नदीमा डुबेर तीन बालिकाको मृत्यु
महोत्तरी : नुहाउने क्रममा चिप्लिएर नदीमा डुब्दा महोत्तरीमा ३ बालिकाको मृत्यु भएको छ। शुक्रबार दिउँसो मनरा सिस्वा नगरपालिका-७ सरपल्लोस्थित अंकुशी र जंघा नदीको दोभानमा नुहाउन जाँदा उनीहरूको ज्यान गएको हो।
मृत्यु हुनेमा स्थानीय वीरेन्द्र भण्डारीको छोरी १३ वर्षीया स्नेहा भण्डारी तथा ६ वर्षीय शिवानी भण्डारी तथा सोही ठाउँका अजिज नदाफकी छोरी अफ्साना खातुनको डुबेर मृत्यु भएको हो। मृत्यु हुने स्नेहा र शिवानी सहोदर दिदीबहिनी हुन्।
स्नेहा र अपसना सरपल्लो स्थित मुनीलाल माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिइन्। उनीहरूसँगै स्नेहाकी सानी बहिनी समेत दिदी पछ्याउँदै नदीमा पुगेकी थिइन्। नुहाउने क्रममा उनीहरूको खुट्टा चिप्लिएको र ठुलठुलो खाल्डाको कारणले उनीहरू डुबेको मृतक बालिकाहरू स्नेहा र शिवानीकी हजुरआमा मरनी देवीले बताइन।
खबर पाएपछि इलाका प्रहरी कार्यालय कार्यालय बलबाका प्रहरी टोली घटनास्थल पुगि तीनै जनालाई प्रादेशिक अस्पताल जलेश्वर पुर्याइएको थियो। चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
मृत्यु भएका बालिकाहरूको मुचुल्का उठाउने कार्य भइरहेको र पोष्टमार्टमपश्चात शव परिवारजनलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पन्चलाल गोलेले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !