स्वास्थ्य संस्था जान थाले राउटे

स्वास्थ्य संस्था जान थाले राउटे

मंगलसेन: पत्नीलाई ज्वरो आएपछि राउटे जातिका सर्वोच्व अगुवा मैनबहादुर शाही उपचार गर्न तुर्माखाँद स्वास्थ्य चौकीमा आइपुगेका छन् । उमेरले ६० नाघिसकेका दुवै बूढाबूढी अरू बिरामीसरह स्वास्थ्य परीक्षण गराउन लाइनमा बसे । आफ्नो पालो आएपछि दुवैले स्वास्थ्यकर्मीलाई आफ्नो समस्या बताए । स्वास्थ्यकर्मीले दुवैको तौल लिने र प्रेसर नाप्ने भनेपछि दुवै बूढाबूढीले आफ्नै भाषामा सल्लाह गरे ।

लगत्तै मैनबहादुरले सोधे, ‘तौल कसरी थाहा हुन्छ ? , प्रेसर भनेको के हो ? ' अनमी मनीषा न्यौपानेले तौल र प्रेसर जाँच गरिसकेपछि मैनबहादुरकी पत्नी दुनीदेवी शाहीलाई भाइबर फिभर ज्वरोको समस्या रहेकोले हातमा औषधि समाउँदै खान सल्लाह दिइन् । मैनबहादुरको भने खुट्टाको घाउको ड्रेसिङ गरी औषधि लगाएर पट्टी बाँधियो । त्यसपछि दुवैजना आवश्यक सरसल्लाहका साथै औषधि लिएर बाहिर आए ।

सदियौँदेखि जंगलमा बस्दै आइरहेको राउटे जातिका मानिस बिरामी हुँदा यसरी स्वास्थ्य संस्थामा आएर औषधोपचार गरेको दृश्य दुर्लभ हो । स्वास्थ्य संस्थामा स्थानीयको निकै बाक्लो उपस्थिति भएकाले सबैको ध्यान त्यही राउटे दम्पतीमा परेको थियो । ‘राउटे पनि उपचार गर्न अस्पताल आउन थालेछन्', कोही आपसमा कानेखुसीसमेत गर्दै थिए ।

संयोगले त्यसै दिन तुर्माखाँद स्वास्थ्यचौकीको समाजिक परीक्षण कार्यक्रम रहेकाले स्थानीयको बाक्लो उपस्थिति थियो । स्वास्थ्य संस्थामा कार्यक्रम आयोजना हुने भन्ने जानकारी पाएकाले के–के सुबिधा पाइन्छ भनेर बूढाबूढी तुर्माखाँद आएको मैनबाहादुरले सुनाए ।

 

सामाजिक परीक्षण कार्यक्रममा आयोजकले मैनबहादुरलाई विशिष्ट अतिथिनै बनाएपछि राउटे दम्पती दिनभर कार्यक्रममा सहभागी भए । समाजिक परीक्षणको छलफलका क्रममा मैनबहादुरले आफ्नो १४ सन्तान जन्मिए पनि हाल तीन मात्र बाँचेको सुनाए । ‘बिरामी हुँदा स्वास्थ्य संस्थामा ल्याएर उपचार गरेको भए कोही बच्चा पनि मर्ने थिएनन्', उनले भने, ‘सबै बच्चा बाँचेका भए १४ छोराछोरी र दुई बूढाबूढी गरी महिनाको १६ हजार भत्ता पाउने थियौँ, अहिले पाँच हजार मात्र पाउँछौं ।'

छलफल कार्यक्रममा बसेर मैनबहादुरले स्वास्थ्य उपचारका बारेमा धेरै कुरा जानकारी पाए । यताबाट गएर सबै राउटे जनतालाई बिरामी हुँदा स्वास्थ्य संस्था जानु भनेर सल्लाह दिने उनले प्रतिबद्धता जनाए । यति मात्र नभएर प्रत्येक दिनजसो मदिरा सेवन गर्ने मैनबहादुरले कार्यक्रममा मदिरा सेवनबाट हुने बेफाइदाका बारेमा जानकारी पाएपछि अबदेखि कहिलै मदिरा सेवन नगर्ने पनि प्रतिबद्धता व्यक्त गरे ।

अछामको पूर्वी नाडा गाविस ४ को बुँदेमा बस्दै आएका राउटे जातिका केही मानिस बिरामी हँदा नजिकैको तुर्माखाँद स्वास्थ्यचौकीमा आउन थालेको अनमी न्यौपानेले जानकारी दिइन् । जंगलमै बस्ने, जंगलकै कन्दमूल खाने राउटे जातिका केही मानिसमा पछिल्लो समय बिरामी हुँदा औषधि गर्न अस्पताल आउनुपर्छ भन्ने चेतनाको विकास हुन थालेको हो । आफूहरू फिरन्ते जाति भएकाले घरमा नभएर सधैँ जंगलमै बस्ने तर त्यो पनि सहरनजिकको जंगलमा मात्र बस्ने मैनबहादुरले सनाए ।

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक झपट ढुंगानाले केही वर्ष पहिलेसम्म स्वास्थ्यका विभिन्न कार्यक्रम लिएर राउटे बस्तीमा जाँदा कुनै पनि कार्यक्रम कार्यान्वयन गर्न नसकिएकोमा आजभोलि बिस्तारै उपचारका लागि स्वस्थ्य संस्थामा आउनु सकरात्मक परिवर्तन भएको बताए । बाहिरी समाजसँगको घुलमिलका कारण उनीहरूमा पनि बिस्तारै चेतनाको विकास हुँदै गएको ढुंगानाको बुझाइ छ ।

राउटे उत्थान प्रतिष्ठानका जिल्ला प्र्र्रतिनिधि धनबहादुर बुढाले राउटेहरू बिरामी पर्दा स्वास्थ्य संस्थामा जाने बारेमा आफूसँग सल्लाह माग्ने गरेको बताए । थुप्रै बिरामी राउटेलाई आफैंले स्वास्थ्य संस्थामा लगेर तथा टाढाबाट औषधिसमेत किनेर उपचार गराएको बुढाले जानकारी दिए ।

बालबालिका, महिला, युवा र वृद्धवृद्धा प्रायः सबै उमेर समूहका मानिसले मदिरा सेवन गर्छन् । उनीहरूले मदिरा सेवन गरेपछि शरीरमा ताकत आउने भएकाले आफूहरूले मदिरा सेवन गर्ने गरेको सुनाए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.