किन रोकियो नेपाली चियाको निर्यात ?

किन रोकियो नेपाली चियाको निर्यात ?
भारततर्फको पानीट्यांकी बोर्डरनजिकै ट्रक रोकेर चियाको नमुना संकलन गर्दै टी बोर्ड अफ इन्डियाका कर्मचारी।

झापा : पूर्वी नेपालको काँकडभिट्टा नाकाबाट भारत निर्यात हुने नेपाली उत्पादनमध्ये तयारी चिया दोस्रो ठूलो वस्तुका रूपमा रहेको छ। नेपाली चियाको निर्यातमाथि अंकुश लगाउन पटक–पटकको भारतीय अवरोधले झापा र इलामका उद्योगीले मे १ तारिख (वैशाख १८ गते)देखि तयारी चिया भारत पठाउन छाडेका छन्।

मेची भन्सार कार्यालय काँकडभिट्टाबाट चिया निर्यात नभएको तीन साता हुन लाग्यो। ‘मे १ तारिखदेखि नै उद्योगीहरूले चिया निर्यातको घोषणा गर्न भन्सार आइपुगेका छैनन्,’ भन्सार अधिकृत तथा सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले भने, ‘नेपालको कानुनले रोकिएको होइन, भारततर्फ नै समस्या देखिएकाले रोकिएको हो।’ 

भारततर्फको पानीट्यांकी बोर्डरमा तयारी चियाको विषादी परीक्षण गर्ने ल्याब नभएकाले समस्या उत्पन्न भएको भारतीय कस्टम अफिसले जानकारी दिएको बताउँदै सूचना अधिकारी हुमागाईंले भने, ‘यहाँबाट छाडिएका हरेक ट्रकबाट चियाको विषादी परीक्षण गर्नुपर्ने, त्यसको खर्च पनि स्वयं उद्योगीले तिर्नुपर्ने, कम्तीमा १५ दिन समय लाग्ने र त्यसो गर्दा खर्च पनि बढी लाग्ने भएकाले चिया निकासीमा समस्या उत्पन्न भएको बुझिएको छ।’ 

यहाँबाट अर्थोडक्स, सीटीसी र ग्रिन टी भारत निर्यात हुन्छ। एक साताअघि दुई ट्रक (८ हजार केजी) अर्थोडक्स चिया निकासी भएको थियो। विषादी परीक्षणसम्बन्धी नयाँ नियम लागू गरेपछि उद्योगीले त्यो बुझ्न दुई ट्रक चिया पठाएको हुनुपर्छ। ‘तर, त्यसको प्रतिफल कस्तो आयो भन्नेबारे उद्योगी तथा भारतीय कस्टम पक्षले अहिलेसम्म भन्सारलाई कुनै जानकारी गराएको छैन,’ उनले भने।

चियाको गुणस्तर मूल्यांकनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली उत्पादनले ‘ग्रान्ड गोल्ड मेडल’ प्राप्त गरी सर्वोत्कृष्ट घोषित भएको थियो। तर, भारतीय पक्षले नेपाली तयारी चिया गुणस्तरहीन भन्दै अनेक बहाना निकालेर सडकमै अवरोध गर्न खोज्छन्। भारतको कुल उत्पादनमध्ये नेपालबाट १ प्रतिशत मात्र चिया भारत निकासी हुन्छ। नेपालको गुणस्तरयुक्त चियासँग भारत डराएकाले हामीमाथि अंकुुश लगाउन खोजेको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले बताए। 

टी बोर्ड अफ इन्डियाले नेपालबाट भारत निकासी हुने चिया तेस्रो मुलुकबाट आयातित गुणस्तरहीन चिया भन्दै आफ्नो सरकारलाई बताइरहेको छ। र, भारत सरकार पनि टी बोर्ड अफ इन्डियाले भनेको कुरा मानेर नयाँ–नयाँ नियम लागू गरी हाम्रो चियालाई बन्देज लगाउन खोजिरहेको अध्यक्ष पराजुलीको भनाइ छ। 

भारतले मे १ तारिखदेखि नेपाली चियामा नयाँ नियम लागू गरेको छ। ‘१०० प्रतिशत गुणस्तर परीक्षण गरेर मात्र नेपाली चिया भारत छिर्न पाउने नियम लगाएपछि हामीले चिया पठाउन छाडेका हौं’, अध्यक्ष पराजुलीले भने, ‘पहिला एक लटमा गएका ट्रकहरूमध्ये एउटा ट्रकबाट निकालिएको चियाको गुणस्तर परीक्षण गर्दा हुन्थ्यो, अहिले हरेक ट्रकमा लोड भएको चियाको परीक्षण गर्नुपर्ने भयो।’ 

चियाको ट्रकहरू बोर्डरमै रोकिँदैन। भारतीय कस्टमले प्रवेश गर्न अनुमति दिन्छ। तर, टी बोर्ड अफ इन्डियाले सडकमै रोकिदिन्छ। त्यसपछि टी बोर्डका कर्मचारीले नमुना परीक्षणका लागि चिया निकालेर कलकत्ता पठाउँछन्। त्यसमा लाग्ने सम्पूर्ण खर्च पनि स्वयं उद्योगी तिर्नुपर्छ। ‘एकपटक चिया परीक्षणका लागि पठाउँदा १५ हजार भारतीय रुपैयाँसम्म खर्च हुन्छ,’ अध्यक्ष पराजुलीले भने। 

नेपाली चिया किन्ने भनेको भारतीय व्यापारी हुन्। भारतीय व्यापारी पनि टी बोर्ड अफ इन्डियाबाट आतंकित बनेको अवस्था छ। ‘नेपाली उत्पादन चिया भारतमा गुणस्तर परीक्षणका लागि ल्याब पठाउँदा १५ दिन लामो समय लाग्छ। तर, भारतीय उत्पादन तरकारी र फलफूल नेपाल आउँदा एक घण्टामै ल्याब परीक्षण भई गाडी नै पास हुन्छ,’ अध्यक्ष पराजुलीले भने, ‘नेपालमा एक घण्टामै ल्याब परीक्षणको रिपोर्ट आउँछ भने भारतमा पनि चियाको ल्याब रिपोर्ट एक घण्टामै दिएर ट्रक पास हुनुपर्छ।’ 

हामीलाई चिया पठाउँदा समस्यै समस्या छ। भन्सार तिरेर भारत पठाएको चिया ल्याब परीक्षणमा फेल भयो भने पुनः नेपाल फर्काउन नसकिने बताउँदै अध्यक्ष पराजुलीले भने, ‘त्यो चिया भारतमै नष्ट गर्नुपर्ने हुन्छ, एउटा ट्रकमा करिब २० देखि २२ लाख रुपैयाँसम्मको चिया हुन्छ।’

नेपाली चियालाई टी बोर्ड अफ इन्डियाले रोकेका कारणले दुवै देशका प्रधानमन्त्री वान टु वान वार्ता गरेर होस वा कूटनीतिक पहल गरेर होस, यसको तत्काल निकास निकाल्नुपर्ने उनको भनाइ छ। चिया भारत पठाउन छाडियो भने यहाँका ठूला/साना गरी करिब एक सय उद्योग बन्द हुन्छन्। यसको प्रत्यक्ष मारमा श्रमिक, चिया मजदुर, उद्योगी तथा व्यवसाय पर्छ। यसले एउटा विकराल रूप लिनुभन्दा अघि नै नेपाल सरकारले अविलम्ब ठोस कदम चाल्नुपर्ने उनको भनाइ छ। 

मेची भन्सारको त्रिवार्षिक तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/०८१ मा १ करोड ३४ लाख ६६ हजार केजी चिया भारत निकासी भएको छ। जसबाट ३ अर्ब १७ करोड बढी राजस्व उठेको छ। आर्थिक वर्ष २०८१/०८२ मा १ करोड ५४ लाख १६ हजार केजी निकासी भएकोमा ४ अर्ब २१ करोड र चालु आर्थिक वर्षको चैत मसान्तसम्म ९९ लाख ४३ हजार केजी निकासी भएकामा २ अर्ब ५८ करोड राजस्व संकलन भएको जनाएको छ। 

बंगलादेश वा तेस्रो मुलुक विकल्प
यहाँका उद्योगीहरूले बंगलादेश वा तेस्रो मुलुक चिया निकासीका वैकल्पिक बाटो खोजेका छन्। यसका लागि नेपाल सरकारले पहल गरिदिनुपर्ने उद्योगीहरूको भनाइ छ। ‘हाम्रो देशमा उत्पादन भएको गुणस्तरयुक्त चिया हामी बंलादेशसहित तेस्रो मुलुक पठाउन सक्छौं,’ संघका अध्यक्ष पराजुलीले भने, ‘सरकारले बंगलादेशको बाटो खोलिदिनुप¥यो वा तेस्रो मुलुकमा पहल गरिदिनु पर्यो‍। 

‘हामीले चियाको बारेमा बंलादेशको राजदूतसँग कुरा गर्दा उहाँले पनि दुवै देशका सरकारबीच कुराकानी भयो भने त्यो सम्भव रहेको भन्नुभयो थियो।’ झापाबाट बंगलादेश बोर्डरको दूरी पनि नजिक पर्छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.