकेटर ईशान शर्माबाट समेत उनले सिक्ने अवसर पाइन्। लगातारको कडा मिहिनेतले नै उनलाई अलराउन्डर बनायो।

दिल्लीदेखि नेपाली टोलीसम्म

पूजालाई नेपाली टोलीमा जोड्न नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहको महŒवपूर्ण भूमिका छ। २०७९ सालमा जलेश्वरमा यू–१५ छनोटका क्रममा पूजाका ८ वर्षीय भाइ कृष्णकुमार महतोले उत्कृष्ट प्रदर्शन गरेपछि सिंहको ध्यान यो परिवारतिर खिचिएको थियो। पछि भाइले पठाएको पूजाको खेलको भिडियो हेरेपछि सिंहले उनलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाए। जिल्ला र प्रदेश हुँदै राष्ट्रिय टिममा पुगेकी पूजाले अहिले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो लोहा मनाइरहेकी छिन्।

मधेसमा क्रिकेटप्रति बढ्दो झुकाव देखेर पूजा खुसी छिन्। उनी भन्छिन्, ‘साना बालबालिकामा क्रिकेटप्रतिको माया देख्दा हर्ष लाग्छ। म चाहन्छु, देश र मधेसमा अरू धेरै पूजा महतोहरू जन्मिऊन्। अभिभावकहरूले पनि आफ्ना छोराछोरीलाई अघि बढ्न 
साथ दिनुहोस्।’

मधेसी समाजमा क्रिकेटप्रतिको यो ‘क्रेज’ र सम्मान सुखद पक्ष हो। यसलाई जीवित राख्न सरोकारवाला निकायले बेलैमा कदम चाल्नुपर्छ, ताकि घर–घरबाट सफल नारीहरू जन्मिऊन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.