घरमै सुतेका बेला चितुवाको आक्रमण, दुई घाइते
अछामः अछामको साफेबगर नगरपालिका १० रेडिकोटमा घरमा सुतेका महिलालाई चितुवाले आक्रमण गरेको छ ।
चितुवाको आक्रमणमा परी ५० वर्षकी लल्ता कुमाल र ३० वर्षकी मोतीसरा कुमाल घाइते भएका छन् । घाइतेहरुको बयलबाटा अस्पतालमा उपचार भइरहेको छ । मोतीसराको निधारमा चोट लागेको छ भने लल्ताको बायाँ खुट्टामा चोट लागेको छ ।
राति करिब एकदेखि दुई बजेको समयमा फरक फरक घरमा सुतिरहेका उनीहरु चितुवाको आक्रमणमा परेका हुन् ।
उक्त क्षेत्रमा गर्मी बढी भएकाले स्थानीयबासीले राति सुत्दा ढोका नलगाइ सुत्ने गरेका कारण चितुवाले ओछ्यानमै गएर आक्रमण गरेको स्थानीयले बताएका छन् ।
सोही ठाउँमा एक हप्ता अघि मात्र ११ महिनाका बालक आरज कुमाल चितुवाको आक्रमणमा परेका थिए । गर्मी भएकाले बाहिर सुताइएका आरजलाई चितुवाले लगेको थियो । उनको अवस्था अझै अज्ञात रहेको छ ।
स्थानीयबासीले गाउँमा चितुवाको आक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय तथा जिल्ला वन कार्यालयलाई सुरक्षाको व्यवस्था मिलाउन माग गरेका छन् ।
रेडिकोटको छिमेकी गाविस ग्राँग्रा र जनादिकोटको सीमामा दुई हप्ता पहिलेमात्र चितुवाले दिउँसै स्थानीयबासीलाई आक्रमण गरेको थियो । चितुवाले आक्रमण गर्दा स्थानीयले प्रतिकार गरेर चितुवा मारेका थिए । चितुवाको आक्रमणमा ग्राँग्राका तीन जना घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस !