सभ्यता कि प्रथम शिक्षिका आमा

सभ्यता कि प्रथम शिक्षिका आमा

गुरुको अर्थ सर्वव्यापकता छ । पाश्चात्य तथा पूर्वीय सभ्यताका प्राचीन धर्म र संस्कृतिका ग्रन्थहरूमा गुरुको गरिमा गाइएको पाइन्छ । मानव मनको अन्तस्करणबाट प्रस्फुष्टित ज्ञानको ज्योति नै वेद हो । वैदिक सभ्यताका स्रष्टाहरूले सिर्जना गरेका वैदिक ऋचाहरूमा गुरुलाई अन्धकार हटाई ज्ञानरूपी ज्योति फैलाउने ज्ञान प्रदायकको रूपमा सम्मान गरिएको पाइन्छ ।

कठिन साधनाबाट प्राप्त ब्रम्हज्ञानलाई आमाको गर्भबाट जीवित मांशपिण्डको रूपमा जन्मिएको अबोध बालकको मनमस्तिष्कमा सम्प्रेषण गर्ने ब्रम्हयज्ञको कार्य गुरुबाट नै हुन्छ ।

त्यसो त जीवनदायिनी आमा नै ज्ञानकी प्रथम गुरुको रूपमा शास्त्रहरूमा पूजित छिन् । आध्यात्मिक आमाको रूपमा मात्र नभएर वैदिक शुक्त र ऋचाहरूको सिर्जना गर्ने दार्शनिक र प्राज्ञिक आमाहरू वैदिक शास्त्रहरूमा चर्चित छन् । प्राकृतिक पर्यावरणको अनुकूलता र त्यसको अनुभूतिबाट अबोध बालकले सहज रूपमा आमाबाट नै अनुभवजन्य ज्ञान प्राप्त गर्छ ।

त्यसो त जीवनको भयानक र चरम निराशामा रहँदा आत्मिक अन्तस्करणदेखि नै उच्चरित हुने आमा शब्दले नै अनन्त रोदनलाई केही निमेष रोकिदिन्छ र पुनः भक्कानिन्छ मन आमाको सम्झनामा । आमालाई सम्झेर डाँको छोडेर रुँदा कस्तै कठोर मन हुनेलाई मात्र पगाल्दैन, पृथ्वीलाई समेत एक पटक निःशब्द र भावशून्य बनाउँछ, सायद ।

सांसारिक नित्य र प्राकृतिक धर्मितालाई सुप्रवाह र निरन्तरता दिने क्रममा जननीले भोग्नुपर्ने भयानक पीडालाई सांसारिक अभिव्यक्तिबाट व्यक्त गर्न सकिँदैन, त्यसैले त आमालाई पृथ्वी र पितालाई आकाशको प्रतीकात्मक भावार्थमा शास्त्रहरूमा वर्णन गरिएको हो । आमाले हजारौं पीडाहरूलाई सहन गर्न सक्ने समथ्र्य राख्छिन् । पुरुषले कल्पनासम्म पनि गर्न नसक्ने अकल्पनीय प्रसूति वेदना र सृष्टि जगत्को सारभूत सत्वलाई बुझेर होला मातृदेवो भव अर्थात् आमालाई देवताको समतुल्यमा राखिएको हो ।

तिनै आमा हुन् जस्ले आफ्नो शिशुको तोतेबोलीमा अंकुराएका मानव चेतनाका उच्चरित अक्षरहरूलाई श्रवण गरी त्यसको चरम आनन्दको अनुभूतिमा आफ्नो प्रसव पीडालाई सहज रूपमा भुलिदिन्छिन् । सभ्यताको संवाहक र सर्जकको रूपमा पैदा भएको अबोध, आलो र काँचो मांश पिण्डलाई चेतना तत्त्वले प्राणप्रतिष्ठा गरिदिने जीवनदातृको रूपमा पूज्य आमाको काखमा हामी साधारण मानव त के ? भगवान् भनिएका महामानवहरूसमेत भक्कानिन्छन् ।

मातृशक्तिको यसै अनुपम सिर्जनशीलतालाई मनन् गरेर सभ्यताको शिशु बिहानीमै प्राग मानवको आद्यः चेतनाले आमालाई आदिम माताको रूपमा श्रद्धा र नमन गर्‌यो । निर्जीव पाषाणमा खोपिएकी सभ्यताकी आदिदेवी भेनसको प्रतिमाले मातृशक्तिको महत्त्वलाई प्रारम्भिक सभ्यतामै प्रतिष्ठापित गरेको पुरातात्त्विक आधार छ ।

 

संसारकै प्राचीन र आदिम आख्यान्न, लोककथा, पुराकथा, अनुश्रुतिलगायतका अनेकौं अलिखित आख्यान्नहरूमा आमालाई सम्झेर भक्कानिएको पात्रहरूको कथा पाउछौं नै त्यसपछिका अनेकौं लिपिबद्ध साहित्यहरूमा आमाको गरिमा, गाथा, कथा र व्यथाले भरिएको पाइन्छ । सभ्यताको आधिष्ठात्री र जननीको रूपमा पूर्वीय साहित्यहरूमा आमालाई विशेष स्थानमा राखी सम्मान गरिएको पाइन्छ । धार्मिक, दार्शनिक र सांस्कृतिक मूल्य र मान्यताहरूमा परोक्ष रूपमा आमाकै सन्दर्भहरू आएको पाइन्छ ।

जीवनको प्रथम आधार नै आमा हुन् । आमाको वातानुकूलित न्यानो गर्भमा रहँदा आमाले खाने पिउने रसिलो र पोसिलो पदार्थ ग्रहण गरेर बालकले अस्तित्व बचाउँछ । आमाले कल्पने कल्पना र भावनाहरूबाट बालकको अचेतन मन र मस्तिष्कमा ज्ञानको बिज अंकुराउँछ । जन्मपश्चात् त्यो अबोध बालकलाई आमाले गर्ने लालनपालन, निस्वार्थ सेवा र अहोरात्र उनको साधनामा क्लेशरहित प्रेम र समर्पण झल्कन्छ ।

आफ्नो भोक र प्यासलाई समेत लत्याएर बालकको तृप्त हाँसोमा आफ्नो खुसी खोज्ने आमाले कहिल्यै सन्तानसँग आफ्नो बलिदानीको महत्त्व नखोजेर नै आफूलाई सर्व श्रेष्ठ साधिकाको रूपमा राखेकी छन् । आमाको यसै महत्त्वलाई बुझेर नै सम्राट् नेपोलियन बोनापार्टले तिमी मलाई असल आमा देऊ म देशलाई असल नागरिक दिन्छु भनेका हुन् ।

आमाको गरिमालाई शब्दमा अभिव्यक्त गर्न सकिँदैन । आमा जस्तै अशिक्षित र अपठिता भएता पनि उनी सभ्यताकी प्रथम शिक्षिका हुन् । संसारभरका कुनै विश्व विद्यालयले दिन नसक्ने प्राकृतिक र आध्यात्मिक ज्ञान आमाबाट नै प्राप्त गर्न सकिन्छ ।

आमाको गरिमालाई शब्दमा अभिव्यक्त गर्न सकिँदैन । आमा जस्तै अशिक्षित र अपठिता भएता पनि उनी सभ्यताकी प्रथम शिक्षिका हुन् । संसारभरका कुनै विश्व विद्यालयले दिन नसक्ने प्राकृतिक र आध्यात्मिक ज्ञान आमाबाट नै प्राप्त गर्न सकिन्छ । आमाको काखलाई ज्ञानको प्रथम विश्वविद्यालय भनिन्छ ।

जीवनमा भयंकर दुःख पर्दा भगवान्भन्दा पनि पहिले हामी आफ्नी आमालाई सम्झन्छौं । अबोध बालकको मनमस्तिष्कले आमालाई नै उसको सुरक्षा गर्ने मातृशक्तिको रूपमा ग्रहण गर्छ । आमाको काखलाई सुरक्षित स्थान ठान्ने आदिम मानव जातिले आफ्नो राष्ट्र र क्षेत्रको सिमानाहरूमा मातृकाका मन्दिरहरू निर्माण गरेको पाउँछौं ।

काठमाडौं सभ्यताको यस खाल्डोमा स्थापित तीन सहरका सीमानाहरूमा बनाइएका मातृदेवीको प्रतिमा र स्थापित मन्दिरहरू मनो–वैज्ञानिक रूपमा सुरक्षा भावनासँगै गाँसिएर निर्माण भएका हुन् । काठमाडौं सभ्यतामा पाइएका प्राचीन मातृकाका मूर्तिहरूले कला र सिर्जना गर्ने क्रममा यसै चिन्तन स्वरूप नारी, प्रकृति र जननीलाई नै सिर्जनाको प्रेरणाको स्रोतको रूपमा ग्रहण गरेको पाउँछौं । धार्मिक तथा पौराणिक ग्रन्थहरूमा भगवान्ले नारीलाई आफ्नो शक्तिको रूपमा ग्रहण गरेको पाइन्छ । प्रकृतिबिना देवतासमेत कमजोर भएको कथा पढ्न पाइन्छ ।

यसै दार्शनिक परम्परामा मातृशक्तिलाई अधिष्ठात्री देवीको रूपमा उपसना गरिएको पाइन्छ । नारी र प्रकृतिको उचित सम्मान र सम्बोधनबिना प्रकृतिको संरक्षण नहुने हुँदा हिन्दु शास्त्रकारहरूले नारी शक्तिको महत्त्वलाई स्थान दिएका हुन् । हाम्रा कुनै पनि धार्मिक ग्रन्थहरूमा नारी अस्मितालाई असम्मान गरिएको छैन । हिन्दु शास्त्रकारहरूले नारीलाई पृथ्वी समान सम्बोधन गरेर पृथ्वीलाई आमाको रूपमा पुकार गरेका छन् ।

नारीलाई श्री, श्रीलक्ष्मी, सौभाग्यलक्ष्मी, राज्यलक्ष्मी र धनलक्ष्मीको रूपमा अनुष्ठान गरिएको उदाहरण शास्त्रहरूमा पाइन्छ । पृथ्वीलाई आदिमाता, आदिशक्ति, र आधःशक्तिको रूपमा मानव मस्तिष्कको आदिम चेतनाले स्वीकार गरेको तथ्य ऐतिहासिक, प्रागितिहासिक र धार्मिक अध्ययनबाट समेत प्रमाणित छ । प्रकृति र पुरुषको संयोजन र वियोजनबाटै सिर्जना र विनाश हुन्छ भन्ने सांख्य दर्शनको दार्शनिक आधारलाई आध्यात्मिक दृष्टिकोणबाट मात्र होइन भौतिकवादी चिन्तन प्रणालीबाट समेत विश्लेषण गरिएको पाइन्छ ।

बढ्दो भौतिकवादी चिन्तनको कारणले हाम्रा मूल्य, मान्यता र आस्थाको पर्खाल ढल्दै गएका हुन् । बदलिँदो सामाजिक र सांस्कृतिक परिवेशमा गुरुको मूल्य र मान्यतामा परिवर्तन आएको छ भने सभ्यताकी प्रथम शिक्षिकाकी रूपमा पूजित हाम्रा आमाहरू दिनहँजसो बलात्कृत भइरहेका छन् । कथित पुरुषत्वको अन्धःवेगको अचानोमा आफ्नो अस्तित्व गुमाउन बाध्य भएका आमाहरूलाई न्याय दिलाउन कुनै न्यायाधीश र मठाधीशहरू तयार छैनन् ।

पूर्वीय धर्म र संस्कृतिले प्रतिपादन गरेका नैतिकता र आचारसंहिताले विश्वमा हामीलाई चिनाएको छ । तर हाम्रो पहिचानको यस आधारलाई पश्चिमाहरूले क्रमिक रूपमा मेटाउने प्रयाससमेत गर्ने गरिएको देखिन्छ । नारी हक र अधिकारको बारेमा हाम्रा शास्त्रकारहरूले उचित व्याख्या गरेका छन् । तिनको समयानुकूलको उचित अध्ययन, अन्वेषण र अनुसन्धान नगरी स्वधर्मलाई ललकार्दै परधर्मलाई स्वीकार गर्नुलाई कुनै पनि हालतमा उचित मान्न सकिँदैन र यसलाई एक प्रकारको धार्मिक अनाचार नै मान्न सकिन्छ ।

स्वधर्मको रक्षा र पालना नगरी परधर्मका समेत संरक्षण हुन सक्दैन भन्ने हिन्दु शास्त्रकारहरूको मानवताबादी दर्शनलाई समयानुकूल परिवर्तन गरेर अपनाउनु उचित हुन्छ । जननी जन्म भूमिश्च स्वर्गाऽदपि गरियसी अर्थात् जन्मभूमि र जन्मदिने आमा स्वर्गभन्दा पनि महान् हुन्छ भन्ने पूर्वीय दार्शनिक आधार छ । यसै नीति वचनलाई अपनाउन सकेमात्र स्वधर्मको रक्षा र गुरुप्रति सच्चा सम्मान हुन गई गुरुपूर्णिमाले महत्त्व पाउँछ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.