नेपालले भन्यो : लिम्पियाधुरा, लिपुलेक र कालापानी अभिन्न भूभाग हो, भारत र चीनलाई जानकारी गराइएको छ
काठमाडौं : नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको तथ्यमा सरकार पूर्णतः स्पष्ट र अडिग रहेको बताएको छ। आइतबार जारी विज्ञप्तिमा मन्त्रालयले उक्त विषयमा भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराइएको स्पष्ट पारेको छ।
नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा विभिन्न सञ्चारमाध्यमबाट उठेका प्रश्न र चासोप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ। विज्ञप्तिमा १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग भएको तथ्यमा नेपाल सरकार स्पष्ट र अडिग रहेको दोहोर्याइएको छ।सोही सन्दर्भमा नेपाल सरकारले लिपुलेक हुँदै सञ्चालन गरिने भनिएको कैलाश मानसरोवर यात्राबारे आफ्नो अडान भारत र चीन दुवै देशलाई कूटनीतिक माध्यमबाट पुनः जानकारी गराएको जनाएको छ। ‘१८१६ को सुगौली सन्धिबाट नै महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको तथ्यमा नेपाल सरकार पूर्णतः स्पष्ट र अडिग छ।’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरोकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराएको छ। यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण वा विस्तार, सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको छ।’
लिपुलेक क्षेत्र नेपाली भू-भाग भएको विषयमा मित्रराष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकिएको मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयले नेपाल र भारतबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै ऐतिहासिक सन्धि, तथ्य, नक्सा र प्रमाणका आधारमा सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
यस्तो छ पत्र

प्रतिक्रिया दिनुहोस !