नेपालले आज लर्डसमा खेल्ने
![नेपालले आज लर्डसमा खेल्ने](https://annapurnapost.prixacdn.net/media/albums/578d901acab4e9.84523413_zniHAqHaAZ.jpg)
काठमाडौं: नेपाली क्रिकेट टोलीले मंगलबार क्रिकेटको मक्का मानिने इङ्ल्यान्डको लर्डस मैदानमा प्रतियोगिता खेल्ने भएको छ । विश्वको सबैभन्दा पुरानो क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) सँग नेपालले एकदिवसीय खेल खेल्न लागेको हो । लर्डसमै रहेको एमसीसीको निमन्त्रणामा नेपाली टोलीलै मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यसअघि एमसीसीले गत वर्ष नेपालमा आएर खेलेको थियो ।
एमसीसीसँग खेल्नुअघि नेपाली टोलीले इङ्ल्यान्डमा चारवटा अभ्यास खेल खेल्यो । अभ्यास खेलमा नेपाली टोलीले फ्री फोरेस्टरलाई एक सय २९ रन (एकदिवसीय), इन्डियन जिमखानालाई २० रन (टीट्वेन्टी), क्लब क्रिकेट कन्फेरेन्स (सीसीसी) लाई चार विकेट (एकदिवसीय) र इस्टबोर्न सीसीलाई एक सय ८१ रन (एकदिवसीय) ले हराएको थियो ।
आइतबार राति इस्टबोनविरुद्ध भएको खेलमा नेपाली टोलीले उत्कृष्ट ब्याटिङ गरेको थियो ।
पहिला ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित ५० ओभरमा तीन विकेट गुमाएर तीन सय रन जोडेको थियो । नेपाली टोलीको पालीमा अनिलकुमार मण्डलले ७३, विनोद भण्डारीले ७७, शरद भेषावकरले ६० र राजु रिजालले ६० रन बनाएका थिए ।
विनोद भण्डारीले ५३ बलमा १२ चौका प्रहार गरे । एक सय १० बल सामना गरेका अनिलले सात चौका हिर्काए । शरदले ५७ बलमा एक छक्का र ६ चौका तथा राजुले ६७ बलमा पाँच चौका हिर्काए ।
नेपालले आगामी अगस्ट १३ र १५ तारिखमा नेदरल्यान्ड्ससँग आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप पनि खेल्दैछ । महत्त्वपूर्ण मानिएको उक्त खेलका लागि एमसीसीविरुद्धको भिडन्तलाई तयारीका रूपमा पनि लिइएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)