मध्यरात भोटेकोसीमा बाढी
बाह्रबिसे (सिन्धुपाल्चोक): चीनको भूभाग हुँदै नेपालतर्फ बग्ने भोटेकोसी नदीमा मंगलबार मध्यराति एक्कासि बाढी आउँदा सीमा क्षेत्रको एक विद्यालयसहित २१ घर बगाएको छ । बाढीले भोटेकोसी जलविद्युत् आयोजनाको ड्याम बगाउनुका साथै उत्पादन गृहमा समेत क्षति पुर्याएको छ ।
चीनतर्फ ठूलो पानी परेका कारण भोटेकोसीमा अचानक आएको बाढीले राजमार्ग र सीमा क्षेत्रका संरचनामा क्षति पुर्याएको हो । कोदारीदेखि लिपिङसम्म साढे तीन सयभन्दा बढी घरका बासिन्दा सुरक्षित ठाउँ खोज्दै तातोपानीको चौकी र गुम्बाडाँडामा सरेका छन् ।
बाढीले लिपिङबजारमा २१ घर बगाएको प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले बताए । केही घर पूरै बगाएको छ भने बाँकी घरमा क्षति पुर्याएको छ । कोदारीदेखि लिपिङसम्मको क्षेत्र पूर्ण जोखिममा परेको छ । तातोपानी बजारस्थित मानसरोवर बोर्डिङ स्कुल र तातोपानी धाराको केही भाग पनि बाढीले बगाएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले बताए ।
बाढीले तातोपानी भन्सार यार्डमा रहेका दुई टिपर तथा बाह्रबिसेस्थित मोटर ग्यारेजमा रहेका दुई जिप बगाएको छ । नदीको बहाव बढेपछि अरनिको राजमार्गका विभिन्न भाग कटानमा परेर यातायात अवरुद्ध भएको छ । कोदारीबजारमा ५० मिटरभन्दा बढी सडक कटान भएको छ । बाह्रबिसे– कोदारी खण्डमा मात्रै तीन ठाउँमा सडक पूरै कटान भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाती गाविसको जाङ्बु र मार्मिङ गाविसको नयाँ पुलछेउमा सडक पूर्ण रूपमा कटानमा परेको छ ।
जुरे पहिरोमा खोलेको सडक ट्र्याकबाट नदी बगेको छ । बाढीले तातोपानीको १० किलोमा रहेको झोलुंगे पुल र चाकुमा मध्यभोटेकोसी जलविद्युत् आयोजनाले हालेको बेलिब्रिज बगाएको छ । बाह्रबिसेमा नदीकिनारमा रहेका कागज तथा ब्लक उद्योग बगाएको स्थानीय बासिन्दाले बताए ।
राति करिब साढे नौ बजे एक्कासि खोलामा पानीको बहाव बढेको बाह्रबिसेका युधीर पौडेलले बताए । पानीको बहाव बढेपछि प्रहरीले माइकिङ गरेर सर्वसाधारणलाई घर छाडेर माथिल्लो भागमा जान आह्वान गरेको थियो । पानीको बहाव अत्यधिक बढी भएपछि अत्तालिएका सर्वसाधारण डाँडातिर भागेका थिए । राजमार्गको खाडीचौरदेखि तातोपानीसम्म बस्ती पूरै खाली गराइएको थियो ।
बाढीले बजार नै बगाएपछि तातोपानी र आसपासका बासिन्दा गाउँ छाडेर राजधानी जान थालेका छन् । बाटोमा भेटिएकी तातोपानी–४ की मिनु थापाले बास बस्नै डर भएपछि परिवारसहित आफू काठमाडौं हिँडेको बताइन् । बाढी आउन थालेपछि उनीहरू रातभर जंगलमा बसेका थिए ।
खोला बढ्दै गएपछि बाढीसँगै बग्दै आएको लेदोले झन्डै १५ मिनेट नदी नै जाम गराएको पौडेलले बताए । ‘लेदो आएपछि पानी बगेको आवाज नै आउन छाड्यो,' पौडेलले भने, ‘१५ मिनेटको अत्यासपछि बल्ल फेरि पहिलेकै जस्तो पानी बगेको आवाज आयो । बाढीपछि अधिकांश ठाउँमा नदीको धार परिवर्तन भएको छ । राति एक बजेदेखि बल्ल पानीको बहाव केही कम भएको थियो । नदीको बहाव कम भए पनि सर्वसाधारणको त्रास कम भएको छैन ।'
बाढी पूर्वानुमान महाशाखाका अनुसार बाढी आउँदा नदीको सतह बढेर ३.९० मिटरदेखि चार मिटरसम्म पुगेको थियो । बुधबार साँझसम्म सतह २.६५ मिटर छ । महाशाखाका अनुसार सामान्य अवस्थामा पानीको सतह १.५ मिटर हुन्छ । बाढी आएका बेला ६ सय ३३ क्युमेक प्रतिसेकेन्ड भोटेकोसीमा पानीको बहाव थियो । साँझ दुई सय ३० क्युसेक प्रतिसेकेन्ड बहाव रहेको भोटेकोसी सामान्य अवस्थामा एक सय ५० क्युसेक प्रतिसेकेन्डको गतिमा बग्छ ।
प्रतिक्रिया दिनुहोस !