ब्राजिलको नयाँ प्रशिक्षकमा टिटे
रियो दी जेनेरियो: कोपा अमेरिकामा टोलीको खराब प्रदर्शनपछि प्रशिक्षक डुंगालाई पदबाट हटाएको ब्राजिलले नयाँ प्रशिक्षकका रूपमा टिटेलाई नियुक्त गरेको छ। ब्राजिल फुटबल संघले बुधबारमात्र प्रशिक्षक डुंगालाई बर्खास्त गरेको थियो।
एडनर लियोनार्दो बाच्ची वास्तविक नाम रहेका टिटेलाई डुंगाको बर्खास्तीसँगै नयाँ प्रशिक्षकका रूपमा हेरिएको थियो। ब्राजिल फुटबल संघले डुंगासँगै उनको पूरा प्राविधिक टोलीलाई बर्खास्त गरेको थियो।
ब्राजिल पेरुसँग पराजित भएपछि जारी कोपा अमेरिकाको पहिलो चरणबाटै घर फर्किएको थियो। दक्षिण अमेरिकाको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कोपा अमेरिका खेल्न थालेको एक सय वर्ष पुगेको अवसरमा यसपटक अमेरिकामा यो प्रतियोगिताको विशेष संस्करण आयोजना भइरहेको छ।
आसन्न ओलम्पिक खेलकुदमा भने ब्राजिललाई यू-२० राष्ट्रिय टोलीका प्रशिक्षक मिकेलले प्रशिक्षण गर्ने ब्राजिल फुटबल संघले जनाएको छ। ब्राजिलले ओलम्पिक खेलकुदमा अहिलेसम्म उपाधि जित्न सकेको छैन।
त्योभन्दा ठूलो कुरा यति बेला ब्राजिललाई सन् २०१८ मा हुने विश्वकपका लागि छनोट अभियानमा लय समाउनु रहेको छ। गत विश्वकपको सेमिफाइनलमा जर्मनीसँग ७-१ गोलले पराजित भएपछि ब्राजिलले टोलीको पुरानो साख फर्काउन डुंगालाई प्रशिक्षक नियुक्त गरेको थियो।
टिटे यसअघि ब्राजिलकै क्लब कोरिनथियन्समा प्रशिक्षक थिए।'टिटे अब कोरिनथियन्सको प्रशिक्षक रहेनन्। उनले ब्राजिलको राष्ट्रिय टोलीका लागि भएको अफर स्वीकार गरेका छन्', कोरिनथियन्सका अध्यक्ष रोबर्टो डे आन्द्रेडले भनेका छन्। ५५ वर्षीय टिटेले ब्राजिलका ठूला क्लबमा प्रशिक्षण गरिसकेका छन्।
उनको प्रशिक्षणमा साओ पाउलोले सन् २०११ र सन् २०१५ मा ब्राजिलको घरेलु लिगको उपाधि जितेको थियो भने सन् २०१३ मा महादेशीय क्लब प्रतियोगिता जितेको थियो। टिटेलाई आवश्यकताअनुसार तत्काल रणनीति बनाएर नतिजा उल्टाउनसक्ने प्रशिक्षकका रूपमा लिइन्छ। ब्राजिल अहिले विश्वकप छनोटअन्तर्गत महादेशीय छनोटमा छैटौं स्थानमा छ।
विश्वकप खेल्न कम्तीमा शीर्ष पाँचमा आउनुपर्छ। चर्चित खेलकुद कोलमिस्ट जुका फ्युरीले टिटे ब्राजिलको राष्ट्रिय फुटबल प्रशिक्षक बन्न योग्य भए पनि ब्राजिलको अन्तर्राष्ट्रिय फुटबलमा देखिएको समस्या प्रशिक्षक परिवर्तन गरेर समाधान नहुने बताउँछन्।
चोटले थलिएपछि टिटेले २८ वर्षको उमेरमा खेलाडी जीवन छाडेर प्रशिक्षण रोजेका थिए। उनले सिनियर राष्ट्रिय टोलीबाट खेल्ने अवसर भने पाएनन्।