‘मधेस आन्दोलन लम्बिनु देशका लागि खतरा
![‘मधेस आन्दोलन लम्बिनु देशका लागि खतरा](https://annapurnapost.prixacdn.net/media/albums/5766a6b048e661.53003158_i0cenxvana.jpg)
रामबाबु यादब
सिरहः कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेस आन्दोलन लम्बिनु देशका लागि खतरा भएको बताएका छन् ।
कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवका पति चन्द्रनारायण यादवको १६ औँ पुण्यतिथीको अवसरमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै पौडेलले भने, ‘मधेस आन्दोलनलाई धेरै लम्ब्याउनु हुँदैन । आन्दोलन लम्बिए देशकै लागि खतरा हुन्छ ।'
नेता पौडेलल मधेसवादी दललाई आन्दोलन छोडेर वार्तामा आउन आह्वान समेत गरे । पौडेलले भने, ‘मेरो अनुरोध छ, तपाईहरु वार्तामा आउनुहोस् र मधेशका जायज मागमा मेरो पनि समर्थन रहने छ ।'
उनले देशमा एकता हुने अवस्था आउने हो भने अहिलेको संविधानलाई जतिसुकै संशोधन गरे पनि फरक नपर्ने उल्लेख गर्दै राष्ट्रिय एकताका लागि मधेसवादी दलको भूमिका पनि महत्वपूर्ण हुने बताए ।
नेता पौडेलले लोकतन्त्रलाई तल्लो तहबाटै स्थापित गर्न स्थानीय निकायको निर्वाचन जति सक्दो चाँडो गर्नुपर्ने समेत जोड दिए ।
‘मुलुक अझै संक्रमणकालिन अवस्थामै गुज्रिरहेकोले छ । यो अवस्थालाई चिर्न सबै पक्षलाई मिलाएर जतिसक्दो चाँडो स्थानीय निर्वाचनमा जानुपर्छ ।'
पौडेलले अहिलेको खाँचो सहमति, एकता र राजनीतिक स्थिरता भएको बताउँदै राजनीतिक स्थायित्वका लागि आफू लागि परेको बताए ।
स्मृति सभामा बोल्दै कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले मधेशको उपलब्धि पनि लोकतन्त्रकै उपलब्धिको एउटा अभिन्न अङ्ग भएको प्रष्ट पारिन् ।
उनले मधेशका समस्याको यथाशीघ्र सम्बोधन गर्न सरकारसँग माग समेत गरिन् । कार्यक्रममा धनुषाका सांसद चन्द्रमोहन यादवले मधेशका मुद्दालाई नजरअन्दाज गर्न नमिल्ने बताउँदै पटक पटक भएको बन्द र हड्तालले मधेशको आर्थिक गतिविधि र व्यवसाय चौपट भएकोमा चिन्ता व्यक्त गरे ।
स्मृति सभामा सहीद चन्द्रनारायण यादव मेमोरियल ट्रष्टबाट प्रदान गरिएको १० वटा ह्विल चेयर वरिष्ठ नेता पौडेलले भिन्न क्षमता भएका व्यक्तिहरुलाई हस्तान्तरण गरे ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)