प्युठान पहिरो : ज्यान गुमाउनेको संख्या २० पुग्यो
प्युठानः प्यूठानमा अविरल वर्षापछि आएको बाढी र पहिरोले पुरेर ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।
गएराति पनि अविरल वर्षासँगै आएको पहिरोले ठोक्लि ६ सिमका पाँच घर बगाएको छ । पहिरोले घर बगाउँदा नारायण केसी, द्रोण केसी र पवित्रा केसीको ज्यान गएको छ । पहिरोले बगाएर चार जना बेपत्ता भएका छन् ।
त्यस्तै ठोक्लिको सारिवाङमा पहिरोले बगाएर बेपत्ता बनाएका ५२ वर्षका मनिराम पुनको शव फेला परेको छ । त्यस्तै ४५ वर्षका तेज पुन र उनकी ४२ वर्षकी श्रीमती खोली पुनको पनि शव फेला परेको प्रहरीले जनाएको छ ।
पहिरोमा परी नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य हरिबहादुर केसी र उनकी श्रीमती, नरबहादुर बुढाथोकी र उनकी श्रीमती बेपत्ता भएका छन् ।
योसँगै प्युठानमा बाढीले बगाएर र पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या २० जना पुगेको छ । २४ जना बेपत्ता भएका छन् ।
बाढी पहिरोमा परी ज्यान गुमाउने, बेपत्ता हुने र क्षतिको विवरण संकलनका लागि उद्दारमा खटेको दैवीप्रकोप उद्धार समितिको बैठक अहिले बसिरहेको छ । बैठकले राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल गरिरहेको छ ।
उद्धारमा तदारुकता देखाउन सरकारको ध्यानाकर्षण
यसैबीच पूर्व उपप्रधानमन्त्री बामदेव गौतमसहितको टोलीले प्युठानमा गएको पहिरोमा परी पीडित बनेका नागरिकको उद्धार तथा पुर्नस्थापनाका लागि तदारुकता देखाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
योजना आयोगका पूर्व उपाध्यक्ष प्राध्यापक डाक्टर गोविन्द पोख्रेल, सांसदहरु हिराबहादुर केसी, दुर्गा पौडेल, धनबहादुर रायमाझी, पुर्णराम थापा, पूर्व सांसद मुक्ति शर्मालगायतको टोली गृहमन्त्रालयमा पुगेर गृहमन्त्रीको ध्यानाकर्षण गराएको हो ।