मधेसको समाज, मधेसकै संस्कृति

समीक्षा

मधेसको समाज, मधेसकै संस्कृति

पुस्तकमा आत्मपरक र वस्तुपरक दुवै खालको मिश्रित शैली छ। जसमा मधेसको तत्कालीन परिवेश, परिस्थिति र प्रतिबिम्ब ज्वलन्त रूपमा आएको छ।

संस्मरणले तथ्यभन्दा लेखकको आत्मा बढी प्रकट गर्दछ। 
– लियो टोल्सटोय 

प्रसिद्ध रसियन उपन्यासकार टोल्सटोयको संस्मरणसम्बन्धी यो भनाइले के पुष्टि गर्छ भने संस्मरण लेखकको आत्माभिव्यक्ति हो। त्यहाँ तथ्य जति बोल्छ, त्योभन्दा बढी आत्मा बोल्छ। संस्मरण वर्तमानको भूत र भूतको वर्तमान हो, दस्तावेजमा अंकित भएपछि त्यो मीठो भविष्य पनि बन्न सक्छ, भावी पुस्तका लागि, जसबाट भविष्यले धेरै सिक्न सक्छ। संस्मरण लेखकको आफ्नो जीवनलाई भन्ने कला हो। जिन्दगीका भोगाइहरू हरेक व्यक्तिका निजी हुन्छन्। विगतका तिनै निजी भोगाइलाई वर्तमानमा उतार्नु नै संस्मरण हो। त्यस्तैयस्तै मूल्य बोकेको कृति हो राजेश खनालको– घुरको धुवाँ संस्मरण संग्रह। जहाँ पाठकले आफूलाई मधेसमा रामलीला हेर्दै गरेको, जयनगरतिर ट्रेनमा कुद्दै गरेको, लिंगे पिङहरूमा मच्चिँदै गरेको, घुरको धुवाँमा आँखा मिच्दै गरेको पाउँछ। 

खनालले घुरको धुवाँमा आफ्ना बाल्यकालका संस्मरणहरूलाई उतारेका छन्। अधिकांश प्रसंग कलासँग जोडिएका छन्, जो लेखकका बाल्यकालदेखिका रुचि देखिन्छन्। चाहे तुँवालोेले ढाकेको बस्तीको निर्देशनमा संलग्न भएको प्रसंग होस् वा सुकेको रोटी नाटकको प्रदर्शन होस्, रामलीला, कृष्णलीलाका प्रसंग हुन् वा बाईहरूका नाचमा झुमेका प्रसंग हुन्, शोलेको सानको कुरा होस् वा मधेसका टाँकिजदेखि जयनगरसम्मका हलमा चल्ने फिल्मका प्रसंग किन नहुन् खनालको बाल्यकालले फिल्मी दुनियाँको आधार खडा गर्छ, उनको भविष्यको मार्गचित्र तयार गर्छ। चलचित्र कलाको लिगमा खनालको पाइला चाल्छ। जुनसुकै प्रसंगका संस्मरण लेखिए पनि खनाल थाहै नपाई कतै न कतै कला, संगीत, प्रहसन, लीला र नाटकमा नै पुगिहाल्छन्। उनको तन, मन, विचार फिल्मी दुनियाँतिरै कुद्छ, पटकपटक।

आज पनि मधेसलाई त्यत्तिकै माया गर्ने लेखक ‘त्यसबेला भलुवाही (मामाघर) जान खुब झगडा गर्थें’ (पृ. ७४) भन्ने प्रसंग कोट्याएर भलुवाही प्रेम दर्शाउँछन्। भलुवाही मामाघर भएकाले मात्र होइन, भलुवाहीमा हुने नौटंकी, नाच, पिङ र साथीभाइको संगतले पनि बालसुलभ मनलाई तानेको हुँदो हो। तर विडम्बना ! आज सारा मधेसका देहात झैं ‘भलुवाइ पनि सुनसान छ’ (पृ. ७८)। विकासको नाममा अन्धाधुन्ध मधेसको जीवनशैली परिवर्तन भएकोमा संस्मरणमा पटकपटक लेखकको मन कुँडिएको छ। 

घुरको धुवाँ संस्मरणमा लेखकका विशेषत : पाँच दशकअगाडिका स्मरण छन्। जुन बाल्यकालका अनुभव हुन्। घुरको धुवाँ मधेसप्रतिको प्रेम हो। आजको पुस्ता गाउँ छोडेर सहर पसेपछि गाउँलाई बिर्सन्छ, विदेश पुगे देश नै बिर्सन्छ। तर खनाल राजधानी पसेको ४० वर्षपछि पनि भनिरहेका छन्– ‘यो मन त मेरो मधेसी हो’ (मैले तापेको घुर, पृ. १४)। ‘... म काठमाडौंको कुनै कुनामा रहे पनि भलुवाही वा जलेश्वरमै हुन्छु (विस्मृतिको गर्तमा छोपिएको स्मृति, पृ. ५१) भन्ने लेखकले भलुवाहीमा मामा डा. अञ्जनीकुमार शर्मासहितको चिकित्सक टोलीमा सामेल भएर ‘जननी जन्मभुमिश्च स्वर्गादपि गरियसी’ (जन्मभूमिको अन्तिम शिविर, पृ. ९८) को कर्तव्यबोध गरेका छन्। धरतीपुत्रलाई माटोको माया कति प्रिय हुन्छ ‘जन्मभूमिको अन्तिम शिविर’ शीर्षकको संस्मरणमा देखिन्छ। 

घुरको धुवाँमा लेखक मधेसको घुर बाल्ने र ताप्ने परम्परासँग नोस्टाल्जिक भएका छन्। ‘सम्झिएँ घुरको आगोले दिएको गहिरो र भित्रैसम्मको न्यानोपन’ (घुरको धुवाँ, पृ. ५५) भन्दै आज घुर पनि इतिहास बन्दै गएको यथार्थ पोख्छन्। लेखकको विगतप्रतिको प्रेम र वर्तमानप्रति आलोचनात्मक दृष्टि घुरको धुवाँमा जताततै देख्न सकिन्छ। आज काठमाडौंमा पाँच दशक बिताउँदा पनि उनको मधेस मोह भंग भएको छैन। तन काठमाडौं र मन मधेसमा छ।

बालसुलभ मस्तिष्कमा मामाघरका सम्झना ‘सुन्दर मामाका सुन्दर स्मृति’ शीर्षकको स्मरणमा पाउन सकिन्छ। ‘न्यारोगेज नाष्टाल्जिया’मा न्यारोगेज ट्रेनमा बिना टिकट यात्रा गर्दाका रमाइला प्रसंग छन्। मधेसमा त्यसबेला देखिने भारतीय पत्रिका सरिता, मुक्ता, मनोहर कहानियाँ, सत्यकथा, नवभारत टाइम्स, हिन्दुस्तान, धर्मयुग (पृ. ३९) को सन्दर्भले मधेसमा भारतीय प्रभावको झल्को दिन्छ। त्यतिमात्र होइन, नेपाली नाटक नपाएर हिन्दीको नाटक नेपालीमा उल्था गरेर ‘सुकेको रोटी’ नाटक प्रदर्शन गरेको प्रसंगले काठमाडौंको साहित्यिक प्रभाव मधेसमा त्यसबेला पनि कमै रहेको देखिन्छ। 
लेखक त्यतिबेला मधेसमा चल्ने मिनाबाई, आसाबाई, रेश्माबाईका नाच र कम्बालीमा खुबै झुमेका (बाइजी नाचको झड्का ९४) देखिन्छन्। एक नाटकको प्रदर्शन चल्दै गर्दा स्टेजमा एक पात्रले मर्नुपर्ने अभिनय गर्नुपर्नेमा ‘...पहिले तलब दू। तब मरबै’ (पृ. ३०) को प्रसंग रोचक लाग्छ। तर यसमा रोचकतामात्र छैन, गहिराइमा गएर सोच्ने हो भने आज पनि परिश्रम गरेर पारिश्रमिक नपाउनेहरूको पीडा पनि बोलेको छ। 

घुरको धुवाँमा प्रत्येक पानामा मधेस छचल्किन्छ। बढी प्रसंग जलेश्वर, भलुवाही, जनकपुरका भए पनि यसले सिंगो मधेस बोल्छ। घुर आफैंमा मधेसको विम्बमात्र होइन, पहिचान र पर्याय पनि हो। घुर मधेसमा विपन्न वर्गको आङ तताउने सिरक हो, डस्ना हो, ज्याकेट हो, एसी हो र सारा छानो नै हो। त्यसो त मधेसको समाजमा घुर आफैंमा एउटा बृहत् चौतारो पनि हो। घुरको वरिपरि मान्छे जम्मा हुने, पञ्चायत जस्तो, केही न केही सिक्ने सिकाउने चौतारी अनि घरको वरिपरि सफाइको एक तरिका (पृ. ५९)। पनि हो। विगतमा घुरले दिएको न्यानोले गर्दा लेखकलाई धुवाँ पनि प्रिय बनेको तर मधेसका हरेकको संस्कृति र जीवनशैली बनेको त्यही घुर अब मधेसबाट पनि एकादेशको कथा हुन थालेकोमा लेखकको न्यानोलाई अलिकति चिसो बनाइदिएको छ। 

संस्मरण संग्रहमा बाल्यकालका रमाइला प्रसंगदेखि टिठलाग्दा प्रसंग पनि उत्तिकै छन्। भाडा तिर्न नसकेर रिक्सा हेर्दै लखरलखर हिँडेको, अर्थका कारण रहरहरू खुम्च्याउनु परेको, फिल्म रहरमात्र बनेकोदेखि कापीकलम, खाजामा समेत खर्च कटौती गर्नु परेका बाल्यकालको तीतो यथार्थ पनि देखिन्छ (तिर्न नसकेको त्यो पाँच रुपैयाँ, पृ. १०५)। तर ती विगतका तीता आज संसारकै सबैभन्दा प्रिय लाग्छन् यही त हो संस्मरणको विशेषता। परोर पाक्दाको त्यो बाल्यकालीन खुसी (साथी हो, आज परोर पाकेको छ, पृ. १२७) रमाइलो मात्र छैन, यसले पनि अर्थकै पक्ष खोतल्छ। गहतको दाल खानेलाई उहिले हेपिन्थ्यो, आज माग बढेको छ (पृ. १३९) भनेर कस्तुरीले आफ्नो नाभीको विणा खोज्न अन्यत्र भौतारिए झैं हामीले हाम्रो मौलिक उत्पादनलाई चिन्न नसकेको पक्षको चिरफार गर्छ। 

धेरै व्यक्तिहरू गाउँ छोडेर सहर पस्छन् र विश्वविद्यालयमा पढेर आफ्नो व्यक्तित्व विकास गर्छन् तर खनालको घुरका धुवाँ संस्मरण संग्रह पढ्दा लाग्छ– आजका चलचित्र÷कला÷साहित्यिक पत्रकार खनालको व्यक्तित्व विकासको विश्वविद्यालय चाहिँ मधेस रहेछ। अहिले उनी जे छन्, त्यो शहरका ठूला विश्वविद्यालयका उपज होइनन्, जलेश्वर, जनकपुर र सिराहाका देहातका उपज हुन्। त्यहाँ चल्ने रामलीला, कृष्णलीला, बाईहरूका नाच र नौटंकी उनका विश्वविद्यालयका कक्षा हुन्। 

संस्मरण आत्मकथाको आंशिक रूप हो, जसमा लेखकको भोगाइ, अनुभूति र अनुभव हुन्छ। घुरको धुवाँ संस्मरण संग्रहको ठूलोे हिस्सा लेखक खनालको बाल्यकालीन आत्मकथाभन्दा पनि फरक पर्दैन। घुरको धुवाँले पाँच दशक अगाडिको मधेसको इतिहास, संस्कृति, भूगोल, शिक्षा, जीवनशैली खोतलेको छ। खनालको संस्मरणमा तथ्य र अनुभूति दुवैको मिश्रण छ। मधेसको तत्कालीन समाज, संस्कृति, भूगोल र कालचेतना बोलेको छ। त्यसैले घुरको धुवाँ लेखक खनालको स्मृति र आत्माभिव्यक्तिको संगमस्थल हो।

आत्मपरक र वस्तुपरक दुवै खालको मिश्रित शैली छ। मधेसको तत्कालीन परिवेश, परिस्थिति र प्रतिबिम्ब ज्वलन्त रूपमा आएको छ। म पात्रको केन्द्रीयतामा थुप्रै पात्र तानिएका छन्। विषयगत हिसाबले विविधता भए पनि केन्द्रमा भने मधेस छ। पुस्तकमा १८ वटा संस्मरण छन्। समग्रमा, घुरको धुवाँ मधेसको आर्थिक, सामाजिक र सांस्कृतिक दस्तावेज हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.