नगरको निर्णय विरुद्ध व्यापारीहरु आन्दोलित
गौशाला : गौशाला नगरपालिकाको निर्णयको विरोध गर्दै स्थानीय व्यापारीहरूले टायर बालेर बजार बन्द गराएका छन्। आइतबार बिहान ७ बजेदेखि बिहान ११ बजेसम्म बजार बन्द गरी विभिन्न चोकहरूमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन्।
स्थानीयले देवनारायण महतोको अध्यक्षतामा गठित १५ सदस्यीय संघर्ष समितिको आह्वानमा नगरको निर्णयविरुद्ध आन्दोलन गरिएको हो। यसअघि स्थानीयवासीले शुक्रबार र शनिबार गौशाला बजार क्षेत्रमा ब्यानर तथा प्लेकार्डसहित विरोध प्रदर्शन गरेका थिए। नगरपालिकाले घर भत्काउने तयारी थालेको भन्दै स्थानीयवासीले त्यसप्रति असन्तुष्टि जनाएका हुन्।
यस सम्बन्धमा गौशाला नगरपालिकाका मेयर डा. दीपेन्द्र महतोका अनुसार जिल्ला प्रशासन कार्यालयबाट आएको उक्त निर्देशनात्मक पत्र प्राप्त भएलगत्तै सोहीअनुसार आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ। मेयर महतोले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ (ख) बमोजिम सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने अधिकार तथा कर्तव्य स्थानीय तहलाई रहेको उल्लेख गर्दै सोही कानुनी व्यवस्थाअनुसार नगरपालिकाले प्रक्रियागत रूपमा अगाडि बढ्ने स्पष्ट पारेका छन्।
गौशाला बजारस्थित कित्ता न. ११५ मा हाल ३४ घरपरिवार ५० औं वर्षदेखि बसोबास गर्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस !