हेपाटाइटिस सीको निःशुल्क उपचार गर्ने तयारी

हेपाटाइटिस सीको निःशुल्क उपचार गर्ने तयारी


काठमाडौं: सरकारले 'हेपाटाइटिस सी' का बिरामीको उपचार निःशुल्क गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ। यसले गर्दा संक्रमण वा अन्य कारणले कलेजो सुन्निने रोग हेपाटाइटिस सीका बिरामीको समयमै उपचार नपाएर ज्यान जाने क्रम अब रोकिने भएको छ।

समयमै उपचार गरे हेपाटाइटिस सी निको हुने निष्कर्ष निकाल्दै सरकारले निःशुल्क उपचार गर्ने तयारी गरेको हो। यसका लागि स्वास्थ्य मन्त्रालयले सम्बन्धित चिकित्सक र सरोकारवालासँग छलफल गरिरहेको छ।


हेपाटाइटिस सीको उपचारमा एकरूपता ल्याउन र विशेषज्ञ चिकित्सकबाट मात्रै उपचार गराउने पद्धतिको विकास गर्न सरकारले राष्ट्रिय उपचार निर्देशिका पनि आइतबार सार्वजनिक गर्ने भएको छ। यससँगै हेपाटाइटिस सीको उपचार निःशुल्क गर्ने तयारी गरिएको हो।

वीर अस्पतालका कलेजो रोग विशेषज्ञ एवं उक्त निर्देशिका तयार पार्न गठित समितिका सदस्य डा. दिलीप शर्माले हेपाटाइटिस सी भएका बिरामीको निःशुल्क उपचार गर्न सरकारले चिकित्सक, दातृ निकायलगायतसँग छलफल गरिरहेको बताए।

आर्थिक अभावले कयौं बिरामीले समयमै उपचार नपाउँदा हेपाटाइटिस बिग्रिएर कलेजो कडा हुने, क्यान्सर हुनेलगायत समस्या उत्पन्न भएर ज्यान गुमाउने गरेका छन्। कतिपयलाई यसबारे जानकारीसमेत छैन।


सरकारले हेपाटाइटिसको उपचार निःशुल्क गरेमा एक बिरामीको उपचारका लागि एक लाख २० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ। सुषुप्त हत्याराका रूपमा चिनिएको हेपाटाइटिस सीबाट नेपालमा करिब एक लाख ५० हजार मानिस ग्रसित भएको अनुमान छ। हेपाटाइटिसका पाँच प्रकारमध्ये सी सबैभन्दा घातक मानिन्छ।

रगतजन्य पदार्थबाट एकअर्कामा सर्ने हेपाटाइटिस सी हुँदा सुरुमा कुनै लक्षण देखिँदैन। प्रभावकारी एन्टिभाइरल औषधिको माध्यमले यो रोग निको पार्न सकिन्छ। नेपालमा हेपाटाइटिस सीका बिरामी बढ्दै गएका छन्।

विशेषगरी विदेश जानेहरूले स्वास्थ्य जाँच गर्दा हेपाटाइटिस सी पुष्टि भएपछि अस्पताल धाउनेको संख्या बाक्लिँदै गएको छ। ‘हेपाटाइटिस सी सम्बन्धित चिकित्सकबाट समयमै उपचार गरे निको हुने विज्ञानले नै पुष्टि गरिसकेको छ', शर्माले भने, ‘यो करिब तीनदेखि ६ महिनासम्म औषधि खायो भने निको हुन्छ। तर यसका लागि बिरामी र चिकित्सक दुवैले विशेष ध्यान दिनुपर्छ।'

हेपाटाइटिस सी बिग्रिएर क्यान्सर भएका बिरामीलाई सरकारले यसअघि नै एक लाख रुपैयाँबराबरको उपचार निःशुल्क गरिसकेको छ। क्यान्सर भइसकेपछि उपचारमा लाखौं रकम खर्चे पनि निको नहुने भएकाले त्यसअघि नै सरकारले निःशुल्क उपचार गर्नुपर्ने भन्दै चिकित्सकले लामो समयदेखि आवाज उठाउँदै आएका थिए।

विश्व स्वास्थ्य संगठनले दक्षिणपूर्व एसियाका नेपालसहित ११ मुलुकमा हेपाटाइटिस सीका बिरामी बढिरहेकाले यसको रोकथामका लागि समयमै ठोष कदम चाल्नुपर्ने आवाज उठाइरहेको छ।रगत परीक्षण गरेर यो रोग पत्ता लगाउन सकिन्छ।

चिकित्सकले क्रोनिक हेपाटाइटिस सीको सम्भावना देखिए कलेजोको बायोप्सीसमेत गर्छन्। हेपाटाइटिस सी ग्रस्त व्यक्तिको रगत चढाउनाले, धेरैजनासँग शारीरिक सम्बन्ध राख्नाले, सिरिन्जको माध्यमबाट जथाभाबी रगत लिनेदिने गर्नले, शरीरमा टाटु खोपाउनले, अर्काको रेजर उपयोग गर्नाले यो रोग सर्ने सम्भावना हुन्छ।

लागूऔषध प्रयोगकर्तालाई सबैभन्दा बढी हेपटाइटिस सी हुने गरेको अनुसन्धानहरूले देखाएका छन्। कलेजो रोग भएकाहरूलाई पनि हेपाटाइटिस सी हुने जोखिम बढी हुन्छ। चिकित्सकका अनुसार प्रारम्भिक चरणमा हेपाटाइटिस सी पत्ता लगाउन सकिए ९५ प्रतिशत मानिस निको हुन्छन्।

छालाको रङ पहेंलो हुनु, कमजोर देखिनु, भोक कम लाग्नु, थकाइ अनुभव हुनु, वाकवाकी लाग्नु, पेट दुख्नुलगायत यो रोगका प्रमुख लक्षण हुन्। हेपाटाइटिस सी बिरामीसँगै बस्ने अन्य व्यक्तिले पनि यो रोगको समयसमयमा परीक्षण गराउनुपर्ने चिकित्सकको सल्लाह छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.