ईपीएस परीक्षामा ६ प्रतिशत पास
काठमाडौं: ईपीएस भाषा परीक्षामा ३५ सय १७ जना पास भएका छन् । कोरियाले यसअघि तोकेको कोटाभन्दा चार सय १७ जना बढी परीक्षार्थी पास गरेको हो । उत्तीर्ण संख्या ६ प्रतिशत हुन आउँछ । एचआरडी कोरियाले मंगलबार भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको हो । ५९ हजार जनाले भाषा परीक्षा दिएका थिए ।
नेपालले कोटा बढाइदिन आग्रह गरेको थियो । रोजगारदाताको अन्तिम सूचीलाई समेत आधार मानेर परीक्षा सार्वजनिक गर्ने बेलामा थोरै कोटा बढाइएको ईपीएस कोरिया शाखाले जानकारी दिएको छ । भाषा परीक्षा पास भएकाले अब स्किल टेस्ट गर्नेछन् । त्यसपछि स्वास्थ परीक्षण गरी रोजगार आवेदन फारम भर्नुपर्छ । यी सबै काम असोज पहिलो सातादेखि सुरु हुनेछ । दसैंअघि जाने कामदारले पूरा गर्नुपर्ने सबै प्रारम्भिक प्रक्रिया पूरा भइसक्ने गरी तयारी गरिएको छ ।
ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले भाषा परीक्षामा पास भएकालाई असोज पहिलो सातादेखि स्किल टेस्ट, स्वास्थ परीक्षणलगायतका काम पूरा गर्न सुरु हुने जानकारी दिए । ‘दसैंअघि सबै प्रारम्भिक काम पूरा भइसक्छ', उनले भने । भाषा परीक्षा पास गरेकाहरूको काम गर्न कोरिया जानेक्रम भने आगामी जनवरीदेखिमात्र सरू हुनेछ । सबै प्रक्रिया पूरा भएपछि जाने कामदारको सूची रोस्टरमा राख्ने गर्छ । रोजगारदाताले सोही रोस्टरमा भएको सूचीका आधारमा आफूलाई आवश्यक कामदार छनोट गर्छन् ।
दक्षिण कोरिया नेपाली कामदारका लागि रोजगारीको आकर्षक गन्तव्य हो । नेपालले सन् २००८ देखि त्यहाँ प्रशिक्षार्थी कामदार लैजान थालेको हो । जाने बित्तिकै नेपाली कामदारले मासिक न्यूनतम एक लाख ३० हजार हाराहारीमा कमाउन सक्छन् । अनुभवी भएपछि कमाई अझ बढ्छ । अतिरिक्त समय काम गर्नेले मासिक साँढे दुई लाखदेखि तीन लाखसम्म पनि कमाउने गरेको त्यहाँ काम गरिरहेकाहरू सुनाउँछन् ।
हाल कोरियामा ३१ हजार नेपालीले काम गरिरहेका छन् । उद्योग र कृषि क्षेत्रमा नेपालीले काम पाएका छन् । कोरियामा म्यानपावर कम्पनीले कामदार पठाउन पाउँदैनन् । दुवै देशका सरकारीस्तरमा (जी टु जी) मात्र कामदार आदानप्रदान गर्ने व्यवस्था छ । पछिल्लो समय उच्चशिक्षा हासिल गरेका, यहाँ राम्रै काम वा व्यापार व्यवसाय गरेर बसिरहेका युवाको पनि त्यहाँ जान चाहने आकर्षण निकै बढेको छ ।
कोरियाको आकर्षणकै कारण काम गर्ने अवधि पूरा गरेका कामदारसमेत नफर्किन प्रवृत्ति बढ्दोछ । चार वर्ष १० महिना पार गरेपछि कोरियाले विदेशी कामदारलाई गैरकानुनी घोषित गर्छ । हाल यस्ता गैरकानुनी नेपाली कामदारको संख्या एक हजारभन्दा बढी छ । गैरकानुनी बढेपछि कोरियाले स्वेदश फिर्ता हुनेलाई फेरि कोरिया जान पाउने बाटोसमेत खुला गरिदिएको छ ।
भाषा परीक्षा पास भएकाले अब स्किल टेस्ट गर्नेछन् । त्यसपछि स्वास्थ्य परीक्षण गरी रोजगार आवेदन फारम भर्नुपर्छ । यी सबै काम असोज पहिलो सातादेखि सुरू हुनेछ ।