आइसीसी लिग-२ : अमेरिका र स्कटल्यान्डविरुद्ध सिनियर टोलीको चुनौती
काठमाडौं : नेपाली क्रिकेट टोलीले घरेलु मैदानमा लगातार दोस्रो आइसीसी विश्वकप लिग २ को शृंखला खेल्दैछ। नेपालका लागि अघिल्लो शृंखला नतिजाको हिसाबमा सुखद् रह्यो। ४ खेलमा ३ खेल जित्दै नेपालले घरेलु मैदानमा सुखद् सुरुवात गर्यो।
नेपालले पहिलो, दोस्रो र चौथो खेलमा जित दर्ता गर्दै महत्वपूर्ण ६ अंक आफ्नो पक्षमा पार्यो। नेपालले ५ महिनापछि एकदिवसीय क्रिकेट खेलिरहेको थियो। जसमा लामो समय पछि घरेलु मैदानमा फर्किएको थियो। घरेलु मैदानको पिच ब्याटरलाई सहयोग गर्ने खालको बनेको भए पनि नेपाली ब्याटरमा सिमितले मात्रै ठूलो पारी खेले।
अब आउने शृंखला नेपालको लागि ओमान र युएई भन्दा कठिन हुनेछ। स्कटल्यान्ड र अमेरिका दुवै नेपालभन्दा तालिकामा माथि छन्। अमेरिका राम्रो लयमा छ। त्यस्तै स्कटल्यान्ड पनि लिग २ को तालिकामा शीर्ष २ मा रहेको छ। अमेरिका शीर्षमा रहँदा स्कटल्यान्ड दोस्रो स्थानमा रहेको छ।
बलियो प्रतिस्पर्धीसँग नेपालले घरेलु मैदानमा पुरानो लय समाउने दाउमा हुनेछ। अघिल्लो शृंखलाको अन्तिम खेलमा पत्रकारसँग कुरा गर्दै नेपालका बलिङ अलराउन्डर गुल्सन झाले भनेका थिए, ‘हामी अर्को शृंखलामा ४ मा ४ जित दर्ता गर्न चाहन्छौं।’ उनको भनाइको तात्पर्य लय कायम राख्नेमा रहेको थियो।
नेपालको ओपनिङ जोडी को?
यसपटक एक दिवसीय शृंखलामा नेपाली टिममा ४ जना ओपनर ब्याटर छन्। आसिफ शेख र कुशल भुर्तेलको लामो समयदेखिको जमेको जोडी यूएई, ओमान र नेपालको शृंखलामा तोडियो। अनुभवी खेलाडी विनोद भण्डारीको टिममा पुनरागमन तथा युवा खेलाडी अर्जुन कुमालको टिममा आगमनले पुरानो ओपनिङ जोडी हल्लिएको हो। अघिल्लो शृंखलाको पहिलो र दोस्रो खेलमा नेपालले निरन्तर रहेका २ ओपनर आसिफ र कुशललाई नै प्रयोग गर्यो। तर तेस्रो खेलमा नेपालले युएईविरुद्ध पुनरागमन गरेका अनुभवी ब्याटर विनोद र युवा खेलाडी अर्जुनलाई ओपनिङको जिम्मेवारी दिए। जसमा यी दुईले आफूलाई अब्बल सावित पनि गरे।
विनोद भण्डारीको सानदार कमब्याक रह्यो। उनले ५६ रनको अर्धशतकीय पारी खेले । अर्जुनले ११ रनको पारी खेले। शृंखलाको अन्तिम खेलमा ओपनिङमा २ विकेटकिपरलाई ओपनिङको जिम्मा दिइयो। अनुभवी विकेटकिपर ब्याटर विनोद भण्डारी र अहिले नियमित विकेटकिपरको जिम्मेवारी सम्हालिरहेका आसिफले ओपनिङ जिम्मेवारी सम्हालेका थिए। एक खेलमा प्लेइङ ११ बाट बाहिर बसेका आसिफले अन्तिम खेलमा ९४ रनको पारी खेले। अघिल्लो २ खेलमा रामा्रे चल्न नसकेका आसिफ अन्नितम खेलमा लयमा फर्किए।
आगामाी शृंखला बलियो टोलीहरुसँग रहेको छ। यस शृंखलामा यी ४ ब्याटरमा नेपाली टोलीसँग राम्रो विकल्प रहेको छ। त्यस्तै मध्यक्रममा दिपेन्द्र सिंह ऐरी निकै राम्रो फर्ममा देखिए। उनले त्यो लय स्कटल्यान्ड र अमेरिकासँग पनि कायम राख्नु पर्ने हुन्छ।
नेपाल एको लय कायम राख्न सिनियरलाई चुनौती
स्कटल्यान्ड र अमेरिकाले यसअघि नेपाल ‘ए’ सँग खेले। नेपाल ‘ए’ ले माथिल्लो मूलपानी मैदानमा स्कटल्यान्ड र अमेरिकासँग समान २÷२ खेल खेले। जसमा नेपाल ‘ए’ ले उत्कृष्ट प्रदर्शन गर्यो। दुवै टोलीसँग खेलेको २/२ खेलमा क्लिन स्विप गर्दै नेपाल ए ले ४ खेलमा ४ जित दर्ता गर्यो। जसमा नेपाली ‘ए’ ले दुवै टोलीलाई दुवै पटक पराजित गर्यो। ब्याटिङ बलिङ दुवैतर्फ नेपाल ‘ए’ दुई टोलीमाथि हाबी रह्यो। अब यही लयलाई सिनियर टोलीले कायम राख्न सक्छ कि सक्दैन भन्ने अर्को चुनौती रहनेछ । नेपाल ‘ए’ ले देखाएको उत्कृष्ट प्रदर्शन सिनियर टोलीले पनि सिक्नुपर्ने हुन्छ। सोही लयलाई कायम राख्दै नेपालको सिनियर टोलीले घरेलु भूमिमा चारमा चार जित दर्ता गर्न सक्छ कि सक्दैन भन्ने सिनियर टोलीको लागि चुनौतीको विषय रहनेछ।
सिनियर टोली नेपाल ‘ए’ बाट छाँटिएर गएको टोली हो । सिनियर टोलीले नेपाल ‘ए’ ले गरेको राम्रो प्रदर्शनलाई आधिकारिक खेलमा निरन्तरता दिनुपर्ने हुन्छ। नेपालका लागि आगामी चार खेल निकै महत्त्वपूर्ण छन्। घरेलु मैदानमा नेपालले ४ मा ४ खेल जित दर्ता गर्न सकेको खण्डमा नेपाल अंकतालिकामा माथि बढ्न सक्छ।
नेपाली बलरहरुले त्रिवीको पिच अघिल्लो शृंखलामा राम्रोसँग पढीसकेका छन्। जसको अनुसार नेपाली प्रशिक्षकले रणनीति बनाउनु पर्ने हुन्छ।
एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्युको पर्खाइमा इशान
सन् २०१९ मा पहिलोपटक नेपालका लागि टी२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका बायाँ हाते ब्याटर इशान पाण्डेले नेपालको लागि एकदिवसीय टोलीमा अन्तिम १५ भित्र आफ्नो नाम सुनिश्चित गरेका छन्।
यसअघि पनि किसानले राष्ट्रिय टिमको ढोका ढकढकाइरहेका थिए। एकदिवसीय क्रिकेटमा प्रधानमन्त्री कप र नेपाल एबाट राम्रो प्रदर्शन गरेपछि किसानले सिनियर टोलीको अन्तिम १५ भित्र आफ्नो नाम सुनिश्चित गरेका हुन्। टी-२० अन्तर्राष्ट्रियबाट नेपालको प्रतिनिधित्व गरिसकेका इशान एकदिवसीय क्रिकेटमा पनि उत्तिकै अब्बल खेलाडी हुन्।
उनले प्रधानमन्त्री कप जय ट्रफीमा गरेको प्रदर्शनका आधारमा यसअघि नै स्थगित भएको लेख दुईको क्याम्पमा परेका थिए तर पूर्वी एसियाको युद्धका कारण एक दुई स्थगित भएको थियो। यसैबीचमा प्रधानमन्त्री कप भयो। प्रधानमन्त्री कपमा पनि शानले राम्रो प्रदर्शन गरे। त्यसपछि उनले नेपाल एबाट ओमान र युएईसँग राम्रो प्रदर्शन गरे। सोही कारण उनी स्कटल्यान्ड र अमेरिका सम्मिलित श्रृङ्खलामा राष्ट्रिय टोलीमा परेका हुन्।
नेपालको टोली
रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, इशान पाण्डे, नन्दन यादव,विनोद भण्डारी, अर्जुन कुमाल, गुल्सन झा,सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने र ललित राजवंशी
शृंखलामा नेपालको तालिका
नेपाल भर्सेस स्कटल्यान्डः बैशाख २९
नेपाल भर्सेस अमेरिका : जेठ २
नेपाल भर्सेस स्कटल्यान्डः जेठ ४
नेपाल भर्सेस अमेरिकाः जेठ ८
प्रतिक्रिया दिनुहोस !