उतारचढावमै सेयर बजार
काठमाडौं : वैशाखको चौथो सातामा सेयर बजार उतारचढावमै रह्यो। यो साता सेयर कारोबार ५ दिनै भयो। २ दिन नेपाल स्टक एक्स्चेन्ज (नेप्से) घट्यो भने ३ दिन बढ्यो। बागमती प्रदेशमा बिहीबार भाषा दिवसको बिदा परेको हुनाले सेयर कारोबार अन्य दिनभन्दा निकै कम थियो।
अघिल्लो साता कारोबारको अन्तिम दिन बिहीबार २७३८.७२ अंकमा बन्द भएको नेप्से यो साता सेयर कारोबारको पहिलो दिन सोमबार उच्च अंकले घट्यो।यस दिन नेप्से ३४.६३ अंकले घटेर २७०४.०८ विन्दुमा झर्यो।
अर्को दिन मंगलबार नेप्से ८.७८ अंकले बढ्यो भने बुधबार १.६४ अंकले घट्यो।यो साताको बिहीबार र शुक्रबार लगातार बढ्यो।बिहीबार ६.९४ अंक र अन्तिम दिन शुक्रबार २७.४९ अंकले बढेर नेप्से २७४५.६५ विन्दुमा उक्लियो।
सातामा तीन दिनमा ४३.२७ अंकले बढ्यो भने दुई दिनमा ३६.९४ अंकले घटेपछि नेप्सेमा ६.९४ अंकले बढोत्तरी भयो।अघिल्लो साता भने नेप्से ४९.९१ अंकले गिरावट भएको थियो।साताको मंगलबार न्यून विन्दु २६८४.६२ र बिहीबार उच्च विन्दु २७४५.७५ अंकसम्म नेप्से बढेर कारोबार बन्द भयो।
यो साता बिहीबार सबैभन्दा घटी ३ सय ३४ वटाको कारोबार भएको थियो।सोमबार सबैभन्दा बढी ३ सय ४१ स्क्रिप्टको कारोबार भयो।यो साता सबैभन्दा कम बिहीबार २ अर्ब ९३ करोड १९ लाख र सबैभन्दा बढी सोमबार ४ अर्ब २६ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भयो।सातामा ५ दिन कारोबार हुँदा जम्मा १७ अर्ब १२ करोड ७ लाख रुपैयाँले कारोबार भयो।वालेन्द्र सरकार (चैत १३ गते)भन्दा पहिले चैत ९ गते एकै दिन २३ अर्ब ५९ करोड ७७ लाख रुपैयाँको कारोबार भएको थियो।त्यसपछि सेयर बजारमा कारोबार घट्दै गएको हो।यस साता औसतमा दैनिक ३ अर्ब ४२ करोड ४१ लाख रुपैयाँबराबरको सेयर किनबेच भयो।अघिल्लो साता औसतमा ५ अर्ब २९ करोड ४९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो।यसले सातामा औसत सेयर कारोबार लगभग ३५ प्रतिशतले घटेको देखाउँछ।अघिल्लो साता पनि औसत सेयर कारोबार करिब १० प्रतिशलले घटेको थियो।
नेप्सेको कुल बजार पुँजीकरण बिहीबार ४६ खर्ब ८२ अर्ब ८६ करोड रुपयाँ छ।गत साताको बजार पुँजीकरण ४६ खर्ब ७१ अर्ब २ करोड रुपयाँ थियो।सातामा नेप्से ६.९४ अंकले बढ्दा कुल बजार पुँजीकरण ११ अर्ब ८४ करोड रुपयाँले बढ्यो।अघिल्लो साता भने कुल बजार पुँजीकरण ८५ अर्ब २५ करोड रुपयाँले घटेको थियो।
- यो साता ५ दिन सेयर कारोबार भयो । २ दिन नेप्से परिसूचक घट्यो भने ३ दिन बढ्यो ।
- औसतमा दैनिक ३ अर्ब ४२ करोड ४१ लाखबराबरको सेयर किनबेच भयो । अघिल्लो साता औसतमा ५ अर्ब २९ करोड ४९ लाखको सेयर खरिदबिक्री भएको थियो ।
- सातामा नेप्से ६.९४ अंकले बढ्दा कूल सेयर बजार पुँजीकरण ११ अर्ब ८४ करोडले बढ्यो ।
यो साता एक दिन मात्र एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।सोमबार फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो भने बुधबार १३.७४ अंकले बढेर खरिदबिक्री भयो।सेयर बजारमा सूचीकृत १३ उपसमूहमध्ये यो साता डेभलपमेन्ट बंक, म्यानुफ्याचरिङ एन्ड प्रोसेसिङ र टे«डिङ घटे भने १० उपसमूह बढे।यो साता सेन्सेटिभ इन्डेक्स २.९५ अंक, फ्लोट इन्डेक्स ०.५८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८३ अंकले बढे।अघिल्लो साता भने सेन्सेटिभ इन्डेक्स ३.६४ अंक, फ्लोट इन्डेक्स २.८१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३ अंकले घटेका थिए।
धितोपत्र बोर्डको अध्यक्षमा ४७ को आवेदन
नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न ४७ जनाले आवेदन दिएका छन्।बोर्डको अध्यक्षका लागि आवेदन दिने अन्तिम दिन वैशाख २१ सम्म थियो।मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा अर्थसचिव घनश्याम उपाध्याय र नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दहाल सदस्य रहेको सिफारिस समिति बनाएको थियो। बोर्डको अध्यक्ष पदमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गोपाल भट्टले पनि आवेदन दिएपछि डा. गुणाकर भट्टले राजीनामा दिएका छन्।दाजु नै उम्मेदवार भएपछि डा.भट्टले राजीनामा दिएका हुन्।
तीनवटा कोषको बढ्यो लगानीका क्षेत्र
सरकारले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले लगानी गर्ने क्षेत्र बढाएको छ।सरकारले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमार्फत तीन संस्थाले लगानी गर्ने क्षेत्र बढाइदिएको हो। नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषले अब म्युचुअल फन्ड, प्राइभेट इक्विटी फन्ड वा भेन्चर क्यापिटल फन्डमा लगानी गर्न पाउने भएका छन् ।
प्रतिक्रिया दिनुहोस !