मुम्बईमा धमाका मच्चाएका लोकेश

युवा शक्ति

मुम्बईमा धमाका मच्चाएका लोकेश
सुन्नुहोस्

मुम्बईको वानखेडे मैदानमा विश्वविजेता इङल्यान्डविरुद्ध विस्फोटक ब्याटिङ गरेर चर्चामा आएका लोकेश बम आक्रामक ‘पावर हिटिङ’ र उत्कृष्ट विकेटकिपिङका कारण नेपाली क्रिकेटमा ‘बुम बुम’ उपनामले चिनिन्छन्।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका दायाँहाते ब्याट्सम्यान तथा विकेटकिपर लोकेश बमले नेपालको ऐतिहासिक टी–२० विश्वकप यात्रामा उत्कृष्ट ब्याटिङ गर्दै सबैको ध्यान तानेका छन्। मध्यक्रममा ब्याटिङ गर्ने २६ वर्षीय लोकेशले विश्वकपको मञ्चमा आक्रामक प्रदर्शन गर्दै आफूलाई अन्तर्राष्ट्रिय स्तरमा टिक्न सक्ने क्षमतावान् खेलाडीका रूपमा प्रमाणित गरिसकेका छन्।

२०८२ माघ २५ गते मुम्बईको वानखेडे क्रिकेट मैदानमा भएको खेलमा दुईपटकको विश्वविजेता इङ्ल्यान्डविरुद्ध उत्कृष्ट ब्याटिङ गर्दै उनले टिमलाई जितको नजिक पुर्‍याएका थिए। सो खेलमा मात्र २० बलमा ३९ रनको विस्फोटक इनिङ्स खेलेका लोकेशले विश्व क्रिकेट जगतमा आफ्नो बलियो पहिचान बनाएका छन्। इङ्ल्यान्डबाट १८५ रनको लक्ष्य पाएको नेपालले अन्तिम ओभरसम्म संघर्ष गर्दै १८० रन बनायो र मात्र चार रनको झिनो अन्तरले हार बेहोर्नु परेको थियो। खेल हारे पनि लोकेशको जुझारु प्रदर्शनका कारण नेपाली क्रिकेटले सबैको मन जित्न सफल भयो।

अन्तर्राष्ट्रिय क्रिकेटमा उनको अनुभव अझै सीमित भए पनि घरेलु क्रिकेटबाट खारिएका लोकेशले अवसर पाउनेबित्तिकै आफ्नो प्रभाव जमाउन सफल भएका छन्। उनले नेपालका लागि हालसम्म टी–२० अन्तर्राष्ट्रियमात्र खेलेका छन् भने एकदिवसीयमा डेब्यु गर्न बाँकी छ।

डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–२, केदारअखडामा २०५७ साउन २९ गते जन्मिएका लोकेश पढाइको सिलसिलामा कैलालीको धनगढी झरेका थिए। सानैदेखि रबरको बलले क्रिकेट खेल्न सुरु गरेका उनले धनगढी क्रिकेट एकेडेमीमा भर्ना भई प्रशिक्षक दीपेन्द्र चौधरीबाट औपचारिक प्रशिक्षण लिन थाले।

धनगढीमा स्कुले जीवन बिताउँदै क्रिकेटलाई अघि बढाएका लोकेशपछि काठमाडौंको नेपाल क्रिकेट स्कुलमा आबद्ध भए। हाल उनले स्नातक तहको अध्ययन पूरा गरिसकेका छन्। काठमाडौंमा प्रशिक्षणका क्रममा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अभ्यास गर्ने मौका पाएका उनी सुरुमा त्रिभुवन आर्मी क्लबमा आबद्ध भए र त्यसपछि एपीएफको विभागीय टोलीमा जोडिन पुगे।

२०७८ को टी–२० प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गर्दै आफ्नो टोलीलाई उपाधि दिलाउन सफल भएपछि उनको राष्ट्रिय टोलीमा प्रवेश गर्ने ढोका खुलेको थियो। घरेलु क्रिकेटमा निरन्तर राम्रो प्रदर्शन गर्दै आएका लोकेश नेपाल प्रिमियर लिगका संस्करणहरूमा विराटनगर किङ्सबाट खेल्दै चर्चामा आएका हुन्।

नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा हालसम्म १९ खेल खेलेका लोकेशले १६ इनिङ्समा १९९ रन जोडेका छन्। छोटो समय मैदानमा बिताए पनि उनको ब्याटिङ शैली निकै आक्रामक देखिन्छ। अन्तर्राष्ट्रिय टी–२० मा उनको स्ट्राइक रेट १५३ भन्दा माथि छ भने सर्वाधिक व्यक्तिगत स्कोर ३९ रन रहेको छ। फिल्डिङतर्फ पनि उनले भरोसायोग्य प्रदर्शन गर्दै ९ वटा क्याच समातेका छन्।

लोकेशले १२ फेब्रुअरी २०२२ मा संयुक्त अरब इमिरेट्सविरुद्ध टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए। पहिलो खेलमै उनले २१ बलमा दुई छक्का र दुई चौकासहित ३३ रन बनाउँदै सानदार सुरुवात गरेका थिए। समग्र टी–२० करियरमा उनले २४ खेलको २१ इनिङ्समा २२.५२ को औसतले ३८३ रन बनाएका छन्, जसमा उनको उच्च स्कोर १०६ रन रहेको छ।

आक्रामक ब्याटिङका कारण नेपाली क्रिकेट प्रेमीमाझ उनी ‘बुम बुम बम’ को उपनामले समेत चिनिन्छन्। टी–२० क्रिकेटका लागि उपयुक्त मानिने उनको यो ‘पावर हिटिङ’ क्षमता नेपाली क्रिकेटका लागि आगामी दिनमा ठूलो सम्पत्ति साबित हुने देखिन्छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.