कांग्रेसको १५औं महाधिवेशनको मार्गचित्र
कांग्रेसमा एकातिर आन्तरिक विवाद, नेतृत्व संकट र जनअसन्तुष्टि छन् भने अर्कोतिर ऐतिहासिक विरासत, संगठनात्मक आधार र जनविश्वास।
देशैभर नयाँ राजनीतिक शक्तिहरू उदाइरहेका, पुराना दलहरूप्रति आम रूपमा एक प्रकारको वितृष्णा फैलिएको र मतदातामा ‘परिवर्तन’को चाहना तीव्र रूपमा अभिव्यक्त भइरहेको वर्तमान राजनीतिक परिवेशमा पनि नेपाली राजनीतिले एउटा महत्वपूर्ण सन्देश दिएको छ। त्यो सन्देश हो— समग्र असन्तुष्टि र विकल्प खोजीको मनोविज्ञानका बीच पनि उल्लेखनीय संख्यामा मतदाताले अझै नेपाली कांग्रेसप्रति विश्वास कायम राखेका छन्। यो केवल अंकगणितीय तथ्यमात्र होइन, बरु राजनीतिक दृष्टिले अत्यन्त अर्थपूर्ण संकेत हो।
यसले देखाउँछ कि जनताको एउटा उल्लेखनीय हिस्साले अझै पनि स्थायित्व, लोकतान्त्रिक मूल्य, संस्थागत निरन्तरता र अनुभवी नेतृत्वलाई प्राथमिकता दिइरहेको छ। सरकारको नेतृत्वबाट बञ्चित भए पनि पार्टी प्रमुख प्रतिपक्षीको भूमिकामा रहन पुग्यो। यस अवस्थाले एकातिर चुनौती प्रस्तुत गरेको छ भने अर्कोतिर अवसर पनि दिएको छ— आफ्नो संगठन, नीति र दृष्टिकोणलाई पुनर्समीक्षा गर्ने अवसर। यस्तो प्रतिकूल राजनीतिक परिस्थितिमा पनि नेपाली कांग्रेसलाई रोज्ने मतदाता को हुन् भन्ने प्रश्न अत्यन्त महत्वपूर्ण छ। उनीहरूले किन अझै ‘रुख’ चिह्नमा विश्वास गरे भन्ने विषयमा गहिरो विश्लेषण गर्दा स्पष्ट हुन्छ कि उनीहरूको निर्णय आकस्मिक होइन, बरु मूल्य र अनुभवमा आधारित छ।
लोकतन्त्रप्रतिको ऐतिहासिक प्रतिबद्धता, संविधान र संस्थागत संरचनाप्रति विश्वास, अस्थिर वा चरमपन्थी प्रयोगप्रति आशंका, अनुभवी नेतृत्वबाट स्थायित्वको अपेक्षा तथा समावेशी र उदार राजनीतिक धारप्रति आस्थाजस्ता कारणले उनीहरूलाई कांग्रेससँग जोडेर राखेको छ। यी मतदाताहरू केवल समर्थकमात्र होइनन्; उनीहरू नै पार्टीको वास्तविक आधार, यसको मेरुदण्ड र भविष्यका संरक्षक हुन्। त्यसैले, उनीहरूको विश्वासलाई जोगाउनुमात्र होइन, अझ सुदृढ बनाउनु नै आगामी १५औं महाधिवेशनको मूल उद्देश्य हुनुपर्छ। यस सन्दर्भमा सबैभन्दा पहिलो र अनिवार्य सर्त हो— आन्तरिक एकता। विगतका वर्षहरूमा नेपाली कांग्रेसभित्र देखिएको गुटबन्दी, नेतृत्वबीचको प्रतिस्पर्धा र कहिलेकाहीँ व्यक्तिगत स्वार्थले प्रेरित विवादहरूले पार्टीको छवि र प्रभावलाई कमजोर बनाएको छ।
नीति स्पष्ट नभएसम्म जनतामा विश्वास पुनस्र्थापित हुन सक्दैन। निर्वाचन परिणामले जनतासँग दलहरूको दूरी बढ्दै गएको संकेत पनि दिएको छ। कांग्रेसले यसलाई गम्भीर रूपमा लिँदै जनतासँग पुनःसम्बन्ध स्थापना गर्नुपर्नेछ।
न्यायालयसम्म पुगेका वैधानिकतासम्बन्धी मुद्दाहरूले कार्यकर्तामा अन्योल र निराशा सिर्जना गरेका थिए। अब ती विवादहरू समाधान भइसकेको अवस्थामा पनि यदि स्वार्थको द्वन्द्वलाई निरन्तरता दिइयो भने त्यसले पार्टीलाई दीर्घकालीन रूपमा क्षति पु¥याउनेछ। कठिन अवस्थामा पनि पार्टी नछोड्ने कांग्रेसी कार्यकर्ताहरूको भावनालाई सम्मान गर्नु नेतृत्वको प्रमुख जिम्मेवारी हो। उनीहरूलाई एकताको अनुभूति दिलाउनु, सम्मान गर्नु र निर्णय प्रक्रियामा सहभागी गराउनु नै साँचो नेतृत्वको परीक्षा हो।
१५औं महाधिवेशनलाई केवल नियमित संगठनात्मक प्रक्रिया नभई एक ऐतिहासिक अवसरका रूपमा लिनुपर्छ। यो अवसरलाई ‘एकताको महायज्ञ’का रूपमा रूपान्तरण गर्न सकियो भने मात्र यसको वास्तविक अर्थ प्रकट हुनेछ। महाधिवेशनले पार्टीको दिशा, नेतृत्व र भविष्य निर्धारण गर्ने भएकाले यसमा सबै गुट, विचारधारा र समूहलाई समेट्ने प्रयास आवश्यक छ। प्रतिस्पर्धा स्वाभाविक हो, तर त्यो स्वस्थ र मर्यादित हुनुपर्छ। परिणामपछि सहकार्य गर्ने संस्कार विकास गर्न सकियो भने मात्र महाधिवेशनले एकता बलियो बनाउनेछ। विभाजन होइन, एकताको सन्देश दिने नेताहरू नै आम कांग्रेसीको विश्वास जित्न सक्षम हुन्छन्।
महाधिवेशनलाई सफल बनाउन संगठनात्मक सुधार अनिवार्य छ। विशेष महाधिवेशन र १४औं महाधिवेशनबाट निर्वाचित संरचनाहरूलाई समायोजन गरी एक प्रभावकारी कार्यसम्पादन समिति गठन गर्न सकिन्छ, जसले संक्रमणकालीन व्यवस्थापन, विवाद समाधान र महाधिवेशनको तयारीमा केन्द्रित भएर काम गर्नेछ। यसले गुटीय टकराव कम गर्न र साझा नेतृत्वको अभ्यासलाई संस्थागत गर्न मद्दत पु¥याउँछ। महाधिवेशनको विश्वसनीयता त्यसको निर्वाचन प्रक्रियामा निर्भर हुन्छ। यदि निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र विश्वसनीय भयो भने परिणामप्रति सबै पक्षले स्वीकृति जनाउने वातावरण बन्छ। त्यसका लागि उम्मेदवार नबन्ने, निष्पक्ष छवि भएका व्यक्तिहरूको नेतृत्वमा निर्वाचन समिति गठन गर्नु आवश्यक छ। प्रविधिको प्रयोग गरी मतदान प्रणालीलाई पारदर्शी बनाउनु र सम्पूर्ण प्रक्रियालाई विवादरहित बनाउनु आजको आवश्यकता हो।
कांग्रेसको संगठनात्मक आधार क्रियाशील सदस्यता हो, तर विगतमा यसमा देखिएका विकृति र विवादले संगठनलाई कमजोर बनाएको छ। सदस्यताको निष्पक्ष छानबिन, पारदर्शी अभिलेख प्रणाली र समावेशी विस्तार बिना संगठन बलियो हुन सक्दैन। नयाँ पुस्ता, महिला, दलित, जनजाति र मधेसी समुदायलाई प्राथमिकतामा राख्दै सदस्यता विस्तारलाई रणनीतिक रूपमा अघि बढाउनु आवश्यक छ। ‘नयाँ कांग्रेस’को अवधारणा व्यवहारमा उतार्न यही आधार महत्वपूर्ण हुन्छ। आजको राजनीतिक यथार्थले देखाएको छ कि पुरानो शैली र सोचले मात्र नयाँ चुनौतीहरू समाधान गर्न सकिँदैन। युवापुस्ताको अपेक्षा फरक छ— उनीहरू पारदर्शिता, दक्षता, परिणाममुखी शासन र समान अवसर चाहन्छन्।
त्यसैले कांग्रेसले युवालाई नेतृत्वमा स्थान दिनु, नीतिगत बहसलाई प्राथमिकता दिनु र आधुनिक प्रविधि तथा सञ्चार माध्यमलाई अँगाल्नु अपरिहार्य भइसकेको छ। नवीकरणबिना कुनै पनि राजनीतिक दलको भविष्य सुरक्षित रहँदैन, कांग्रेस पनि यसबाट अपवाद हुन सक्दैन। वैचारिक स्पष्टता पनि अर्को महत्वपूर्ण पक्ष हो। नेपाली कांग्रेस ऐतिहासिक रूपमा लोकतान्त्रिक समाजवादको पक्षधर भए पनि व्यवहारमा यसको स्पष्टता कमजोर भएको आलोचना हुने गरेको छ। १५औं महाधिवेशनले आर्थिक नीति, संघीयता कार्यान्वयन, सुशासन, भ्रष्टाचार नियन्त्रण, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता विषयमा स्पष्ट, व्यावहारिक र कार्यान्वयनयोग्य नीति प्रस्तुत गर्नुपर्छ। नीति स्पष्ट नभएसम्म जनतामा विश्वास पुनस्र्थापित हुन सक्दैन।
निर्वाचन परिणामले जनतासँग दलहरूको दूरी बढ्दै गएको संकेत पनि दिएको छ। कांग्रेसले यसलाई गम्भीर रूपमा लिँदै जनतासँग पुनः सम्बन्ध स्थापना गर्नुपर्नेछ। स्थानीय तहदेखि केन्द्रसम्म जनसंवाद कार्यक्रम सञ्चालन गर्नु, सेवा प्रवाहमा सुधार ल्याउनु र जनताको गुनासो सुन्ने प्रभावकारी संयन्त्र विकास गर्नु अत्यावश्यक छ। जब पार्टी जनतासँग जोडिन्छ, तबमात्र संगठन बलियो बन्छ। प्रतिपक्षको जिम्मेवारीमा खरो उत्रिँदै आगामी दिनमा ऐतिहासिक रूपमा विकल्प कांग्रेस नै हो भन्ने सिद्ध गर्ने बेला हो यो। हाल कांग्रेस प्रमुख प्रतिपक्षी भूमिकामा हुँदा यो केवल आलोचना गर्नेमात्र होइन, विकल्प प्रस्तुत गर्ने जिम्मेवारी पनि हो। सरकारका गलत कामको तथ्यसहित विरोध, राम्रो काममा समर्थन, वैकल्पिक नीति र कार्यक्रम प्रस्तुत गर्नाले नै यसले पार्टीलाई जिम्मेवार र परिपक्व शक्ति बनाउँछ। त्यसका लागि पार्टी आफै बलियो र एक ढिक्का हुन आवश्यक छ।
अर्थात्, हाल कांग्रेस प्रमुख प्रतिपक्षी भूमिकामा रहेको सन्दर्भमा यसको जिम्मेवारी अझ बढेको छ। प्रतिपक्षको भूमिका केवल आलोचना गर्ने होइन, विकल्प प्रस्तुत गर्ने पनि हो। सरकारका कमजोरीहरूको तथ्यसहित विरोध गर्दै राम्रो काममा समर्थन जनाउने र वैकल्पिक नीति प्रस्तुत गर्ने परिपक्वता देखाउन सकेमा कांग्रेस एक जिम्मेवार र विश्वसनीय राजनीतिक शक्तिका रूपमा स्थापित हुन सक्छ। आज नेपाली कांग्रेस एक निर्णायक मोडमा उभिएको छ। एकातिर आन्तरिक विवाद, नेतृत्व संकट र जनअसन्तुष्टि छन् भने अर्कोतिर ऐतिहासिक विरासत, संगठनात्मक आधार र जनविश्वास पनि छन्। १५औं महाधिवेशनले यी दुईबीचको दूरी कम गर्दै नयाँ ऊर्जा दिन सक्ने क्षमता राख्छ। यदि एकता कायम गर्न सकियो, प्रक्रिया निष्पक्ष बनाउन सकियो, नीति स्पष्ट गर्न सकियो र नयाँ पुस्तालाई नेतृत्वमा समावेश गर्न सकियो भने कांग्रेस पुनः देशको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुन सक्छ।
प्रतिक्रिया दिनुहोस !