किन चल्यो ‘कालो पोथी
फिल्म
मीन भाम निर्देशित फिल्म ‘कालो पोथी'ले तीन सातामा अढाई करोड नेट आम्दानी गर्यो । बक्स अफिसमा पैसा छाप्ने उछाल तेस्रो साता पनि जारी छ । समीक्षा र अंकगणित दुवै पक्षमा अब्बल देखियो ।
फिल्मलाई भारतीय र युरोपेली आँखाबाट हेर्ने दुई मान्यताबीच बहस पनि उठेको छ । आख्यानलाई ‘डकुमेन्ट्री' शब्दावलीको ननसेन्स माला लगाउने प्रयत्न पनि भए । वाद र सिद्धान्त थोपरिए ।
चोरी र प्रभावका प्रत्यारोप टाइमलाइनमा पोखिए । यति बेला अग्र्यानिक शब्द निकै क्वाइन भइरहेको छ । आलेखको उद्देश्य समीक्षाभन्दा फिल्म किन चल्यो भन्ने उत्तरको खोजीमा केन्द्रित हुनेछ ।
नेपाली समाजले पचास वर्षमा फिल्मलाई भारतीय आँखाबाट हेर्यो । यो दृष्टिकोण ‘अन्डर-करेन्ट' छ । भारतीय आँखा भन्नुको अर्थ दर्शन, शैली, संरचना र उद्देश्य पूरै दक्षिणायान हुनु हो । फिल्मलाई यसरी व्याख्या गर्नेको आवाज सशक्त, चर्को र प्रभावशाली छ ।
विडम्बना, काठमाडौंमा भारतका प्रान्तीय फिल्मको काउन्ट-डाउनदेखि मिडिया कभरेज सुरु हुन थालेको छ । त्यो सशक्त मान्यतामाथि ‘कालो पोथी'ले प्रहार गरेको हो । प्रहारको ‘साइड-इफेक्ट' सुरु हुन थालेको छ ।
‘कालो पोथी'ले कथा वाचन परम्परामा नवीन शैली थालेको छ । फिल्म हेर्दा हामीलाई इरान, ल्याटिन अमेरिका र कतिपय चिनियाँ फिल्मजस्तो पोएटिक न्यारेसन महसुस हुन्छ ।
अब्बास कुरुस्तामी, आन्द्रे तार्कोस्कीको प्रभाव ग्रहण लाग्छ । बलिउड स्वाद तिख्खर लाग्ने घरेलु दर्शकलाई यो जैविक स्वाद नितान्त नवीन, सरस र अभूतपूर्व लाग्यो । बलिउड र हलिउड मनोविज्ञान विच्छेदतर्फको श्रीगणेश थियो हो । अब हामी युरोपेली मोडेलतर्फ सुखद संक्रमित हुँदैछौं ।
युरोपेली मोडेल भन्नुको अर्थ प्रभाव ग्रहण होइन, नेपाली समाज र फिल्म साहित्यलाई अझै बलशाली तुल्याउनु हो । युनिभर्सल अपिल सिर्जना गर्नु हो । घरेलु ब्रान्ड निर्माण गर्नु हो ।
आधा शताब्दीमा नेपाली फिल्म सेटिङ र व्याकरणमा चुक्यो । सेटिङको अर्थ आञ्चलिकता, पात्र स्थापना, मनोविज्ञान, परिवेश, समय, स्थान सबैको डिटेलिङ हो । ‘कालो पोथी'ले आफूलाई व्याकरणमा अब्बल तुल्याउन सकेन तर, यससँग बलशाली सेटिङ छ । आमनेपाली फिल्मको समस्या द्वन्द्वको विकास नहुनु हो।
संसारमा अर्बौं फिल्म बन्छन् । एक अर्कासँग प्रभावित हुनु स्वाभाविक हो । आरोपको रबर तन्काउने हो भने संसारमा एउटा पनि मौलिक फिल्म छैनन्, त्यो दुई सय वर्षको हलिउड होस् वा सय वर्षको बलिउड र नाइजेरियन नलिउड ।
यो समस्याले ‘कालो पोथी'समेत शिथिल छ तर, सेटिङको सशक्ततामा व्याकरणले फिल्मलाई कमजोर हुन दिएको छैन । सेटिङको अर्थ यहाँ स्थान र परिवेशसँग छायांकन, पात्र र ध्वनिको तादात्म्यतालाई भन्न खोजिएको हो ।
सन् २००९ को संकटकाल फिल्म परिवेश हो । हरिशरण लामिछानेले वाचन गर्ने हेडलाइन, बर्दीधारी छापामार र सेना, दुई बाल पात्रको स्वाभाविक अभिनय, राजेश-करिश्मा क्रेज नै किन नहन्, ‘कालो पोथी'को यो सेटिङले दर्शकलाई भूगोलभित्रै छिराइदिन्छ ।
दर्शकले पात्रसँग अपनत्व महसुस गर्छन् । पात्रभित्रै दर्शक छिरे के होला ? यसको उत्तर ‘कालो पोथी' हो । कतिपय अग्र्यानिक क्वाइन गरिएका नेपाली फिल्मसँग आञ्चलिताको रूप त थियो तर सार थिएन । ‘कालो पोथी' रूप र सारको संयोजन हो ।
पश्चिमा क्रिटिक्सको संश्लेषण थियो, ‘कालो पोथी' द्वन्द्वलाई लिएर तटस्थ छ । बिलकुल सही हो । सिनेमा राजनीतिको यो सन्तुलन पाठमात्र होइन, द्वन्द्वलाई नागरिकले हेर्ने आँखीझ्याल हो । निर्देशकले माओवादी वा सरकार कसैको पक्ष लिएका छैनन् । बरु हिमाली सौन्दर्यमुनि द्वन्द्वले विस्थापित मानवीय क्याराभानका सुन्दर सट् बुनेका छन् ।
यो कम्पोजिसनलाई सिनेमा उपलब्धिको रूपमा लिन सकिन्छ । बितेको दशकमा माओवाद वा राष्ट्रवादका मुद्दामा टन्नै फिल्म बने । ती फिल्ममा सिनेमा एस्थेटिकभन्दा दलीय एजेन्डा थिचिएका थिए । यिनले द्वन्द्वको सपाट् चित्र कोरेनन्, बरु दर्शकलाई विभाजित तुल्याए । ‘कालो पोथी'ले दर्शकलाई आस्थाका आधारमा विभाजित भने गरेन ।
ध्वनि प्रयोगका हिसाबले ‘कालो पोथी' स्मरणीय हुनेछ । ध्वनिलाई फ्रेमभित्रका दृश्यका लागि मात्र भनेर सोच्यौं । तर, हुनुपर्ने ३६० डिग्री हो । प्राविधिकले ध्वनिमार्फत दर्शकलाई परिवेश मनोविज्ञान महसुस गराउन भूमिका खेलेका छन् । फ्रेमभित्र मात्र ध्वनि सीमित छैन ।
फ्रेमपछाडिको परिवेश कस्तो छ भन्ने कुरालाई महसुस गराइदिएका छन् । कथाको गतिसँगै रेडियो नेपालमा बज्ने समाचारका हेडलाइनले फ्रेममा बाहिर भए पनि परिवेश, आञ्चलिकता, मनोविज्ञान र द्वन्द्वको गतिलाई महसुस गराएको छ ।
क्यामेरा यसको अर्को सशक्तता हो । ताजिकिस्तानका सिनेम्याटोग्राफर अजिज जाम्बाकिएभले केही मिजान्सिङ सट्का सुन्दर प्रयोगमार्फत पात्रभित्रको ऐँठन, बेचैनी र उकुसमुकुसलाई फ्रेमिङ गरेका छन् ।
फिल्ममा कर्णाली ल्यान्डस्केप खिचिएको छैन बरु उनले कर्नाली जीवन बाँच्ने पात्रभित्रको संघर्ष खिचेका छन् । निर्देशकले कर्णाली सौन्दर्य होइन, नियतवश नै कर्णालीको दुःख चित्रण गरेका छन् । तर, राराताललगायतका ल्यान्डस्केप सट् विम्बपरक लाग्छन् ।
कलामा कलाकारले भोगेको अनुभव महत्वपूर्ण हुन्छ । रिलिजअगाडि निर्देशक भामले भनेका थिए, ‘मेरो सास, नशा र धड्कनमा कर्नाली छ र कर्नालीकै कथा भन्न सक्छु । मलाई काठमाडौेंको गहिराइ थाहा छैन ।
काठमाडौंमाथि फिल्म बनाएँ भने त्यो सतही हुन्छ ।' ठ्याम्मै यही अनुभवमा उनले जसरी मुगुको डिटेलिङ उतारेका छन्, काठमाडौंली निर्देशकले कथा वाचन गर्न कठिन हुन्छ । जुन जीवन भोगिएको छैन, त्यसमाथि कथा भन्नु कति न्यायपूर्ण हुन्छ ? यो प्रश्न जवानी विदेशमा बिताएका र नेपाली समाजको बदलिँदो राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिक मूल्य नबुझेका फिल्ममेकरलाई सोधिन जरुरी हुन्छ ।
नयाँ पुस्ताका फिल्ममेकरको समस्या आवरणको कपी गर्नु तर गहिराइसँग साक्षात्कार नगर्नु हो । भारत र अमेरिकी फिल्म उद्योगका मेकिङको कपी गर्नु तर ती उद्योगको जगको अध्ययन भएन । फलस्वरूप नेपाली फिल्मले मौलिक उत्पादन दिन सकेन ।
मौलिकताको आवरणमा फिल्म त बने तर ती कस्मेटिक मौलिक थिए । ‘कालो पोथी'लाई चोरीको बात लगाइयो तर यो सही होइन । संसारमा अर्बौं फिल्म बन्छन् । एकअर्कासँग प्रभावित हुनु स्वाभाविक हो । आरोपको रबर तन्काउने हो भने संसारमा एउटा पनि मौलिक फिल्म छैनन्, त्यो दुई सय वर्षको हलिउड होस् वा सय वर्षको बलिउड र नाइजेरियन नलिउड ।
समीक्षकले लेख्दै आएका थिए— अबको डेढ वर्षभित्र नेपाली फिल्मको मानचित्रमा परिवर्तन देखिनेछ । यसको सुरुआत ‘कालो पोथी'बाट सुरु भएको छ । अब रिलिज हुन लागेका ‘छायाँ', ‘दोख', ‘ह्वाइट सन', ‘त्यान्द्रो', ‘लभसासा', ‘गाँठो'बाट आशा राखिएको छ ।
यी फिल्मले ‘कालो पोथी'ले खनेको गोरेटोलाई अझै प्रशस्त गर्ने अपेक्षा छ । क्रिटिक्सले भन्दै र लेख्दै आएको कुरा भनेको सिनेमा साहित्य र दृश्यभाषाको अनुकरण भन्ने हो । हामीले जतिसक्दो चाँडो बलिउड ह्याङओभरबाट मुक्त हुनु अनिवार्य छ ।
परिवर्तनका संकेत देखिँदैछन् । सबैभन्दा बलियो संकेत— यसै साता मीनभवनमा सुरु भएको एउटा फिल्म कलेजको हो जसलाई खोलेका हुन् फिल्मलाई मनोरञ्जनको रूपमा मात्र डिफाइन गर्ने र बलिउड स्कुलमा हुर्किएका सुनील थापा, लक्ष्मीनाथ शर्मादेखि उज्ज्वल घिमिरेसम्मले ।
फिल्म पढ्नुपर्छ र दृश्य साहित्य बुझ्नुपर्छ भन्ने उनीहरूको मस्तिष्कमा आएको परिवर्तनलाई गहिरो गरी केलाउँदा यो सुखद संकेत हो । किनभने फिल्म साहित्यले भारतीय फिल्म निर्माणको सूत्र र मनोविज्ञानलाई सीधै नकार्छ बरु नेपाली समाजसँग हेलिन मद्दत गर्छ । ‘कालो पोथी' सुरुआत हो ।
प्रतिक्रिया दिनुहोस !