सुर्खेतमा ‘डान्स' आतंक
ललितबहादुर बुढा
सुर्खेतः कला र संस्कृतिको संरक्षण तथा नयाँ प्रतिभाको खोजी गर्ने बहानामा सुर्खेतमा ‘डान्स' आतंक चलेको छ । ‘डान्स सुर्खेत डान्स' को नाममा अहिले संचालन भइरहेको नृत्य प्रतियोगिताले धेरै परिवारमा बेचैनी बढेको छ । प्रतियोगितामा उत्कृष्ट अवार्ड हात पार्ने सपना देखेका अधिकांश प्रतिस्पर्धी र तिनका परिवार यतिबेला उल्टै ऋणमा डुबेका छन् ।
प्रतियोगिताको फाइनल शनिबार वीरेन्द्रनगरमा हुँदैछ । गत बैशाखबाट सुरु भएको प्रतियोगितामा ८० जनाले भाग लिएका थिए । तर, विभिन्न चरण पार गर्दै अब ६ जनाबीच मात्र प्रथम स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।
आयोजकले सबै प्रतिस्पर्धीलाई एकसय रुपैयाँ मूल्य निर्धारण गरिएको टिकटका ठेली थमाएका छन् । नृत्यमार्फत प्रतियोगितामा उत्कृष्ट छनौट हुनुपर्ने हो, तर अब जसले धेरै टिकट विक्री गर्नेछ, उसैले अवार्ड हात पार्नेछ । कारण आयोजकले विक्री भएको एउटा टिकट बराबर एउटा भोट मानेका छन् । 
प्रतियोगितामा अरुलाई उछिन्दै अहिले दीपेश दर्लामी, सुशीला शाही, दीपा थापा, पूर्णिमा गिरी, सपना अधिकारी र आरती शाही उत्कृष्ट ६ मा परेका छन्। उनीहरु आयोजकले पहिरो चरणमा थमाएका २५ रुपैयाँ मूल्यका टिकट सबैभन्दा बढी विक्री गरेर फाइनलमा प्रवेश गरेका हुन् ।
स्रोतका अनुसार नृत्यमा उत्कृष्ट हुँदाहुँदै टिकट बिक्री गरेर आयोजकले तोकेको रकम बुझाउन नसकेकै कारण धेरैजना प्रतिस्पर्धाबाट बाहिरिएका छन् । वीरेन्द्रनगर निवासी एक किशोरीले अघिल्लो चरणमा टिकट बिक्री नभएपछि परिवारसँग रोइकराई गर्दै २५ हजार मागेर आयोजकलाई बुझाइन् ।
छोरीको अवार्ड जित्ने सपना पूरा गर्न भन्दै परिवारले सहकारीबाट उक्त रकम ऋण निकालेका थिए । तर उनी फाइनलमा पुग्न सकिनन् । कारण उनले थप टिकट बिक्री गर्न सकिनन्, परिवारले पनि रकम दिन सकेन ।
उत्कृष्ट ६ भित्र पर्न सफल सपना अधिकारी मंगलबार आफ्नी आमासँगै वीरेन्द्रनगरमा टिकट बेच्न हिँडेकी थिइन् । तर कसैले पनि उनको टिकट किनेनन्। घरको आर्थिक अवस्था कमजोर छ ।
राम्रो नृत्य गर्ने सीप र कला दुबै उनीसँग छ, तर प्रतियोगिताको अवार्ड हात पार्ने उनको आश मरिसक्यो । ‘पहिला १५ हजार दिएँ, अहिले १० हजारको टिकट हातमा छ' सपनाकी आमा निर्मला अधिकारीले भनिन्,‘नृत्य प्रतियोगिता भन्छन्, हामीलाई यो टिकट बेच्न दिएका छन् । टिकट विक्री हुँदैन, घरबाट दिउँ भने पैसा पनि छैन ।'
टिकट बिक्रीको आधारमा छोरीले भोट पाउने भएकाले अब आफूहरुले अवार्ड जित्ने आश मारिसकेको उनको भनाइ छ । अर्की प्रतिस्पर्धी पूर्णिमा गिरीको परिवार पनि तनावमा छ । कारण उनको परिवारले छोरीले अवार्ड जित्ने आशमा हालसम्म करिब ८० हजार खर्च गरिसकेको छ ।
पूर्णिमाकी आमा सरिता गिरीले भनिन्, ‘यो राम्रो नाच देखाउने प्रतिस्पर्धा हो की टिकट विक्री गर्ने ? टिकट बिक्री नहुँदा छोरीको इच्छा पूरा गर्न घरबाटै पैसा दिएका छौँ ।' उनले आफूसँग अहिले आयोजकले दिएको ५० हजारको टिकट बाँकी नै रहेको बताइन् । टिकट बिक्री नभएपछि अधिकांशले टिकट घरमै फालेर त्यसको मूल्य बराबरको रकम आफन्तसँग ऋण मागेर आयोजकलाई बुझाएको पाइएको छ ।
प्रतियोगितामा अवार्ड हात पार्ने अठोट गरेका दिपेश दर्लामी अहिले नाच्ने अभ्यास छोडेर टिकट बेच्दै हिँडेका छन् । उनी आफूलाई जिताउन आग्रह गर्दै चोकचोकमा टिकट किन्न हारगुहार गरिरहेका छन् ।
सोचेजति टिकट विक्री नभएपछि उनलाई पनि अवार्ड फुत्किने चिन्ताले पिरोलेको छ । अवार्ड जित्ने आशमा सुशीला शाहीले आफन्तलाई टिकट बेच्न नेपालगंज पठाएकी छन् ।
उनले भनिन्, ‘आजसम्म २५ हजार बुझाएकी छु, अहिले ६५ हजारको टिकट हातमा छ । यो बिक्री नभए पनि घरबाट मागेर दिनुपर्ने भयो, पहिला पनि रोएर मागेपछि घरबाट पैसा दिनुभयो ।'
‘नाच्ने सीप र प्रतिभाको कदर भएन, पैसाको पो प्रतिस्पर्धा भो' उनले थपिन्, ‘यो तरिका राम्रो लागेन, नाच मन पराएको आधारमा सबैले एसएमएसबाट भोट गर्ने व्यवस्था हुनुपर्छ । यसमा त जसले धेरै पैसा बुझायो उही उत्कृष्ट हुने भयो, पैसा नहुनेहरु क्षमता हुँदाहुँदै हार्नुपर्ने भो ।'
अभिभावकहरुले प्रतियोगिताको नाममा आयोजकले कमाउ धन्दा सुरु गरेको गुनासो गरेका छन् । उनीहरुका अनुसार आयोजकले हालसम्म टिकट बापतको करिब १५ लाख रुपैयाँ लगिसकेका छन् ।
यता प्रतियोगिताको आयोजक श्रीनाथ फिल्म एण्ड प्रोडक्सन हाउस प्रालिले भने प्रतिस्पर्धी र अभिभावकले आफै टिकट लगेको जिकिर गरेका छन् । प्रालिका अध्यक्ष मुकुन्दनाथ योगीले भने, ‘हामीले कसैलाई पनि जबरजस्ती टिकट थमाएका छैनौं, उनीहरुले आफैँ सहयोग गर्छौं भन्दै लगेका हुन् । भोटिङमा १० प्रतिशत मात्र नम्बर दिइनेछ, बाँकी प्रतिभाको मुल्याकंन हुनेछ ।'
प्रतियोगितामा प्रथमलाई अवार्डसहित नगद ६० हजार, दोस्रोलाई २० र तेस्रो स्थान प्राप्त गर्नेलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !