नगर समिति चयनका विषयमा रास्वपामा विवाद, २ सांसदबीच भनाभन
परासी : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)नवलपरासीमा विवाद देखिएको छ। रामग्राम नगर समितिको अधिवेशनका क्रममा यो विवाद अझ सतहमा आएको छ। नगर समिति चयनका विषयमा प्रतिनिधि सभा सदस्य विक्रम खनाल र नरेन्द्रकुमार गुप्ताबीच भनाभन नै भएको बताइएको छ। जसका कारण दुई दिनसम्म लम्बिएको अधिवेशनसमेत हुन सकेन।
खनाल र गुप्ताले आ–आफ्ना निकटका व्यक्तिलाई नगर सभापति बनाउने पक्षमा थिए। दुई सांसदको विवादका कारण नयाँ समिति चयन हुन नसकेको अधिवेशनमा पुगेका एक कार्यकर्ताले बताए। सांसद खनाल र कार्यवाहक जिल्ला अध्यक्ष रवि पाण्डे सर्वजित तिवारीलाई सभापति बनाउने पक्षमा थिए।
पहिला रवि पाण्डे नगर सभापति थिए। उनी जिल्ला उपाध्यक्षसहित कार्यवाहक भएपछि नगरको जिम्मेवारी तिवारीलाई दिइएको थियो। तिवारीलाई नै सभापति बनाउने लबिङ गरे पनि अर्का सांसद गुप्ताले दिलीप गिरीलाई अघि सारेपछि सहमति हुन नसकेको एक कार्यकर्ताले बताए। सहमति हुन नसकेपछि सर्वजित तिवारीकै तदर्थ समितिलाई कायम गरिएको कार्यवाहक अध्यक्ष पाण्डेले बताए।
स्रोतका अनुसार दोस्रो दिनको छलफलका क्रममा दुवै सांसदबीच भनाभन समेत भएको थियो। एक कार्यकर्ताका अनुसार सांसद गुप्ताले ‘तपाईं आफ्नो क्षेत्र (बर्दघाट)छाडेर किन यहाँ आएको ? ’ भन्दै प्रश्न गरेपछि खनालले ‘ म पुरै जिल्लाको हो प्रतिनिधि हुँ ’ भन्दै प्रतिवाद गरेका थिए। त्यसपछि दुवै पक्षका समर्थकबीच पनि चर्काचर्की भएको बताइएको छ।
खनाल क्षेत्र नम्बर १ र गुप्ता २ बाट निर्वाचित भएका हुन्। दुवै सांसद निर्वाचन मनोनयनको अघिल्लो दिन नेपाली कांग्रेस छाडेर रास्वपाबाट निर्वाचन लडेका थिए। यता पार्टीका केही पुराना नेता तथा कार्यकर्ताले संस्थापक तहका कार्यकर्ताभन्दा पछिल्लो समय पार्टीमा प्रवेश गरेका व्यक्तिहरूको चुरीफुरी बढेको भन्दै असुन्तुष्टि व्यक्त गरेका थिए।
कार्यवाहक अध्यक्ष पाण्डेले कुनै विवाद नभएको दाबी गरे। ‘उहाँहरुले तालमेल र समन्वय गरिरहनु भएको थियो, बाहिर आएजस्तो मतभेद होइन। समय कम भएकाले सहमतिको प्रयास गर्दा गर्दै पनि नसकिएर स्थगित गर्नुपरेको हो, ’ पाण्डेले दाबी गरे।
अधिवेशनअन्तर्गत अन्य ६ पालिकामा नयाँ समिति गठन गरिएको छ। प्रतापपुरबाहेक अन्य पालिकामा सर्वसम्मत समिति चयन भएको कार्यवाहक अध्यक्ष पाण्डेले जानकारी दिए। यसैबीच जेठ २४ गते तोकिएको जिल्ला अधिवेशनमा ३ सय प्रतिनिधि सहभागी हुँदै छन्। वडा हुँदै उनीहरू चुनिएर आइसकेका छन्। अधिवेशन हुने स्थान भने केही दिनमा तय गरिने रास्वपा जिल्ला समितिले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !