न्यूयोर्कमा क्रियापुत्री भवन र गुम्बा निर्माणका लागि श्रीमद्भागवत महायज्ञ हुने
न्यूयोर्क: अमेरिकाको न्यूयोर्कमा बसोबास गर्ने नेपाली समुदायका लागि क्रियापुत्री भवन तथा बौद्ध धर्मावलम्बीहरूका लागि गुम्बा निर्माण गर्ने उद्देश्यले श्रीमद्भागवत कथा वाचन कार्यक्रम आयोजना गरिने भएको छ।
‘हामी नेपाली इन्टरनेशनल’ को आयोजना तथा ‘रिभिल इभेन्ट्स आईएनसी’ को सहकार्यमा न्यूयोर्कको वुडसाइडस्थित श्री दिव्यधाम मन्दिरमा यो कार्यक्रम हुन लागेको हो। आगामी मे १५ देखि १७ सम्म सञ्चालन हुने उक्त श्रीमद्भागवतमा चर्चित कथावाचिका देवी प्रतिभाले वैदिक ज्ञानमय कथा वाचन गर्नेछिन् ।
हामी नेपाली इन्टरनेशनलका केन्द्रीय अध्यक्ष नवराज केसीले भवन र गुम्बा निर्माणका लागि आवश्यक स्रोत जुटाउन यो महायज्ञ आयोजना गरिएको जानकारी दिए। 'न्यूयोर्कमा बसोबास गर्ने सम्पूर्ण नेपाली तथा अन्य समुदायलाई कथा श्रवणका लागि हामी हार्दिक निमन्त्रणा गर्दछौं,' अध्यक्ष केसीले भने।
श्रीमद्भागवतमा देवी प्रतिभाले वैदिक ज्ञानमय कथा वाचन गर्ने हामी नेपाली इन्टरनेशनलका महासचिव सूर्य सिम्खडाले जानकारी दिए । ‘कथा वाचन गर्नका लागि उहां न्यूयोर्क आईसक्नु भएको छ’ उनले भने ‘श्रीमद्भागवतको सबै तयारी पुरा भईसकेको छ ।’
प्रतिक्रिया दिनुहोस !