‘तिमी अहिले ध्यानको मार्ग गरी बादल काटी आयौ र भेट्यौ आफ्नै भित्रको मलाई, म तिमीभित्रै छु सधैं चन्द्रमा जस्तै– तिम्रा आसत्तिाmका बादलहरूले ढाकिएको।’
म विपश्यनाको चौथो दिनको ध्यानमा थिएँ।
आँखाको ढकनी बन्द गरेपछि विचारतरंग र पूर्वस्मृतिहरूको साम्राज्य झन् विशाल थियो। मन कथा सुन्थ्यो, स्मृतिका विस्मृत कोठाहरूभित्र लैजान्थ्यो– नाटक देखाउँथ्यो। बाल्यकालदेखि यस प्रौढावस्थासम्मका असल, खराब, सुकिला र अँध्यारा विचित्र घटनाहरूका अनगिन्ती अध्यायसँग पुन : पटकपटक साक्षात्कार गराउँथ्यो।
यो कथा नभएर मैले लगातार आँखा चिम्लेर हेरेको नाटक पो थियो कि ! तर नाटकमा पनि मुख्य ध्यान कथामै हुने हुनाले र एकले अर्कालाई सुनाउँदा नाटक नसुनाएर कथा सुनाउने हुनाले अहिले यो कथाजस्तो बन्न पुग्यो। अत : यहाँ मबाटै निसृत नायकले ‘म’ पात्रको रूपमा प्रस्तुत भएर नाटकको कथा भनिरहेको छ भन्ने बुझ्दा पनि भयो।
‘हामी सँगसँगै रही सुरक्षित बनौं, सँगै खाऊँ, सँगै पराक्रम जुटाऔं, हाम्रो अध्ययन तेजस्वी होस्, एकअर्काप्रति द्वेष नगरौं, शान्ति कायम होस् भनी बा बिहानै पाठ गर्नुहुन्थ्यो। दौरासुरुवालमाथि स्वेटर लगाएको, कालो फ्रेमको चस्मा, तीखो मिलेको नाक, ओजश्वी अनुहार, केही खल्बलिएका दाँत, बढेका दाह्रीजुँगा, पातलो शरीर भएको, अगाडि पुस्तकको थुप्रो लिएर बसेको मानिसलाई आमाले चिनाइदिएपछि हामीले सुरुदेखि नै प्यारो गरी ‘बा’ भनेका थियौं। त्यही मानवाकृति पर्दामा दखियो।
आँपको रूख थियो अगाडि। त्यहाँ बसेका चरामध्ये काग कराउँथ्यो सबभन्दा पहिले। आमा गोडा धोएर अम्खोरा पिँढीमा राखी सिन्को उठाएर त्यसलाई पञ्जाले नाप्नुहुन्थ्यो र आफैंसँग झैं भन्नुहुन्थ्यो, ‘नराम्रो भनेको छैन यो कागले।’
पिताजीलाई छोरो वेदान्त र उपनिषद्हरू पढोस्, आफ्नो घर नै गुरुकुल बनोस् भन्ने थियो। उहाँ भन्नुहुन्थ्यो, ‘सुन्, घटाकाश के हो, महाकाश के हो, मन के हो, ब्रह्म के हो, अशान्ति के हो, धारणा, ध्यान, र समाधि के हो।’ तर म फुत्त छलेर निस्कन्थें। आमालाई पनि आफ्नो काख छोडेर नानीहरू कतै नजाऊन् भन्ने थियो। तर म मनमनै आफ्नी माउको काख छोडेर सहरतिर गई अंग्रेजी पढ्न हतारिइरहेको थिएँ। तर हाल बर्खा र झन्डै शरदसम्मै गाईबस्तु फुकाएर वनतिर लाग्नु मेरो दैनिकी थियो। बर्खामा बेला–कुबेला दरङ–रङ पानी परिरहन्थ्यो, छाताका निम्ति पोथ्रा रूखहरू थिए।
ठूलो पर्दामा दृश्य देखियो र म पात्रले तदनुरूप कथा अगाडि भन्यो : ‘मलाई लाग्थ्यो– गोरु हेर्दाहेर्दै म गोरु हुँदै छु, गोबरको गन्ध आउँछ मेरो शरीरबाट।’ मामा भन्नुहुन्थ्यो, ‘हाम्रो गणेश हो भाञ्जा बाबु त।’ हो पनि, गोबरगणेश भएको छु म। बाहिर संसार अवश्य पनि द्रुत गतिले दौडिरहेको छ, लाहुरेहरू भन्थे– नयाँनयाँ आविष्कारहरू भइरहेका छन्। त्यस्तै आविष्कारको बाटो भएर मान्छेले चन्द्रमा भन्ने देउताको थाप्लोमा टेकेको कुरा त म पनि रेडियो सुनेर बुझ्थें। ठुल्ठूला सडक, स्कुल र कलेजहरू बनेका छन्। तर कहाँ ? सबै हाम्रो ठाउँभन्दा टाढा– धेरै टाढा।
अनि म उफ्रें बुरुक्क, बाटो लागें आँखाभरि ज्याउन्न थोकका सपना बोकेर। हो, मेरो जागिर हुनेछ, पैसा हुनेछन् र मेरो आफ्नै घर पनि हुन सक्छ कुनै दिन सहरमा। खोलाहरू, गल्छीहरू, अपरिचित मान्छेहरू, हावाको बेग्लै गन्ध, होटलका बासहरू, पोल्टामा आमाले बाँधिदिएको अलिकति खर्च र धेरै पढेर सुकिलो सहरिया जागिरे बन्ने योजना बोकेर कमजोर कोमल र झिना कोमल गोडामा उभिँदै विस्तार विस्तार जिल्ला, अञ्चलहरू काट्तै देशको पर्खाल बाहिर उभिएँ म।
जुन जमिनमा म उभिन्थें त्यो एकदम पराइ र रुखो लाग्थ्यो, बाटो अर्कै, पानीको गन्ध ओखती हालेको, बोली अर्कै, भाषा अर्कै, चालचलन अर्कै, आकाश अर्कै लाग्थ्यो। पढ्ने विषय त्यहाँ कौमुदी थिएन, अमरकोष, गीता, उपनिषद् वा भागवत थिएनन्, अर्कै थिए– अंग्रेजीको पाताल, गणितका सूत्रहरू, राजनीतिका सिद्धान्त र कूटनीतिका चालहरू, अर्थशास्त्रका डायग्रामहरू र एकदम दुब्लो भई उपस्थितिमात्र जनाउने, सानो मसिनो आवाजमा बोल्ने संस्कृतका थोरै श्लोकहरू पनि।
अत्यास त लाग्थ्यो घरगाउँ सम्झेर तर भित्रभित्रै म सन्तुष्ट पनि थिएँ– पढ्दै अघि बढिरहेको थिएँ आधुनिक शिक्षा। मैले आधुनिकताको प्रतिनिधित्व गर्ने पहिरन पनि पक्डिँदै थिएँ– ‘नयाँ फेसनका कपडाहरू, अंग्रेजी डाइलगहरू, कालो चस्मा।’ कालो चस्मा लगाए पनि त्यहाँ देखाइएको दृश्यमा म पात्र दुब्लो देखिन्थ्यो र उसले लगाएका छालाका जुत्ताहरू सस्तो दामका र पुरानो भइसकेका देखिन्थे।
‘पैसा सकिन्थ्यो परदेशमा। मनी अर्डर के थियो थाहा छैन, भयानक अर्थविहीनतामा सरसापटी र ऋण थापेर जुटाएको पैसा कसरी छोरासम्म पुर्याउने बालाई त केही थाहा थिएन। ठुल्दाइ गर्नुहुन्थ्यो यी सबै काम। सम्झिइन्छन्, अटेसमटेस आइरहन्छन् पूर्वस्मृतिहरू आँखामा। ‘कसरी बोक्छस् ठूला यो घरको सबै भार ?’, बारीबाट दुईवटा घिरौंला र अलिकति बोडी बोकेर आँगनमा उपस्थित भएकी आमाले भन्नुभएको थियो।
रातो भुइँको ताराबुट्टे चोलो र रातै साडी लगाएकी थिइन् आमा भएर पर्दामा आएकी तिनले। नाकमा बुलाँकी, कानमा माडवरी र घाँटीमा पोते लगाएकी, पातलो शरीर, सुन्दर तर बिरामी अनुहारकी मायालु महिला देखिन्थिन्।

‘सुरुमै जन्माउनुभो त, जेठो भएँ, यो जेठो पद थामिखानुपर्छ भनेर मेरा काँधहरूले जानिसके, तपाईंका आफ्ना काँधहरू लत्रेका छन्, तिनका हड्डीहरू यतै थपिदिनुभयो कि !’ जेठा छोराले हाँसेका भएर भन्नुभयो, ‘बिस्तारै खेल्छु आमा यो जिन्दगी, दुक्ख खेल्छु, सुक्ख खेल्छु, विस्तारै खेल्दै खेल्दै जान्छु माथिसम्मै’, ठुल्दाइ दार्शनिकजस्तो आकाशतिर फर्केको देखिनुहुन्थ्यो। कुर्ता सुर्बाल लगाएका, श्याम वर्णका, फुर्तिलो शरीर र तेजिला इमानदार आँखा भएका जेठो छोरा बनेकालाई हेरेर आमा भएकीले भनिन्, ‘काम पो तँ मात्र गर्छस् तर तेरा कामहरू देखेर थकाइ त मलाई पनि लाग्छ नि, एउटै मुटु बाँडिदिएको त हो भगवान्ले दुईतिर।’ मजेत्रोको छेउले आँखा पुछेर विस्तारै भान्सातिर लाग्दै फेरि भनिन्, ‘झट्ट नुहा त, एक गाँस खाएर निस्कलास्।’
‘यसलाई नाटक होइन रूपक भन्नुपर्छ’, लगभग ५० जना दर्शकको बीचबाट कलेजको प्राध्यापकले छेउको ठिटासँग भन्यो। वास्तवमा यसको साहित्य वा कलाले होइन, विधानिर्धारणको समस्याले उसको मगज खाइरहेको थियो।
‘कथा नै भन्दा पनि के भयो र, नाटक, निबन्ध, रूपक, काव्य, गीत, उपन्यास जताततै सर्वव्यापी छ कथा’, रिमिक्स र्याप गाउने त्यस ठिटाले प्रोफेसरभन्दा दुई पाइला अगाडि उभिएर भन्यो।
‘ल ठीक छ, कथा नै हो रे, यो सारा जिन्दगीको पूरै कथा कसरी एउटै कथाभित्र अटाउँछ ? बरु उपन्यास भन्नु’, प्रोफेसर छटपट छटपट गर्न थाल्यो।
‘कति पो बाँच्नुहुन्छ तपाईं ? तपाईंको पालामा ७० वर्ष लगाएर गर्ने काम अहिले इन्टरनेटले २४ घण्टाभित्र गर्न सक्छ भन्ने देख्नुभएको छ नि ? अनि ? जाबो एउटा आँखा झिमिक्क गर्दा सकिने पानीको फोका नामको जिन्दगी एउटा सग्लो कथामा किन अट्तैन ? आइन्स्टाइनको सापेक्षतावाद पढ्नुभयो– बुझ्नुभयो भने यस लोकको सग्लो जीवनलाई कथालोकको २० मिनेट बनाउन मद्दत पुग्छ’, उही रिमिक्स र्यापरले भन्यो।
घण्टी बज्यो म मनको कोलाहलबाट बाहिर निस्कें, आँखा खोलें। अहिले बत्ती बालिएको उज्यालोमुनि सयौं मानिस आँखा बन्द गर्दा ध्यान जस्तो देखिएको तर मानसिक कोलाहलबाट उठ्ने तरखर गरिरहेका थिए। मलाई लाग्यो– यी सबै मानिस विचारको उस्तै भीडबाट निस्के होलान्, यी सबैका कथाहरू कस्ता कस्ता होलान् हँ ? बाहिर मौनता व्याप्त थियो, सिमसिम पानी परिरहेको चिसो थियो, हामी हलुका सन्ध्या खाजापछि पुन : ध्यानमा बस्यौं।
‘म’ पात्र आइपुग्यो।
‘हो, जसरी होस्, पढ्दै अघि बढें म– आधुनिक शिक्षा– हाइस्कुल, इन्टरमिडिएट, बीए, एमए। जीवनलाई यथार्थ भनी तर नाटक बोलेर, नाटक खेलेर नाटक हेरेर रमाइरहें। यस्तै गरी चिरप्रतीक्षित राम्रो जागिर खाएँ, बिहे गरें, भुराहरू बोक्यौं लोग्नेस्वास्नी भई, पढायौं र हुर्कायौं। जागिरबाट निवृत्त पनि भएँ। भुराहरू भुर्र उड्ने भए र परदेसिए।
परदेश पठाउने बेला तिनकी आमाले देवी देउता भाकिन्, पाठपूजा गरिन् भिसा दिलाएरै छाडिन्– त्यो ढुंगाको देउता पगाल्नु कम्ती गाह्रो कुरा थिएन। अब नानीहरूकी आमा पनि बूढी भइन् र म पनि बूढो भएँ। मान्छेका सबभन्दा प्रिय मान्छे को हुन्छन् ? या त बाबुआमा हुन्छन् या छोराछोरी या दुवैथरी। तर न त म बाबुआमासँग छु न छोराछोरीसँग।
सबै गरेर पनि मन अशान्त थियो। चाहेकै गरेर पनि मन अशान्त किन हुन्छ ? बा भन्नुहुन्थ्यो, ‘सानोतिनो काम यतै खोज, गाउँमा बस, खेती गर, आत्मचिन्तन गर, गीता पढ, शान्ति मिल्छ’, अब आएर ठीकै भन्नुहुन्थ्यो बा जस्तो पनि लाग्न थाल्यो। बाआमाको सम्झना भयो तर उहाँहरू स्वर्गमा, म मत्र्यलोकमा र नानीहरू पाताल लोकमा गरी तीनतिर भएको धेरै भयो। तैपनि बाआमाको घर त छ, भन्ने लागेर गाउँ लागें।
‘हामी जन्मे हुर्केको दुरुस्त आमा जस्तो– आमाको घरमा ताला लागेको थियो, जस्ताको छाना थियो, भित्तामा लिपिएको माटो पक्लक्क पक्लक्क उप्केर ढुंगाहरू देखिएका थिए, बा हुनुहुन्थेन, आमा हुनुहुन्थेन, मात्र त्यो घर वाल्मीकि ऋषि झैं धमिरा बोकेर नि : शब्द बसेको थियो। बाले पाठ गर्ने र आमाले तर्कारी केलाउने पिँढीमा एकछिन एक्लै बसिरहें। कोही थिएन, वरपर कोही थिएन। बिल्कुल टुहुरो भएको रहेछु म।
अर्को घरमा ठुल्दाइ बाजस्तै देखिनुभयो– बा सम्झेर ढोगें। बाकै पुरानो पुस्तक गीताको उसै गरी पाठ गरिरहनुभएको थियो। पुस्तक छोएँ बिस्तारै। तिनमा बाका औंलाहरूको स्पर्श थियो। छातीभित्र एउटा गाँठो उठ्यो र म झन् अशान्त भएर उठें। पक्डेका दृश्यहरू बिस्तारै पुछिँदै छन् जस्तो लाग्यो– धमिलो – अझै धमिलो।
अकस्मात् दृश्य लुप्त भयो, केही समय शून्यतामा बित्यो तर कति समय ? थाहा भएन। पर्दा हट्यो, नाटक हट्यो मन कतै छुट्यो, विचारहरू तरंगगहरू सबै पछाडि छुटे। तर नयाँ ढोका उघ्र्यो र एउटा शीतल उज्यालो देखा पर्यो चन्द्रमा जस्तो।
मैले सोधें, ‘तिमी को हौ ?’
त्यस उज्यालोले भन्यो, ‘म परमानन्द हुँ।’
‘कहाँबाट आयौ ?’
‘तिमी अहिले ध्यानको मार्ग गरी बादल काटी आयौ र भेट्यौ आफ्नै भित्रको मलाई, म तिमीभित्रै छु सधैं चन्द्रमा जस्तै– तिम्रा आशक्तिका दलहरूले ढाकिएको।’
प्रतिक्रिया दिनुहोस !