इतिहास सधैं युद्ध, होहल्ला र तपस्याले मात्र निर्माण हुँदैन। कहिलेकाहीँ एउटा शान्त र निर्दोष घटना नै युगान्तकारी बनिदिन्छ।
कठोर तपस्याका ६ वर्ष बितिसकेका थिए। सिद्धार्थ निरञ्जना नदीमा नुहाउन जान छाडे। खानपिनको नाममा भुइँमा झरेर ओइलाएका अम्बा र सुकेर गुइँठा भएको एक टुक्रा गोबरमा निर्भर हुन थाले। शरीर पातलो छालाले बेरिएको कंकालमा परिणत भयो। केश काट्न छाडेको धेरै समय बितिसकेको थियो। सिद्धार्थले शिरमा हात राखे। पोषणहीन एक मुठी कपाल हातमा आयो।
एक दिनको कुरा हो। सिद्धार्थले मसानघाटमा ध्यान गरेर रात व्यतीत गरे। बिहान सूर्योदयअघि चिसो सिरेटो चल्न थाल्यो। चराहरू समवेत चिरबिराउन थाले। सायद उनीहरू एउटा हठी तपस्वीलाई जगाउन चाहन्थे। सिद्धार्थको शरीरमा सिरेटोले मन्द स्पर्श गर्यो।
अकस्मात के भयो भयो। भित्रबाट निस्तेज तर दृढ आवाज आयो। शान्त र शब्दहीन पुकार। ‘यो भौतिक शरीरको के गल्ती थियो ? किन आफ्नै अस्तित्वलाई अपार यातना दियौ ? आत्मपीडनबाट सत्यको उद्घाटन हुन सक्दैन सिद्धार्थ !’ सिद्धार्थले बितेका ६ वर्ष बिनासित्ति खेर गएको महसुस गरे। अकार्थमा मरुभूमिमा मरीचिकाको पछि लागेजस्तो भयो।
सूर्योदयपछि वातावरण घमाइलो भयो। न्यानो घाम पाएर शरीरले सञ्चो महसुस गर्यो। नयाँ सोचले भरिएको मन सहसा प्रफुल्ल भयो। सिद्धार्थले दिनभरि सुखद अनुभूति गरिरहे। अब अज्ञानको विशाल पहाड ढल्नेछ। आफैंमाथि निर्दयी बन्ने लामो अभ्यास सदाका लागि बन्द हुनेछ।
कुपोषित शरीरभित्र प्रसन्न मन बस्न सक्दैन। अब सिद्धार्थ आफूमाथि निष्ठुर हुने छैनन्। अब उनी कुनै शास्त्रीय आदेशको पिछलग्गु बन्ने छैनन्। जे गर्ने हो, आफ्नै अनुभवबाट गर्नेछन्। आफ्नो गुरु आफैं हुनेछन्।
त्यस्तैमा रात पर्यो। सिद्धार्थले शरीरलाई तानतुन पारेर सहज तुल्याए। आकाश खुल्ला थियो। माथि पूर्णचन्द्र हाँसिरहेका थिए। सुखद रात पत्तै नपाई बित्यो।
सिद्धार्थले बिहान सबेरै निरञ्जना नदीमा स्नान गरे। भिजेको चीवर निचोरेर हातमा लिए। उनी किनारातिर जाने प्रयत्नमा थिए। किन्तु बर्कतले साथ दिएन। आँखा अगाडि अन्धकार छायो। सिद्धार्थ पानीसम्म लत्रेको रुखको हाँगो समातेर मुस्किलले किनारामा पुगे।
‘अब उरुबेला गाउँतिर भिक्षा माग्न जानुपर्छ। अब यो पार्थिव शरीरलाई सम्यक् पोषण दिनुपर्छ।’ सिद्धार्थले मनमनै दृढ निर्णय गरे। कमजोर पाइलाहरू उरुबेलातिर अघि बढ्न थाले। केही पर पुगेपछि शरीरले जवाफ दियो। सिद्धार्थ भुइँमा लडेर अचेत भए।
उता उरुबेला गाउँ बिहानीको घाममा स्नान गर्दै थियो। वातावरण शान्त र सुरम्य। किसानहरू आआफ्नो काममा सरिक हुँदै थिए। तेह्र वर्षकी किशोरी सुजाताले स्नान गरेर चोखो पोसाक पहिरिन्। आमाले वनदेवतालाई चढाउन भनेर एक कचौरा खिर दिनुभयो। खिरको कचौरा लिएर सुजाता वनतिर लागिन्।
सुजाताको मनमा वनदेवता विराजमान थिए। देवभक्ति नै एक मात्र ध्येय बन्यो। पवित्र मनले खिर अर्पण गरेर देवतालाई खुसी पार्नु थियो। धर्मभीरु आमाको आज्ञालाई सम्मान गर्नु थियो। सुजाताका पाइला एकाग्र उद्देश्यले अघि बढिरहे। जाँदाजाँदै सुजाताका पाइला अकस्मात रोकिए। बाटाको माझमै एउटा अपरिचित तपस्वी अचेत भएर धूलोमा लडिरहेको थियो। अत्यन्तै दुब्लो, कमजोर र हाडछालामात्र बाँकी रहेको मानिस देखेर सुजाताको गला अवरुद्ध भयो। करुणासिक्त सुजाता घुँडा टेकेर बसिन्। उनले तपस्वीलाई नियालेर हेरिन्। एउटा कंकाल मुस्किलले सास फेरिरहेको थियो। पोषणको चरम अभावले मृत्युको अत्यन्त नजिक पुगेको पार्थिव शरीरमा कुनै हलचल थिएन।
सुजाताको एउटा हातमा खिरको कचौरा थियो। सहसा अर्को हात पनि कचौरातिर गयो। उनले थोरै खिर निकालेर तपस्वीको ओठमा पुर्याइन्। तपस्वीको जिब्रोले यन्त्रवत खिर लागेको ओठ चाट्यो। सुजाताको हर्षको सीमा रहेन। उनले कचौरा नै तपस्वीको ओठमा जोडिदिइन्। तपस्वीले शनै : शनै : सबै खिर पिएर समाप्त पार्‍यो। केहीबेर लामो– लामो सास फेरेपछि तपस्वी सिद्धार्थ उठेर बस्न समर्थ भए। सुजाताले सिद्धार्थको मुहारमा हेरिन्। इनार झैं गहिरा आँखामा कृतज्ञता थियो। एउटा यस्ता असफल तपस्वी, जसले सत्यको खोजीको नाममा आफ्नो शरीर नै सखाप पारेका थिए। सुजातालाई उनी को हुन् भन्ने थाहा थिएन। कुन उद्देश्यले त्यस्तो दुरूह तपस्यामा लीन भए होलान्, थाहा थिएन।
सिद्धार्थमा कुनै असाधारणता झल्किरहेको थिएन। न कुनै प्रकाश। न कुनै आभा। न कुनै चमत्कार। न त आसन्न बुद्धत्वको कुनै छनक। शरीर साह्रै नै कमजोर थियो। परन्तु सुजातालाई टुलुटुलु हेरिरहेका निर्दोष आँखामा सत्यको खोजी गरेरै छाड्ने अठोट भने कायमै थियो।
सुजाताले तपस्वीलाई खिर खुवाउनुमा कुनै निहितार्थ थिएन। कुनै उद्देश्य या प्रयोजन थिएन। त्यहाँ कुनै धर्म र दर्शनको भूमिका थिएन। जातपात या समुदायको सरोकार थिएन। भविष्यको बुद्धको प्राण बचाउँदै छु भन्ने चेतना थिएन। के गर्दैछु र किन गर्दैछु भन्ने हेक्का थिएन। त्यहाँ कुनै गणना थिएन। सुजाताले कुनै उपदेश दिइनन्। कुनै शास्त्रको रचना गरिनन्। कुनै तपस्या गरिनन्। दयालुताको कुनै अभिमान गरिनन्। बुद्धत्व हमेसा कठोर साधनाबाट मात्र प्राप्त हुने रहेनछ। कहिलेकाहीँ एक कचौरा करुणा पनि बुद्धत्व प्राप्तिमा सहायक हुँदोरहेछ। सुजाताले करुणाको आविष्कार गरेकी होइनन्। उनी त अञ्जानमै करुणालाई बुद्धको अनुभवको हिस्सा बनाउन सफल भएकी मात्र हुन्।
सुजातालाई एक कचौरा खिरले इतिहास बदलिएला भन्ने चेत थिएन। आफ्नै कारणले मानव जीवनमा मध्यममार्ग (अत्यन्त भोग र अति कठोर तपस्या दुवैबाट टाढा रहने सन्तुलित तरिका)को महत्त्व स्थापित होला भन्ने कुराको आभास पनि थिएन। त्यहाँ त केवल सहजभाव र करुणामय हार्दिकता मात्र थियो। एक साधारण मानवीय कर्म। परन्तु एक असाधारण परिणाम।
त्यो घटना पूर्वनिर्धारित नभई आकस्मिक थियो। सिद्धार्थ अत्यधिक तपस्या गरेर जीवनको सन्तुलन गुमाउन पुगेका थिए। सुजाता अनियोजित तवरले सन्तुलन बन्न पुगिन्। इतिहास सधैं युद्ध, होहल्ला र तपस्याले मात्र निर्माण हुँदैन। कहिलेकाहीँ एउटा शान्त र निर्दोष घटना नै युगान्तकारी बनिदिन्छ। सुजाताको एक कचौरा खिर केवल भोजनमात्र थिएन। त्यो त एउटा निर्णायक क्षण उत्पन्न गर्ने अनिवार्य कडी थियो।
प्रतिक्रिया दिनुहोस !