वीरगञ्जका चिकित्सकको आन्दोलन फिर्ता
वीरगन्जः शुक्रबारदेखि बिरामीको उपचार सेवा नै ठप्प पारेर हडतालमा उत्रिएका वीरगन्जका चिकित्सकले सोमबार दिउँसोदेखि आन्दोलन स्थगित गरेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोग लगायतका सहयोगी संघसंस्थाको आग्रहमा आन्दोलनरत चिकित्सकले आन्दोलन स्थगित गरेका हुन् ।
वीरगन्जमा सोमबार बसेको नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाको बैठकले चार दिनदेखि जारी आन्दोलन रोक्न विभिन्न संघसंस्थाले गरेको आग्रहलाई स्वीकार गर्दै आन्दोलन फिर्ता लिएको हो ।
चिकित्सकको आन्दोलनले बिरामीलाई परेको मर्कालाइ ध्यानमा राख्दै राष्ट्रिय मानव अधिकार आयोग, स्थानीय प्रशासन, नेपाल चिकित्सक संघ केन्द्रीय कार्य समितिले आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए ।
संघको बैठकले नेपाल चिकित्सक संघ केन्द्रीय कार्य समितिसँग समन्वय गरि सीआईबीको कार्यशैलीको विरोध गर्ने निर्णय पनि गरेको नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाका निमित्त अध्यक्ष डाक्टर प्रमोद सर्राफले बताए ।
संघले आन्दोलन स्थगित गर्ने निर्णय गरेसँगै हडतालमा रहेका डाक्टर अस्पताल फर्किएका छन् ।
यसअघि चिकित्सक संघले सीआईबीले पक्राउ गरेका डाक्टरलाई २४ घण्टा भित्र बिना शर्त रिहा नगरिए वीरगन्जका सरकारी र निजी अस्पतालका आकस्मिक उपचार सेवा पनि ठप्प पार्ने चेतावनी दिँदै आइतबार प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाएको थियो ।
सिआईबीले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सकीय अभ्यास गर्दै आएको भन्दै गत शुक्रबार सीआईबीले वीरगञ्जबाट मात्र नौजना डाक्टर पक्राउ गरेको थियो ।