घर बचाउन आन्दोलनको घोषणा
महोत्तरी : गौशाला नगरपालिकाले कित्ता नं. ११५, ११६ र ११७ नम्बरको जग्गामा निर्मित घर भत्काउने अन्तिम तयारी गरिरहेको समयमा स्थानीयहरू बचाउन सशक्त भूमिका निर्वाह गरेका छन्। गौशाला नगरपालिकाको कार्यालयले पछिल्लो समयमा उठाउँदै आएको कदमको विरोधमा स्थानीयहरूले क्रमिक रूपमा आन्दोलन परिचालन गर्नका लागि समिति गठन गरिएको छ।
शनिबार बसेको बैठकले स्थानीय देवनारायण महतोको अध्यक्षतामा १६ सदस्यीय संघर्ष समिति गठन गरिएको हो। हिजो नगरको निर्णयको विरोधमा नाराबाजी गरेका स्थानीयहरूले आजदेखि संघर्ष समितिमार्फत आन्दोलन परिचालन गरिने निर्णय गरिएको समितिका सदस्य नरेश सिंह कुशवाहाले बताए। उनले भने, ‘वर्षौदेखि आवासीय रूपमा आफूहरू यहाँ बस्दै आएको छु। यस जग्गामा निर्मित घर हटाउनका नगरले चालेको अवैधानिक कदमको विरोधमा अब आन्दोलनको परिचालन भइसकेको छ।’
उक्त संघर्ष समितिले आइतबार बिहान ७ बजेदेखि बिहान १० बजेसम्म बजार बन्द गरी विरोध गरिने स्थानीय जगदिश प्रसाद गुप्ताले जानकारी दिए। क्रमिक रूपमा आन्दोलनको कार्यक्रम घोषणा गरी उक्त निर्णय फिर्ता गराउनका लागि नगरलाई बाध्य तुल्याउने गुप्ताले बताए। गौशाला बजारको कित्ता नं. ११५ मा ३४ घरपरिवार बसोबास गर्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस !