कर्णालीको भीरमा अड्किएकालाई उद्धार गर भन्नु राजनीतिकरण होइन : ज्ञानेन्द्र शाही
काठमाडौं : राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कर्णालीको नदी किनारको भिरमा अड्किएका नागरिकको उद्दारको माग गर्नु राजनीतिकरण नभएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा नेता शाहीले नागरिकको उद्धारको माग गर्दा गृहमन्त्रीले यसलाई राजनीतिकरण गरियो भनी दिएको जवाफ आपत्तिजनक रहेको समेत बताए । उनले पानी बाँड्न गएको हुँ भन्ने पोशाक लगाएका विद्यार्थीलाई ढाल बनाएर, लासको सिंढी चढेर राज्य सत्तामा पुग्ने गतिविधिलाई राजनीतिकरण भनिने भन्दै गृहमन्त्रीलाई जवाफ दिए ।
संसद् भवन र सांसदहरू चाहिँदैन भन्दै आगो लगाउने, तर पछि त्यही संसद्को चुनाव लड्ने प्रवृत्ति राजनीतिकरण भएको उनको भनाइ छ । उनले आफैं सरकारमा बस्ने, आफैंका कार्यकर्ता लगाएर सञ्चार माध्यम र प्रतिपक्षका घर अगाडि अवैधानिक पार्किङ गराउने र त्यसको भिडियो बनाएर मिडियाबाजी गर्ने काम राजनीतिकरण भएको तर्क गरे । उनले देशको भौतिक संरचनामा आगो लगाउँदै, सिंहदरबार खरानी बनाएर नभइ जनताको सेवा गरेर राजनीतिमा आएको धारणा राखे ।
प्रतिक्रिया दिनुहोस !