भारतीय पर्यटक आकर्षित गर्न ‘कर्णाली टुरिजम मिट’

भारतीय पर्यटक आकर्षित गर्न ‘कर्णाली टुरिजम मिट’
सुन्नुहोस्

वीरेन्द्रनगर : ‘अन द ल्याप अफ नेचर एन्ड कल्चर’ अर्थात् ‘संस्कृति र प्रकृतिको काखमा’ भन्ने नारासहित सुरु भएको ‘कर्णाली टुरिजम मिट–२०२६’ सुरु भएको छ। नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको आयोजना तथा होटल व्यवसायी महासंघ सुर्खेत, दुल्लु नगरपालिका गुराँस गाउँपालिकाको समन्वयमा यो टुरिजम मिट आयोजना गरिएको हो। 

बिहीबार वीरेन्द्रनगरमा सुरु भएको सम्मेलनमा कर्णालीको पर्यटन सम्भावना, सांस्कृतिक वैभव र दिगो पर्यटन विकासबारे बहस गरियो। टुरिजम मिटको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका पर्यटनमन्त्री सुरेश अधिकारीले कर्णालीलाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको उल्लेख गर्दै यहाँको पर्यटन विकासले समग्र नेपालको आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए। उनले कर्णालीलाई विगतदेखि नै भौगोलिक विकटताका रूपमा हेरिएको भए पनि अहिले अथाह पर्यटकीय सम्भावना बोकेको भूमिका रूपमा परिचित भइरहेको उल्लेख गरे। ‘कर्णाली घुम्ने मात्र होइन, अनुभूति गर्ने भूमि हो’ उनले भने, ‘यहाँको संस्कृति, प्रकृति र समुदाय नै यसको वास्तविक शक्ति हो।’

उनले कर्णालीका रारा, शे–फोक्सुन्डो, काँक्रेविहार, गुराँसे, हुम्ला र डोल्पाजस्ता गन्तव्यलाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्न आवश्यक रहेको उल्लेख गरे। कार्यक्रममा पर्यटन सचिव मुकुन्दप्रसाद निरौलाले कर्णाली नेपालको पश्चिम भूगोलको एउटा प्रदेश मात्र नभई नेपाली सभ्यता, हिमाली संस्कृति, जैविक विविधता र मौलिक जीवनशैलीको जीवन्त संग्रहालय भएको बताए। 

उनका अनुसार पर्यटनले स्थानीय युवालाई रोजगारी दिनुपर्छ, स्थानीय उत्पादनलाई बजार दिनुपर्छ र स्थानीय समुदायको जीवनस्तर उकास्नुपर्छ। नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले भारत नेपालको लागि विशाल पर्यटन बजार रहेको उल्लेख गर्दै कर्णाली प्रदेश अहिले भारतीय पर्यटकका लागि अत्यन्त उपयुक्त गन्तव्य भएको बताए। 

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले कर्णालीमा अथाह पर्यटन सम्भावना भए पनि यसको प्रभावकारी प्रचारप्रसार हुन नसकेको बताएकी छन्। कार्यक्रममा दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसीले स्थानीय तहले पर्यटनलाई उद्योगका रूपमा स्वीकार गर्दै समुदायस्तरमा पर्यटनबारे जनचेतना विस्तार गरिरहेको बताए। 

पर्यटन व्यवसायी श्रीराम सिग्देलले ‘कर्णाली पर्यटनको गेटवे सुर्खेत’ भएको उल्लेख गर्दै सुर्खेतलाई पर्यटन हबका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए। भारतीय पर्यटन व्यवसायीहरूको संस्था ट्राभल ट्रेड वेलफेयर एसोसिएसन अफ इन्डियाका अध्यक्ष राजेश सिन्हाले कर्णाली आफ्नो लागि नयाँ पर्यटन गन्तव्य बनेको बताए। ‘हाम्रो लागि कर्णालीले नयाँ ढोका खोलि दिएको छ। हामी भारतीय पर्यटकहरूलाई कर्णालीसँग जोड्ने छौं’, उनले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.