कालापानीको आन्दोलन स्थगित, घाइतेको उपचार खर्च वन कार्यालयले दिने
महोत्तरी : महोत्तरीमा बस्ती खाली गराउने क्रममा गल्ती भएको स्वीकार गर्नुको साथै अगामी दिनमा कमी कमजोरीलाई मनन गर्दै अतिक्रमित जग्गा नियन्त्रणमा लिइने प्रयास गर्ने शर्तमा जारी आन्दोलन अन्त्य भएको छ ।
मंगलबार विहानैदेखि जारी रहेको आन्दोलनलाई साम्य बनाउनका लागि दिउँसो घटनास्थलमै महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, वन डिभिजन कार्यालयका प्रमुख अजयकुमार मिश्र र वर्दिवास नगरपालिकाका मेयर प्रल्हादकुमार क्षेत्री सम्मलित टोलीले स्थानियहरुसँग वार्ता गरेका छन् । सो वार्ताले तत्कालको लागि अभियान स्थगित गर्ने शर्तमा बर्दिवास नगरपालिका ३ मा जारी आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिइएको हो ।
सो वार्ताले अगामी दिनमा वन अतिक्रमितमुक्त जग्गा अभियानमा स्थानीय सरकारसँगको समन्वयनमार्फत गतिविधि अगाडि बढाउने निर्णय भएको हो । सोही क्रममा आज रातिको समयमा जारी अभियानमा वन कार्यालयको तर्फबाट आफूबाट कुनै किसिमको निर्देशन जारी नभएको र सोही क्रममा कर्मचारीबाट हुन गएको गल्तीलाई स्वीकार गर्दै घाइतेलाई उपचार खर्चको प्रबन्ध गर्ने सहमति भएको हो ।
रातिको समयमा बर्दिवास नगरपालिका–३ कालापानीमा वनको जग्गा अतिक्रमण गरी बनाएको घर टहरा हटाउने क्रममा स्थानीयले अवरोध गरेका थिए । सोही क्रममा स्थानीयले न्यायको माग गर्दै कालापानीमा वीपी सडकखण्ड अवरुद्ध गरेका थिए । जसका कारण विहानैदेखि सो क्षेत्रमा सडक आवागमन अवरुद्ध भएको थियो ।
प्रतिक्रिया दिनुहोस !