ब्रिक्स विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन इरानी विदेशमन्त्री भारत आउँदै
नयाँ दिल्ली : इरानका विदेशमन्त्री अब्बास अराघची ब्रिक्स (BRICS) सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन भारत भ्रमणमा आउने भएका छन्। भारतस्थित इरानी दूतावासले सामाजिक सञ्जाल एक्समार्फत यस भ्रमणको औपचारिक पुष्टि गरेको हो।
दूतावासका अनुसार भ्रमणका क्रममा विदेशमन्त्री अरागचीले बिहीबार र शुक्रबार आयोजना हुने ब्रिक्स मन्त्रीस्तरीय बैठकमा भाग लिनेछन्। सो अवसरमा उनले भारतीय विदेशमन्त्री एस। जयशङ्करका साथै बैठकमा सहभागी अन्य सदस्य राष्ट्रका मन्त्री तथा उच्च अधिकारीहरूसँग छुट्टाछुट्टै द्विपक्षीय वार्ता गर्ने कार्यक्रम समेत तय भएको छ।
भारतको अध्यक्षतामा मे १४ र १५ मा हुन लागेको यस बैठकमा क्षेत्रीय स्थिरता र सुरक्षा, बहुपक्षीय सहयोग सुदृढीकरण,आर्थिक उदारता र साझा हितका मुद्दामा विशेष वार्ता हुने तय भएको छ ।
१८ औं ब्रिक्स शिखर सम्मेलनको तयारी
यो बैठक आगामी सेप्टेम्बरमा नयाँ दिल्लीमा आयोजना हुने १८ औं ब्रिक्स शिखर सम्मेलनको पूर्वसन्ध्यामा हुन लागेको हो। यस वर्ष ब्रिक्सको अध्यक्षता भारतले गरिरहेको छ।
के हो ब्रिक्स (BRICS)?
ब्रिक्स विश्वका पाँच उदीयमान अर्थतन्त्र भएका राष्ट्रहरूको शक्तिशाली समूह हो। यसको नाम अंग्रेजी अक्षरहरू B (ब्राजिल), R (रुस), I (भारत), C (चीन) र S (दक्षिण अफ्रिका) बाट बनेको हो, जसले यी पाँच राष्ट्रको प्रतिनिधित्व गर्दछ।
प्रतिक्रिया दिनुहोस !