सात महिनापछि कोशी खेलकुद बोर्डले पायो नेतृत्व
विराटनगर : कोशी प्रदेश खेलकुद विकास बोर्डले सात महिनापछि नयाँ सदस्य सचिव पाएको छ । प्रदेश सरकारले सुनसरीको इनरुवाका विप्लव घोषलाई बोर्डको सदस्य सचिव नियुक्त गरेको हो ।
सरकारले बुधबार राति सदस्य सचिवसहित पदाधिकारी र सदस्य गरी ११ जनाको नियुक्ति गरेसँगै लामो समयदेखि रिक्त रहेको बोर्डले पूर्णता पाउने प्रक्रिया अघि बढेको छ । लामो समयदेखि बोर्ड नेतृत्वविहीन हुँदा खेलकुदका गतिविधि ठप्प बनेका थिए । इनरुवा नगरपालिका–३ निवासी घोष खेलकुद क्षेत्रमा पुराना अनुहारका रूपमा परिचित छन् । उनी कराँतेका पूर्व राष्ट्रिय खेलाडी हुन् भने क्रिकेट गतिविधिमा पनि लामो समयदेखि सक्रिय रहँदै आएका छन् ।
घोषले हरेक वर्ष सुनसरीमा एमएम कप एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएका छन् । उक्त प्रतियोगितामा विदेशी टोली समेत सहभागी हुँदै आएका छन् । करिब साढे तीन दशकदेखि खेलकुद क्षेत्रमा सक्रिय रहेका घोषलाई सामाजिक विकासमन्त्री रामप्रसाद महतोले प्रदेश खेलकुद ऐन, २०७६ तथा प्रदेश खेलकुद (पहिलो संशोधन अध्यादेश–२०८३ समेत)को दफा ११ को उपदफा (१) बमोजिम सदस्यसचिव नियुक्त गरेका हुन् ।
मन्त्रालयले जारी गरेको नियुक्तिपत्रअनुसार घोषको कार्यकाल २०८३ जेठ १३ गतेदेखि लागू भएर ४ वर्षको रहनेछ । उनी नेकपा (एमाले) निकट मानिन्छन् । प्रदेश खेलकुद विकास बोर्डमा यस पटक सत्ता साझेदार दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच राजनीतिक भागबन्डाका आधारमा नियुक्ति गरिएको बताइएको छ । सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार गठबन्धनभित्रको शक्ति सन्तुलन मिलाएर सूची तयार पारिएको हो ।सोहीअनुसार एमालेको भागमा सदस्य सचिवसहित पाँच जना र कांग्रेसको भागमा छ जना परेका छन् ।
सरकारले केही समयअघि मात्रै प्रदेश खेलकुद (पहिलो संशोधन) अध्यादेश–२०८३ जारी गरेर बोर्डको संरचना विस्तार गरेको थियो । उक्त अध्यादेशमार्फत बोर्डमा उपाध्यक्ष र सदस्यहरूको संख्या बढाइएको हो । यसअघि एक जना मात्रै उपाध्यक्ष रहने व्यवस्था रहेकामा अब महिला र पुरुष गरी दुई जना उपाध्यक्ष राख्ने प्रावधान बनाइएको छ ।
नयाँ संरचनाअनुसार महिला उपाध्यक्षमा एमालेबाट विराटनगरकी सन्तोषी श्रेष्ठ नियुक्त भएकी छन् भने पुरुष उपाध्यक्षमा नेपाली कांग्रेसका वसन्त अर्याल चयन भएका छन् । त्यस्तै सदस्यहरूमा एमालेका तर्फबाट बिना बस्नेत, केशव भट्टराई र किशोर विक्रम साह नियुक्त भएका छन् । नेपाली कांग्रेसको कोटाबाट टीकाराम पुरी, रोशनी राई, दुर्गा कठायत, विश्वराज राई र बालजित राईलाई बोर्ड सदस्य बनाइएको छ ।
प्रदेश सरकारले बोर्डको संरचना विस्तार गरेपछि खेलकुद क्षेत्रमा राजनीतिक प्रभाव अझ बढाइएको टिप्पणी समेत सुरु भएको छ । यसअघि सीमित संरचनामा रहेको बोर्डमा अहिले पदाधिकारी र सदस्यहरूको संख्या उल्लेख्य रूपमा बढाइएको छ । आलोचकहरूले राजनीतिक भागबन्डा मिलाउनकै लागि संरचना विस्तार गरिएको आरोप लगाइरहेका छन् । मन्त्रालय स्रोतका अनुसार आगामी दिनमा थप सदस्यहरू नियुक्त गर्ने तयारी भइरहेको छ । त्यसका लागि आन्तरिक गृहकार्य सुरु भइसकेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !