पवित्रा र धनमायाको आत्मनिर्भर यात्रा
रुकुम पूर्व : वैदेशिक रोजगारी, बेरोजगारी र अवसरको अभावले गाउँका धेरै युवायुवती बाहिरिने क्रममा छन् । तर, रुकुमपूर्वको सिस्ने गाउँपालिका–४ का दुई महिलाले भने आफ्नै गाउँठाउँमा सीप र मिहिनेतका भरमा उदाहरणीय व्यवसाय खडा गरेका छन् ।
साविक घरेलु तथा साना उद्योग विकास समिति, रुकुमबाट आर्थिक वर्ष २०७३/०७४ मा सिलाइ–कटाइ तालिम लिएपछि सिस्ने गाउँपालिका–४ ढाँका निवासी प्रमिला बुढा घर्ती र दादिङ निवासी धनमाया बुढाले अहिले सदरमुकाम रूकुमकोटमा ‘दिदीबहिनी सिलाइकटाइ उद्योग’ सञ्चालन गरिरहेका छन् ।
दुई वर्षदेखि व्यावसायिक रूपमा सञ्चालनमा रहेको उक्त उद्योग अहिले स्थानीय बजारमा परिचित बन्दै गएको छ । महिलाहरूका लागि सामान्य सीप प्रशिक्षणले कसरी आत्मनिर्भर बन्ने बाटो खोल्न सक्छ भन्ने गतिलो उदाहरण बनेका छन् प्रमिला र धनमाया ।
तालिमबाट व्यवसायसम्म
२०७३/०७४ सालमा घरेलु तथा साना उद्योग विकास समितिले सञ्चालन गरेको सिलाइ–कटाइ तालिममा सहभागी भएपछि उनीबैमा आत्मविश्वास बढेको प्रमिला बताउँछिन् । तालिम सकेपछि सुरुमा घरमै सामान्य कपडा सिलाउने काम गरे पनि पछि बजारको माग बढ्दै गएपछि व्यवसाय दर्ता गरेर व्यवस्थित रूपमा उद्योग सञ्चालन गरिएको उनले जानकारी दिइन् ।
‘पहिला सीप त थियो, तर व्यवसाय गर्ने आँट थिएन,’ प्रमिलाले भनिन्, ‘पछि आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोच आयो । अहिले यही कामले घर चलाउन सजिलो भएको छ ।’
धनमायाका अनुसार सुरुवाती दिनमा लगानी, मेसिन खरिद र ग्राहक जुटाउन कठिन भए पनि अहिले कामले गति लिएको छ । ‘अहिले दैनिक रूपमा विद्यालय पोशाक, महिला तथा पुरुषका कपडा सिलाउने अर्डर आउँछन्,’ उनले भनिन् ।
वार्षिक ६ लाखसम्म आम्दानी
उद्योगबाट अहिले वार्षिक चारदेखि छ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनीबै बताउँछन् । उक्त रकम दुवैले बराबरी बाँड्ने गरेका छन् । यसबाट बालबालिकाको शिक्षा, घरखर्च र दैनिक जीवन सञ्चालनमा ठूलो सहयोग पुगेको उनीहरूको भनाइ छ ।
स्थानीय स्तरमै बसेर व्यवसाय गर्दा खर्च कम हुने र परिवारसँगै बसेर काम गर्न सकिने भएकाले यो व्यवसाय आफूहरूका लागि उपयुक्त बनेको धनमायाको अनुभव छ ।
सीप भए अवसर गाउँमै
रुकुम पूर्वजस्ता पहाडी जिल्लामा महिलाहरूका लागि रोजगारीका अवसर सीमित छन् । अधिकांश महिलाहरू कृषि र घरायसी काममै सीमित हुने गरेका छन् । यस्तो अवस्थामा सीपमूलक तालिमले महिलाहरूलाई आत्मनिर्भर बन्ने आधार दिएको स्थानीयवासी बताउँछन् ।
स्थानीय तह र विभिन्न संघसंस्थाले बेला–बेलामा सञ्चालन गर्ने स्तरोन्नति तालिमले व्यवसायलाई थप गुणस्तरीय बनाउन मद्दत पुगेको प्रमिलाले बताइन् । सिस्ने गाउँपालिका तथा अन्य संघसंस्थाको पहलमा उनीहरूले थप तालिमसमेत लिइसकेका छन् ।
तर, उनीहरूले चुनौती पनि उत्तिकै रहेको बताएका छन् । बजारको सीमितता, आधुनिक मेसिनको अभाव, महँगो कपडा तथा सामग्री ढुवानी र पर्याप्त प्रोत्साहन नपाउनु मुख्य समस्या रहेको उनीहरूको गुनासो छ ।
स्थानीय सरकारको भूमिका कति प्रभावकारी ?
स्थानीय तहले सीपमूलक तालिम सञ्चालन गरे पनि त्यसको दीर्घकालीन अनुगमन र व्यवसाय विस्तारका लागि आवश्यक सहुलियत उपलब्ध गराउन नसकेको गुनासो अन्य उद्यमीहरूको पनि छ ।
तालिमपछि उद्यम सञ्चालन गर्न चाहनेलाई सहुलियत ऋण, आधुनिक उपकरण, बजार व्यवस्थापन र नियमित प्राविधिक सहयोग उपलब्ध गराउन सके यस्ता साना उद्योगहरूले स्थानीय अर्थतन्त्र बलियो बनाउन सक्ने देखिन्छ ।
प्रमिला र धनमायाको कथा केवल दुई महिलाको सफलताको कथा मात्र होइन, गाउँमै सम्भावना खोज्ने महिलाहरूका लागि प्रेरणाको स्रोत पनि हो । सीप, मेहनत र निरन्तरताले अवसर गाउँमै सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण उनीहरूले प्रस्तुत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !