'नयाँ संविधानले लोकतन्त्र सुदृढ'

'नयाँ संविधानले लोकतन्त्र सुदृढ'

काठमाडौं: नेपालको नयाँ संविधान जारी भएपछि तीव्र असन्तुष्टि जनाउँदै स्वागतसम्म नगरी ५ महिना लामो नाकाबन्दी गरेको भारतले आफ्नो आधिकारिक दस्ताबेजमा भने नेपालमा संविधान जारी भएर बहुदलीय संवैधानिक लोकतन्त्र सुदृढ भएको उल्लेख गरेको छ।

भारतीय विदेश मन्त्रालय 'साउथ ब्लक' ले प्रधानमन्त्री नरेन्द्र मोदीको दुईबर्से कार्यकालको अवसर र प्रतिपक्षले नेपाल नीति घोर असफल भएको आरोप लगाउँदै गर्दा यस्तो दस्ताबेज सार्वजनिक गरेको हो।

'गत सेप्टेम्बर २०१५ मा नयाँ संविधान अनुमोदन भएबाट नेपालको बहुदलीय संवैधानिक लोकतन्त्र सुदृढ हुनुका साथै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ', भारतीय विदेश मन्त्रालयले निकालेको 'म्यापिङ न्यु फ्रन्टियर्स टु इयर्स अफ पाथ ब्रेकिङ डिप्लोमेसी' नामक पुस्तिकाको नेपाल खण्डमा भनिएको छ।

संविधानसँगका केही आन्तरिक विषयमा भने अझै मिल्न बाँकी रहे पनि ती चाँडै समाधान भएर जाने भारतको अपेक्षा रहेको पुस्तिकामा उल्लेख छ। पुस्तिकामा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि नेपाल र भारतबीचको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको पनि उल्लेख छ। भारतले आधिकारिक प्रकाशनमा नेपालको संविधानबारे सकारात्मक धारणा बाहिर ल्याएर नेपाल नीतिमा 'कोर्स करेक्सन' गर्न खोजेको विश्लेषण गरिएको छ।

 

दक्षिणी छिमेकी भारतले संविधान जारी भएको पर्सिपल्टदेखि सीमानाकाबाट नेपालतिर इन्धन र खाद्यान्न आपूर्ति रोक लगाएको थियो। संविधानमा आफ्नो समर्थन नरहेको भन्दै आन्दोलित मधेसी दलले वीरगन्ज नाकामा गरेको प्रदर्शन र धर्नालाई बहाना बनाएर भारतले नेपालमा नाकाबन्दी गरेको थियो।

भारतले संविधानको पहिलो संशोधनमा भने स्वागत गरेको थियो। प्रधानमन्त्री ओलीको फागुनमा सम्पन्न भारत भ्रमणअघि भारतले नाकाबन्दी हटाएको थियो। ओलीको भारत भ्रमणबाट सम्बन्ध सुध्रिने अपेक्षा गरिए पनि भारतीय पक्षले संविधानप्रति असन्तुष्टि कायम रहेको सन्देश दिन भ्रमणपछि संयुक्त वक्तव्यसमेत जारी गर्न अस्वीकार गरेको थियो।

भारतले मधेस आन्दोलनको समयबद्ध रूपमा समाधान हुनुपर्ने वाक्यांश राखेर संयुक्त वक्तव्य जारी हुनुपर्ने अडान लिएपछि अन्ततः संयुक्त वक्तव्यबिना नै प्रधानमन्त्री ओली स्वदेश फर्केका थिए।

ओलीको भ्रमणका क्रममा दुईवटा पारवहन बिन्दु सुरु गर्नेलगायत महत्वपूर्ण नौवटा सम्झौता भएको समेत पुस्तिकामा उल्लेख छ। भ्रमणका क्रममा नेपाल-भारत प्रबुद्ध समूह गठन, भूकम्प पुनर्निर्माणमा २ सय ५० मिलियन अमेरिकी डलरको अतिरिक्त सहयोग र तराईका सडकहरूको निर्माणलाई गति दिनेबारे सम्झौता भएको पुस्तिकामा लेखिएको छ।

नयाँदिल्लीमा ओलीसँगको संयुक्त पत्रकारसम्मेलनमा मोदीले नेपालको नयाँ संविधानलाई एउटा महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका थिए। तर उनले संविधानको समर्थन भने गरेका थिएनन्। प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा नेपाल र भारतबीचको अविश्वास हटेको बताएका थिए।

भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको पुस्तिकामा विगत दुई वर्षमा नेपाल र भारतबीचको सम्बन्धमा नयाँ अध्याय सुरु भएको उल्लेख छ। १७ वर्षपछि भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण भएको र नेपाली संसद्मा सम्बोधन गर्ने पहिलो विदेशी नेता मोदी बन्न पुगेको पुस्तिकामा लेखिएको छ।

गत वर्षको विनाशकारी भूकम्पपछि भारतले नेपाललाई गरेको सहयोग, विदेशमन्त्री सुष्मा स्वराजले यसबीचमा गरेका पाँच भ्रमण र प्रधानमन्त्री ओलीको भारत भ्रमणबाट दुई देशबीचको सदियौंदेखिको सांस्कृतिक सम्बन्ध जनस्तरमा सुदृढ हुन पुगेको पनि पुस्तिकामा लेखिएको छ।

मोदी नेतृत्वको भारतीय जनता पार्टीको सरकार बनेपछिका दुई वर्षयता भारतीय विदेशनीतिका उपलब्धि समेटिएको उक्त पुस्तिका गत साता प्रकाशित भएको हो। उक्त पुस्तक विमोचनका क्रममा भारतीय विदेशमन्त्री स्वराजले नेपालसँगको सम्बन्ध सुधारतर्फ अघि बढेको समेत बताएकी थिइन्।

यसैबीच भारतका लागि निवर्तमान राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री ओलीको भारत भ्रमणपछि द्विपक्षीय सम्बन्धमा सुधार आएको बताएका छन्। रिपोर्टर्स क्लबमा बिहीबार आयोजित कार्यक्रममा उनले भारतसँगको सम्बन्धलाई लिएर नकारात्मक टिप्पणी गरिराख्दा त्यसले थप समस्या ल्याउने बताए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.