हिमालबाट सिधै आउने सिरेटोले
पुस माघको मध्यरातमा
गरिबीको दोलाइँ छिचोलेर
लुगलुगी कमाएको भोलिपल्ट बिहान
मैले अगिल्तिरका हिमालमा सौन्दर्य देखिनँ
तारेमाले गोरुको पुच्छर निमोठ्दै
हलोको अनौ समातेर
मुटु फुट्ला फुट्ला जस्तो हुँदै
चार हलको बाँझो बारी फुटाउँदा
मैले अगिल्तिरका हिमालमा सौन्दर्य देखिनँ
घाँसको आफूभन्दा अग्लो भारी
डँडाल्नोमा बोकेर
ठसठसी कन्दै भैंसीगोठ गइरहेको बेला
मैले अगिल्तिरका हिमालमा सौन्दर्य देखिनँ
लोकतान्त्रिक सरकारको म अक्कडो जनता
हिमालका अनारदाने लस्करबाट
मैले कुनै लाभग्रहण गर्न सकिनँ
बरु मैले मेरो देशभन्दा धेरै टाढाबाट
सुर्जेनारायणले दिएको ताप र ज्योति पाएँ
रातबिरात घर र गोठ ओहोरदोहोर गर्न
चन्द्रनारायणले दिएको जून पाएँ
आक्रामक आँखाले नहेर्नु सरकार
मसँग नरिसाउनु उच्च हिमाल
पटुकी कसेको मेरो भोको पेटले
हिमाली सौन्दर्यको वर्र्णविन्यास बुझेन
खैरो पर्यटक
आँखामा सौन्दर्यको भोक बोकेर
हिमालतिर दूरबिन सोझ्याइरहेको हुन्छ
म गहुँगोरो जनता
भुँडीमा दालभातको भोक बोकेर
सेतो पर्यटक हिँड्ने बाटोमा
‘म झुक्दै नझुक्ने नेपालको छोरो’
गुनगुनाउँदै
राष्ट्रवादी हात पसारिरहेको हुन्छु।
प्रतिक्रिया दिनुहोस !