दक्षिण अफ्रिकाको जोहान्सबर्गमा गोलीबारी, १२ जनाको मृत्यु
दक्षिण अफ्रिका : दक्षिण अफ्रिकाको जोहान्सबर्गमा एक सामुहिक गोलीकाण्डमा १२ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार यस घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ, जसमा तीन जना महिला पनि छन् ।
यस गोलीकाण्डमा अन्य नौं जना घाइते भएका छन् । उनीहरू सबैलाई गोली लागेको छ । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यो घटना मंगलबार राति क्लीवल्यान्डको एउटा झुग्गी बस्तीमा भएको हो । आक्रमणकारीहरूको खोजीका लागि अनुसन्धान जारी छ ।
प्रहरीको विज्ञप्तिमा भनिएको छ, ‘एक पेट्रोल पम्प नजिकैबाट सेतो टोयोटा क्वान्टम गाडीबाट १० भन्दा बढी संदिग्ध व्यक्ति ओर्लिए ।’ विज्ञप्तिमा थप भनिएको छ, ‘ती संदिग्धहरू उक्त झुग्गी बस्तीका दुवै प्रवेशद्वारबाट भित्र पसे र चारैतिरबाट घेराबन्दी गर्दै गोली चलाउन थाले । उनीहरूले त्यहाँ रहेका स्थानीय मानिसहरूमा अन्धाधुन्ध गोली प्रहार गरे र त्यसपछि त्यही गाडीमा फरार भए ।’
दक्षिण अफ्रिका विश्वका सबैभन्दा उच्च हत्या दर भएका देशहरूमध्ये एक हो। यहाँ औसतमा प्रत्येक दिन करिब ६० जनाको हत्या हुने गर्छ । यस्ता झुग्गी बस्तीहरूमा गोलीकाण्डका घटना सामान्य मानिन्छन् । धेरै पटक यस्ता घटनाहरू ‘ग्याङ’ हिंसा वा व्यक्तिगत विवादसँग सम्बन्धित हुने गर्छन् ।
स्थानीय प्रहरीले बताए अनुसार मंगलबार राति करिब ११ः१० बजे उनीहरूलाई गोलीबारीको सूचना प्राप्त भएको थियो । त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार आक्रमणको कारण हालसम्म स्पष्ट भएको छैन ।
प्रतिक्रिया दिनुहोस !