किन चल्यो ‘कालो पोथी

किन चल्यो ‘कालो पोथी

फिल्म
मीन भाम निर्देशित फिल्म ‘कालो पोथी'ले तीन सातामा अढाई करोड नेट आम्दानी गर्‍यो । बक्स अफिसमा पैसा छाप्ने उछाल तेस्रो साता पनि जारी छ । समीक्षा र अंकगणित दुवै पक्षमा अब्बल देखियो ।

फिल्मलाई भारतीय र युरोपेली आँखाबाट हेर्ने दुई मान्यताबीच बहस पनि उठेको छ । आख्यानलाई ‘डकुमेन्ट्री' शब्दावलीको ननसेन्स माला लगाउने प्रयत्न पनि भए । वाद र सिद्धान्त थोपरिए ।

चोरी र प्रभावका प्रत्यारोप टाइमलाइनमा पोखिए । यति बेला अग्र्यानिक शब्द निकै क्वाइन भइरहेको छ । आलेखको उद्देश्य समीक्षाभन्दा फिल्म किन चल्यो भन्ने उत्तरको खोजीमा केन्द्रित हुनेछ ।

नेपाली समाजले पचास वर्षमा फिल्मलाई भारतीय आँखाबाट हेर्‍यो । यो दृष्टिकोण ‘अन्डर-करेन्ट' छ । भारतीय आँखा भन्नुको अर्थ दर्शन, शैली, संरचना र उद्देश्य पूरै दक्षिणायान हुनु हो । फिल्मलाई यसरी व्याख्या गर्नेको आवाज सशक्त, चर्को र प्रभावशाली छ ।

विडम्बना, काठमाडौंमा भारतका प्रान्तीय फिल्मको काउन्ट-डाउनदेखि मिडिया कभरेज सुरु हुन थालेको छ । त्यो सशक्त मान्यतामाथि ‘कालो पोथी'ले प्रहार गरेको हो । प्रहारको ‘साइड-इफेक्ट' सुरु हुन थालेको छ ।

‘कालो पोथी'ले कथा वाचन परम्परामा नवीन शैली थालेको छ । फिल्म हेर्दा हामीलाई इरान, ल्याटिन अमेरिका र कतिपय चिनियाँ फिल्मजस्तो पोएटिक न्यारेसन महसुस हुन्छ ।

अब्बास कुरुस्तामी, आन्द्रे तार्कोस्कीको प्रभाव ग्रहण लाग्छ । बलिउड स्वाद तिख्खर लाग्ने घरेलु दर्शकलाई यो जैविक स्वाद नितान्त नवीन, सरस र अभूतपूर्व लाग्यो । बलिउड र हलिउड मनोविज्ञान विच्छेदतर्फको श्रीगणेश थियो हो । अब हामी युरोपेली मोडेलतर्फ सुखद संक्रमित हुँदैछौं ।

युरोपेली मोडेल भन्नुको अर्थ प्रभाव ग्रहण होइन, नेपाली समाज र फिल्म साहित्यलाई अझै बलशाली तुल्याउनु हो । युनिभर्सल अपिल सिर्जना गर्नु हो । घरेलु ब्रान्ड निर्माण गर्नु हो ।

आधा शताब्दीमा नेपाली फिल्म सेटिङ र व्याकरणमा चुक्यो । सेटिङको अर्थ आञ्चलिकता, पात्र स्थापना, मनोविज्ञान, परिवेश, समय, स्थान सबैको डिटेलिङ हो । ‘कालो पोथी'ले आफूलाई व्याकरणमा अब्बल तुल्याउन सकेन तर, यससँग बलशाली सेटिङ छ । आमनेपाली फिल्मको समस्या द्वन्द्वको विकास नहुनु हो।

संसारमा अर्बौं फिल्म बन्छन् । एक अर्कासँग प्रभावित हुनु स्वाभाविक हो । आरोपको रबर तन्काउने हो भने संसारमा एउटा पनि मौलिक फिल्म छैनन्, त्यो दुई सय वर्षको हलिउड होस् वा सय वर्षको बलिउड र नाइजेरियन नलिउड ।

यो समस्याले ‘कालो पोथी'समेत शिथिल छ तर, सेटिङको सशक्ततामा व्याकरणले फिल्मलाई कमजोर हुन दिएको छैन । सेटिङको अर्थ यहाँ स्थान र परिवेशसँग छायांकन, पात्र र ध्वनिको तादात्म्यतालाई भन्न खोजिएको हो ।

सन् २००९ को संकटकाल फिल्म परिवेश हो । हरिशरण लामिछानेले वाचन गर्ने हेडलाइन, बर्दीधारी छापामार र सेना, दुई बाल पात्रको स्वाभाविक अभिनय, राजेश-करिश्मा क्रेज नै किन नहन्, ‘कालो पोथी'को यो सेटिङले दर्शकलाई भूगोलभित्रै छिराइदिन्छ ।

दर्शकले पात्रसँग अपनत्व महसुस गर्छन् । पात्रभित्रै दर्शक छिरे के होला ? यसको उत्तर ‘कालो पोथी' हो । कतिपय अग्र्यानिक क्वाइन गरिएका नेपाली फिल्मसँग आञ्चलिताको रूप त थियो तर सार थिएन । ‘कालो पोथी' रूप र सारको संयोजन हो ।

पश्चिमा क्रिटिक्सको संश्लेषण थियो, ‘कालो पोथी' द्वन्द्वलाई लिएर तटस्थ छ । बिलकुल सही हो । सिनेमा राजनीतिको यो सन्तुलन पाठमात्र होइन, द्वन्द्वलाई नागरिकले हेर्ने आँखीझ्याल हो । निर्देशकले माओवादी वा सरकार कसैको पक्ष लिएका छैनन् । बरु हिमाली सौन्दर्यमुनि द्वन्द्वले विस्थापित मानवीय क्याराभानका सुन्दर सट् बुनेका छन् ।

यो कम्पोजिसनलाई सिनेमा उपलब्धिको रूपमा लिन सकिन्छ । बितेको दशकमा माओवाद वा राष्ट्रवादका मुद्दामा टन्नै फिल्म बने । ती फिल्ममा सिनेमा एस्थेटिकभन्दा दलीय एजेन्डा थिचिएका थिए । यिनले द्वन्द्वको सपाट् चित्र कोरेनन्, बरु दर्शकलाई विभाजित तुल्याए । ‘कालो पोथी'ले दर्शकलाई आस्थाका आधारमा विभाजित भने गरेन ।

ध्वनि प्रयोगका हिसाबले ‘कालो पोथी' स्मरणीय हुनेछ । ध्वनिलाई फ्रेमभित्रका दृश्यका लागि मात्र भनेर सोच्यौं । तर, हुनुपर्ने ३६० डिग्री हो । प्राविधिकले ध्वनिमार्फत दर्शकलाई परिवेश मनोविज्ञान महसुस गराउन भूमिका खेलेका छन् । फ्रेमभित्र मात्र ध्वनि सीमित छैन ।

फ्रेमपछाडिको परिवेश कस्तो छ भन्ने कुरालाई महसुस गराइदिएका छन् । कथाको गतिसँगै रेडियो नेपालमा बज्ने समाचारका हेडलाइनले फ्रेममा बाहिर भए पनि परिवेश, आञ्चलिकता, मनोविज्ञान र द्वन्द्वको गतिलाई महसुस गराएको छ ।

क्यामेरा यसको अर्को सशक्तता हो । ताजिकिस्तानका सिनेम्याटोग्राफर अजिज जाम्बाकिएभले केही मिजान्सिङ सट्का सुन्दर प्रयोगमार्फत पात्रभित्रको ऐँठन, बेचैनी र उकुसमुकुसलाई फ्रेमिङ गरेका छन् ।

फिल्ममा कर्णाली ल्यान्डस्केप खिचिएको छैन बरु उनले कर्नाली जीवन बाँच्ने पात्रभित्रको संघर्ष खिचेका छन् । निर्देशकले कर्णाली सौन्दर्य होइन, नियतवश नै कर्णालीको दुःख चित्रण गरेका छन् । तर, राराताललगायतका ल्यान्डस्केप सट् विम्बपरक लाग्छन् ।

कलामा कलाकारले भोगेको अनुभव महत्वपूर्ण हुन्छ । रिलिजअगाडि निर्देशक भामले भनेका थिए, ‘मेरो सास, नशा र धड्कनमा कर्नाली छ र कर्नालीकै कथा भन्न सक्छु । मलाई काठमाडौेंको गहिराइ थाहा छैन ।

काठमाडौंमाथि फिल्म बनाएँ भने त्यो सतही हुन्छ ।' ठ्याम्मै यही अनुभवमा उनले जसरी मुगुको डिटेलिङ उतारेका छन्, काठमाडौंली निर्देशकले कथा वाचन गर्न कठिन हुन्छ । जुन जीवन भोगिएको छैन, त्यसमाथि कथा भन्नु कति न्यायपूर्ण हुन्छ ? यो प्रश्न जवानी विदेशमा बिताएका र नेपाली समाजको बदलिँदो राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिक मूल्य नबुझेका फिल्ममेकरलाई सोधिन जरुरी हुन्छ ।

नयाँ पुस्ताका फिल्ममेकरको समस्या आवरणको कपी गर्नु तर गहिराइसँग साक्षात्कार नगर्नु हो । भारत र अमेरिकी फिल्म उद्योगका मेकिङको कपी गर्नु तर ती उद्योगको जगको अध्ययन भएन । फलस्वरूप नेपाली फिल्मले मौलिक उत्पादन दिन सकेन ।

मौलिकताको आवरणमा फिल्म त बने तर ती कस्मेटिक मौलिक थिए । ‘कालो पोथी'लाई चोरीको बात लगाइयो तर यो सही होइन । संसारमा अर्बौं फिल्म बन्छन् । एकअर्कासँग प्रभावित हुनु स्वाभाविक हो । आरोपको रबर तन्काउने हो भने संसारमा एउटा पनि मौलिक फिल्म छैनन्, त्यो दुई सय वर्षको हलिउड होस् वा सय वर्षको बलिउड र नाइजेरियन नलिउड ।

समीक्षकले लेख्दै आएका थिए— अबको डेढ वर्षभित्र नेपाली फिल्मको मानचित्रमा परिवर्तन देखिनेछ । यसको सुरुआत ‘कालो पोथी'बाट सुरु भएको छ । अब रिलिज हुन लागेका ‘छायाँ', ‘दोख', ‘ह्वाइट सन', ‘त्यान्द्रो', ‘लभसासा', ‘गाँठो'बाट आशा राखिएको छ ।

यी फिल्मले ‘कालो पोथी'ले खनेको गोरेटोलाई अझै प्रशस्त गर्ने अपेक्षा छ । क्रिटिक्सले भन्दै र लेख्दै आएको कुरा भनेको सिनेमा साहित्य र दृश्यभाषाको अनुकरण भन्ने हो । हामीले जतिसक्दो चाँडो बलिउड ह्याङओभरबाट मुक्त हुनु अनिवार्य छ ।

परिवर्तनका संकेत देखिँदैछन् । सबैभन्दा बलियो संकेत— यसै साता मीनभवनमा सुरु भएको एउटा फिल्म कलेजको हो जसलाई खोलेका हुन् फिल्मलाई मनोरञ्जनको रूपमा मात्र डिफाइन गर्ने र बलिउड स्कुलमा हुर्किएका सुनील थापा, लक्ष्मीनाथ शर्मादेखि उज्ज्वल घिमिरेसम्मले ।

फिल्म पढ्नुपर्छ र दृश्य साहित्य बुझ्नुपर्छ भन्ने उनीहरूको मस्तिष्कमा आएको परिवर्तनलाई गहिरो गरी केलाउँदा यो सुखद संकेत हो । किनभने फिल्म साहित्यले भारतीय फिल्म निर्माणको सूत्र र मनोविज्ञानलाई सीधै नकार्छ बरु नेपाली समाजसँग हेलिन मद्दत गर्छ । ‘कालो पोथी' सुरुआत हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.