युरोकपमा नयाँ शक्तिको उदय

युरोकपमा नयाँ शक्तिको उदय

लोकेन्द्र प्रसाई

सन् २०१२ को जुलाई पहिलो तारिख। युक्रेनको राजधानी किभस्थित ओलम्पिक रंगशालामा स्पेनिस फुटबल टोलीको वाहवाही थियो। विश्वले स्पेनिस फुटबलको प्रशंसा गरिरहेको थियो। स्पेनले फाइनलमा इटालीलाई हराएर युरोकपको उपाधि जित्दा थुप्रै कीर्तिमानसमेत बनाएको थियो। त्यति बेला युरोकपको उपाधि रक्षा गर्ने पहिलो टोली बनेको थियो स्पेन।

चार वर्षको अन्तरमा स्पेनले दुईवटा युरोकप र एउटा विश्वकपको उपाधि जितेको थियो। स्पेनको छोटो दूरीको पास खेल्दै बल अघि बढाएर विपक्षीको पोस्टमा आक्रमण गर्ने ‘टिकी टाका शैली' जादुमयी बनेको थियो। फाइनलमा इटालीलाई निरीह बनाएर ४-० गोलको जित हात पार्नु युरोकप फाइनलकै कीर्तिमानी नतिजा थियो। त्यति बेला बहस सुरु भएको थियो, अब स्पेन र उसको टिकी टाका शैलीले कहिलेसम्म राज गर्ला ?       

त्यसको चार वर्षपछि यसै साता इटाली र स्पेन अन्तर्राष्ट्रिय फुटबलमा पुनः एकपटक भिड्दै थिए, युरोकपमै। प्रिक्वार्टरफाइनलमै भिड्नुपर्ने भएकाले दुवै टोलीमाथि चर्को दबाब थियो। विगत आठ वर्षदेखि ठूला प्रतियोगितामा स्पेनसँग बेहोरेको हार इटालीलाई ताजै थियो र त्यसैले बदला लिने गतिलो अवसर पनि।

 स्पेन भने लगातार तेस्रोपटक युरोकप जित्ने अभियान पूरा गर्न इटालीलाई हराउन तयार थियो। स्पेनिस टोलीका प्रशिक्षक भिसेन्ट डेल बोस्क खेलको सुरुदेखि नै अफिसियल बक्समा शान्तपूर्वक बसे। तर, उनको मुहार उस्तै रहेन। खेलको समय बित्दै जाँदा बोस्क निराश देखिँदै गए।

पहिलो हाफमा इटालीले गोल गर्‍यो। तर, स्पेन खेलमा फर्कने कुनै संकेत देखिएन। खेलका क्रममै स्पेनिस प्रशिक्षक र खेलाडी निकै निराश देखिन्थे। इटालीले लगातार आक्रमण गरिरहेको थियो। यस्तो लाग्थ्यो, स्पेन इटालीका आक्रमणलाई विफल बनाएकैमा खुसी छ। च्याम्पियनका रूपमा स्पेन खेलमा कतै देखिएन।

चार वर्षपछि फेरि बहस सुरु भएको छ तर फरक प्रसंगमा, विश्व फुटबलमा स्पेनको युग सकिएकै हो त ?  स्पेनको चर्चित अखबार मार्काले लेखेको छ, ‘स्पेन अब सर्वोत्कृष्ट रहेन।' समीक्षकहरू भन्न थालेका छन्, ‘इटालीले स्पेनको राज समाप्त गरेको छ।' युरोकपका अघिल्ला दुई संस्करणमा अपराजित रहँदै जितेको स्पेनको आलोचना बढ्दो छ।

४४ वर्षपछि सन् २००८ मा स्पेनले युरोकपको उपाधि जित्दा विश्व फुटबललाई नयाँ शैलीको फुटबल ‘टिकी टाका' सिकायो। सन् २०१० मा विश्वकप जितेपछि स्पेन र उसको शैलीको उचाइ बढ्यो। विश्व फुटबलमा स्पेनको युग अर्थात् टिकी टाका युग भनियो।

स्पेन युरोपबाहिर आयोजना भएको विश्वकप जित्ने पहिलो युरोपेली टोली बनेकाले उसको शान थप बढेको थियो। स्पेन र उसको शैली कमजोर बन्दै गएको सन् २०१४ को विश्वकपले नै संकेत गरेको थियो। स्पेन त्यति बेला समूहगत चरणबाटै बाहिरियो। साविक विजेता टोली समूहगत चरणबाटै बाहिरिनु अप्रत्याशित र निराशाजनक नतिजा थियो।

इङ्ल्यान्डका लागि जारी युरोकप फेरि अर्को एक सहभागितामै सीमित रह्यो। स्टार खेलाडीहरू टोलीमा भए पनि उपाधि जित्न नसक्ने उसको छवि सुधार हुन सकेन। विश्वकै चर्चित घरेलु लिग भएको देश भएकाले इङ्ल्यान्डबाट हरेक प्रतियोगितामा आशा गरिन्छ।

इङ्ल्यान्ड प्रिक्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेन। सन् १९६६ पछि अन्तर्राष्ट्रिय उपाधि जित्न नसकेको इङ्ल्यान्ड फेरि एकपटक ठूलो अपेक्षाबीच रित्तो हात फर्कनु परेपछि टोलीका प्रशिक्षक रोय हड्सनले पद छाडेका छन्। हड्सनलाई भित्र्याएपछि उपाधि जित्न सकिने इङ्ल्यान्डको विश्वास थियो।

सन् २०१४ मा टोली विश्वकपको समूहगत चरणबाटै बाहिरिए पनि हड्सनप्रति इङ्ल्यान्डको विश्वास मरेको थिएन। इङ्ल्यान्ड फुटबलमा फेरि बहस सुरु भएको छ, ‘इङ्ल्यान्डमा राम्रा खेलाडी भएर पनि किन उपाधि जित्न सक्दैन ? ' हड्सनले भने पदीय हिसाबले आफंैले जिम्मेवारी लिएका छन्। उनले अगाडि भनेका छन्, ‘यो प्रतिभावान्, युवा र उपाधिको भोको टोलीलाई अब कसैले सम्हाल्नुपर्छ।'

समूहगत चरणको पहिलो खेलमा पोर्चुगलसँगको बराबरीपछि आइसल्यान्डका खेलाडीले गर्वसाथ खुसियाली मनाए। यो देखेर पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो आइसल्यान्डका खेलाडीसँग हत मिलाउनसमेत तयार भएनन्।

उनको भनाइ थियो, ‘आइसल्यान्डका खेलाडीले यसरी खुसियाली मनाए कि मानौं उनीहरूले उपाधि नै जितेका छन्। यो निकै सानो मानसिकता हो। मलाई लाग्छ, आइसल्यान्डले यो प्रतियोगितामा केही गर्नेवाला छैन।' युरोकपमा सहभागी हुने सबैभन्दा कम जनसंख्या (तीन लाख ३० हजार) भएको राष्ट्रका रूपमा कीर्तिमान बनाएको आइसल्यान्डको खुसियाली अस्वाभाविक थिएन।

त्यसमा पनि युरोकपमा आइसल्यान्डको यो पहिलो सहभागिता थियो। आइसल्यान्डले रोनाल्डोको भनाइलाई राम्रो चुनौती दिइरह्यो। एक जित र दुई बराबरीको नतिजापछि समूहगत चरण पार गरेको आइसल्यान्डले प्रिक्वार्टरफाइनलमा इङ्ल्यान्डलाई स्तब्ध बनायो।

यो सानो देशले धेरै ठूलो सफलता हात पारिसकेको छ। त्यति व्यावसायिक घरेलु लिगसमेत नभएको यो देशले विश्व फुटबललाई नै पाठ सिकाएको छ। वेल्स पनि यस्तै उदाहरणीय टोली हो। बेलायतको सानो देश वेल्सले पनि सशक्त प्रदर्शन गर्‍यो। पहिलो सहभागितामै क्वार्टरफाइनल पुगेको छ।

बेलायतबाट सहभागी भएका सबै चार टोली इङ्ल्यान्ड, आयरल्यान्ड, उत्तरी आयरल्यान्ड र वेल्सले समूहगत चरण पार गरे। पोल्यान्ड, स्लोभाकिया र स्विट्जरल्यान्ड पनि पहिलोपटक नकआउटमा पुगे। स्लोभाकिया र उत्तरी आयरल्यान्डको पनि पहिलो युरोकप सहभागिता हो। यी नयाँ टोलीको सबैभन्दा बलियो पक्ष भनेको टिम वर्क हो। उनीहरूले विश्व फुटबलमा प्रभाव राख्ने टोलीलाई कडा चुनौती दिनसक्ने प्रदर्शनले देखाएको छ। हंगेरी, क्रोएसिया, आयरल्यान्ड, स्विट्जरल्यान्डजस्ता टोलीले ठूला टोलीविरुद्ध दाबेदारीपूर्ण प्रदर्शन गरे। समूहगत चरणमा क्रोएसियाले स्पेन र आयरल्यान्डले इटालीलाई हराउनु यसको ज्वलन्त उदाहरण हो।

आठ वर्षअघि पहिलोपटक युरोकप खेलेको पोल्यान्ड तेस्रो प्रयासमा दोस्रो चरण पुगेको हो। उसले समूहगत चरणमा विश्व च्याम्पियन जर्मनीलाई गोलरहित बराबरीमा रोक्दै यात्रा अगाडि बढाएको थियो। बेल्जियमले सशक्त प्रदर्शन गरिरहेको छ। १६ वर्षपछि यसपटक युरोकप खेलिरहेको बेल्जियमले विश्व फुटबललाई सन्देश दिइसकेको छ, अबको नयाँ शक्तिका रूपमा। हुन पनि बेल्जियम अहिले फिफा वरीयताक्रममा दोस्रो स्थानमा छ। ३६ वर्षपछि युरोकपमा नकआउट चरण पुगेको बेल्जियमको यात्रा क्वार्टरफाइनलमा छ।

बेल्जियमले पछिल्लो तीनचार वर्षमा छर्लाङ मारेको हो। १२ वर्षपछि विश्वकपमा फर्कने क्रममा बेल्जियमले सन् २०१४ मा आयोजित संस्करणमा ऐतिहासिक यात्रा तय गर्‍यो, क्वार्टरफाइनलसम्म। त्यति बेला उसले अर्जेन्टिनासँग १-० गोलले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो। यसपटक समूहगत चरणको पहिलो खेलमा इटालीसँग २-० गोलले पराजित भएको बेल्जियमले त्यसपछि प्रदर्शन सुधार गर्‍यो। लगातार दुई जित हात पार्दै बेल्जियम ग्रुप अफ डेथबाट अगाडि बढ्यो। प्रिक्वार्टरफाइनलमा हंगेरीविरुद्ध प्राप्त ४-० गोलको जितमा बेल्जियमको स्तर देखिएको छ।

सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजित विश्वकपले नयाँ सन्देश दियो, युरोपियन राष्ट्रको प्रभाव बढ्दै गएको। फाइनल पुग्ने दुवै टोली युरोपियन भएपछि उपाधि भिडन्त हुनुअघि नै युरोपबाहिर आयोजित विश्वकप पहिलोपटक युरोपियन टोलीले जित्ने निश्चित भएको थियो।

सन् २०१४ मा ब्राजिलमा आयोजना भएको विश्वकपमा पनि युरोपियन राष्ट्रले उपाधि जित्यो। युरोपबाहिर आयोजना भएको विश्वकपमा लगातार दोस्रोपटक युरोपियन टोली विजेता बने। तर, यसपटक ब्राजिलमा विश्वकप जित्नुको अर्थ अनेक थियो। त्यसैले पनि अब युरोकपले विश्व फुटबलमा विशेष अर्थ राख्नेछ। यस प्रतियोगिताको प्रदर्शन, नतिजा र विजेतालाई विश्व फुटबलसँग जोडेर हेरिनेछ।

प्रतियोगिताबाट चाँडै बाहिरिए पनि स्पेनले अब के गर्छ, चासोको विषय बनेको छ। आठ वर्षअघि स्पेनको प्रशिक्षण सुरु गरेका डेल बोस्कको विकल्प अब खोजिनुपर्ने स्पेनभित्रैबाट आवाज उठ्न थालेको छ। यस विषयमा डेल बोस्कले भनेका छन्, ‘पद छाड्ने वा बसिरहने भन्ने विषयमा स्पेनिस फुटबल संघका अध्यक्षसँग कुरा गरेर निर्णय लिन्छु। जे निर्णय लिए पनि त्यसले स्पेनिस फुटबलको अधिकतम भलाइ हुनुपर्छ।' डेल बोस्कलाई विश्वास छ, स्पेनिस क्लब बार्सिलोना हुँदै राष्ट्रिय टोलीमा भित्रिएको टिकी टाका शैलीले स्पेनलाई अझै धेरै सफलता दिलाउनेछ।(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.