फेवातालबाट बर्सेनि बग्छन् करोडौंका माछा

 फेवातालबाट बर्सेनि बग्छन् करोडौंका माछा

पोखरा: फेवातालका करोडौं मूल्यका माछा बर्सेनि बगेर खेर गइरहेका छन्। तालको पानी बाहिरिने निकासमा जाली नहुँदा माछा बगेर जाने गरेका हुन्।

माछा तालमै रोक्न सके त्यसबाट पोखराको माग पूरा हुनुका साथै माछा मार्ने व्यवसाय पनि मौलाउने व्यवसायी बताउँछन्। उनीहरूले जाली राख्न सहयोग गर्न सरोकारवाला निकायसँग माग पनि गरेका छन्।

वर्षाको मौसममा तालको सतह बढ्दा बर्सेनि बाँध खोलिन्छ। बाँध खोलिँदा तालको बाँधभन्दा करिब ५० मिटर वर माछा रोक्न राखिएको जाली पाँच वर्षअघि बिग्रँदा बर्सेनि करोडौं मूल्यका तालका माछा बाहिरिने गरेको व्यवसायी बताउँछन्।

फेवातालका करोडौं मूल्यका माछा बाँध, पातले छाँगो (डेभिड फल) हुँदै फुस्रे खोलामा छियाछिया परेको अवस्थामा पुग्ने गरेको हर्पन फेवा मत्स्य सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर जलारीले जानकारी दिए।

माछा रोक्न राखिएको जाली जलकुम्भी झारले बिगार्दा पाँच वर्षदेखि माछा बाँधबाट बाहिरिने गरेको उनले सुनाए। 'हामीले वर्षौं लगाएर जति माछा मार्छौं, त्यसभन्दा बढी माछा एक वर्षमा तालबाट बगेर बाहिरिन्छन्', उनले अन्नपूर्णसँग भने। मत्स्य अनुसन्धान कार्यालयको सहयोगमा राखेका जाली बिग्रेपछि नयाँ नराख्दा यो समस्या आएको हो।

 

'जाली बिग्रनुअघि फेवातालका माछाले पोखराको माग पूरा गरेर काठमाडौं पनि पठाउँथ्यौं। पाँच वर्षअघि जाली बिग्रेपछि तालका माछा बाहिरिए। अनि पोखरामै पनि पुर्याउन नसक्ने अवस्था आयो', जलारीले भने। 

तालको बाँधभन्दा करिब ५० मिटर वर माछा रोक्न राखिएको जाली पाँच वर्षअघि बिग्रँदा बर्सेनि करोडांै मूल्यका तालका माछा बाहिरिने गरेको व्यवसायी बताउँछन्। 

तालको बाँधभन्दा करिब ५० मिटर वर माछा रोक्न राखिएको जाली पाँच वर्षअघि बिग्रँदा बर्सेनि करोडौं मूल्यका तालका माछा बाहिरिने गरेको व्यवसायी बताउँछन्।

पाँच वर्षअघिसम्म बर्सेनि फेवातालका माछा दुई हजार किलोभन्दा बढी काठमाडौं पठाउने गरेको उनले बताए। 'अन्य जिल्लामा पनि पठाउने तयारीमा थियौं तर जाली जलकुम्भीले चुँडाएपछि माछा उत्पादन घट्दा सकिएन', उनले भने।

गत वर्ष भदौरेमा गएको ठूलो पहिरो तालमा मिसिँदा जलारी समुदायले पालेका माछाका केज पुरिएका थिए। यसले झनै समस्या थपेको सहकारीका पूर्वअध्यक्ष रामचन्द्र जलारीले बताए। बाढीका कारण गत वर्ष दुई महिनासम्म तालको पानी धमीलो हुँदा केज र माछामा समेत असर गरेको उनले सुनाए।

तालका ६ सय ३० केजमा करिब एक सय केज माछासहित बाढीले पुरिएको र नपुरिएका केजका अधिकांश माछा मरेकाले उत्पादन घट्दा समस्या परेको उनले बताए। बाढी आउनुअघि बर्सेनि एउटै केजबाट एक सय ५० देखि दुई सय केजी माछा उत्पादन हुन्थ्यो।

यो वर्ष केजको उत्पादन शून्यजस्तै छ। जालमा तालका माछा पनि कम पर्ने गरेको उनले सुनाए। 'यही तालमा हाम्रो समुदायका ९१ घरपरिवार आश्रित छन्। बर्सेनि ताल पुरिँदै जाँदा अस्तित्व नै नरहने हो कि भन्ने चिन्ता छ', उनले भने।

फेवातालको बाँधभन्दा ५० मिटर वर राखिएको जाली बिग्रँदा बर्सेनि हजारौं केजी माछा तालबाट बाहिरिने गरेको मत्स्य अनुसन्धान केन्द्र पोखराका प्राविधिक अधिकृत रामप्रसाद ढकाल बताउँछन्। यसैलाई ध्यानमा राखी फेरि जाली राख्न केन्द्रले प्राविधिक सहयोग गर्ने र जलारी समुदायले आर्थिक स्रोत जुटाएर नयाँ जाली राख्ने योजना रहेको उनले बताए।

तालका माछा बाहिर जान रोकेर बाढीले तालमा पर्ने असरसमेत न्यून गर्न सके फेवातालका माछा कास्कीबाहिर समेत पठाउन सकिने उनले सुनाए। जलकुम्भी झारले समेत असर नगर्ने खालको जाली राख्न १५ लाखभन्दा बढी लाग्ने प्राविधिकले बताएको सहकारीका अध्यक्ष जलारी बताउँछन्। त्यसका लागि विभिन्न संघसंस्थासँग हारगुहार गरेर आगामी वर्ष जसरी पनि जाली राख्ने योजना रहेको उनले बताए।

समुद्र सतहदेखि सात सय ४२ मिटर उचाइमा रहेको फेवातालमा बिगहेड, सिल्भर, मागुर, रेवा, फगेटा, बाम, सहर, कत्लेलगायतका २४ प्रजातिका माछा पाइन्छन्। १७ प्रजातिका स्थानीय जातका र सात प्रजातिका विदेशी जातका माछा पाइने मत्स्य अनुसन्धान केन्द्र पोखराका प्रमुख सरेन्द्रप्रसाद शाहले जानकारी दिए।

पछिल्लो समयमा टिलेपिया माछा बढी मात्रामा फैलँदै गएको उनले सुनाए। सन् १९९२ मा जाइकाको सहयोगमा गरिएको नापीअनुसार फेवाताल पाँच सय २३ हेक्टरमा फैलिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.