सिंहदरबार भित्र ल्यापटप र एक लाख चोरी

सिंहदरबार भित्र ल्यापटप र एक लाख चोरी

काठमाडौँ: मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा २४ सै घण्टा प्रहरीले सुरक्षा पहरा दिइरहेको हुन्छ । सुरक्षार्थ डीएसपीको कमाण्डमा प्रहरी गण समेत छ ।

बुधबार एकाएक संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव चिरञ्जिवी तिमल्सिनाको ल्यापटप, आईप्याड र एक लाख रुपैंयासहितको ब्याग चोरी भयो । उनी बबरमहलमा नगरपालिका यातायात गुरुयोजनाको कार्यक्रम सकाएर १० बजे मन्त्रालय पुगे । केहीबेरको बसाईपछि कार्यक्रमको जानकारी दिन अर्को महाशाखामा गए ।

नगरपालिका व्यवस्था शाखा ‘ख’ का प्रमुख समेत रहेका तिमल्सिनाका अनुसार अरुलाई ऋण तिर्न एक लाख रुपैंया व्यागमा राखेका थिए । ‘आधाघण्टाको बीचमा चोरले ब्याग नै उठाएर लगेछ, म त बरबाद भएँं, ऋण तिर्न बोलाएको थिएँं, अब के तिर्नु, ल्यापटप र आईप्याड पनि लगेछ,’ तिमल्सिनाले अन्नपूर्णसँंग भने । उनले घटनाबारे अनुसन्धान गरि चोर पत्ता लगादिन टेकुस्थित महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिएका छन् ।

सिंहदरबार भित्र भएको चोरी घटना यो पहिलो होइन । यसअघि पनि पटकपटक चोरीका घटना भएका छन् । दुई वर्ष अघि शान्ति तथा पुननिर्माण मन्त्रालयको चौथो तलामा रहेको इमर्जेन्सी पिस सपोर्ट प्रोजेक्ट (इपिएसपी) का कार्यवहाक प्रमुख धु्रव प्रसाद पौडेलेको कार्यकक्षबाट ल्यापट चोरी भएको थियो ।

उक्त ल्यापटप मन्त्रालयमै कार्यरत कार्यालय सहायक माधवप्रसाद पाण्डेले चोरी गरेको पत्ता लागेको थियो । करारमा नियुक्त गरिएका पाण्डेले अवकास पाइसकेपछि कार्यालय आएर ल्यापटप चोरी गरेको अनुसन्धानपछि खुलेको थियो ।

२०७१ कात्तिकमा परराष्ट्र मन्त्रालयका कम्प्युटर अधिकृत विकेक कन्दङवाको मन्त्रालयकै पार्किङबाट पल्सर मोटर साइकल चोरी भएको थियो । शान्ति तथा पुनर्निमाण मन्त्रालयबाटै तीन वर्ष तत्कालीन सचिव धु्रवप्रसाद शर्मा कार्यकक्षको हलबाट मल्टिलेन्स प्रोजेक्टर चोरी भएको थियो। करिब साढे दुई लाख रुपैयाँ पर्ने प्रोजेक्टर आजसम्म पनि कसले चोर्‍यो पत्ता लागेको छैन ।

२०७० मंसिरमा कृषि विकास मन्त्रालयमा जाइकाले दिएको ल्यापटप चोरी भएको थियो । जुन अहिलेसम्म पनि फेला पर्न सकेको छैन । सिंहदरवार जस्तो कडा सुरक्षा भएको ठाउँबाट चोरीका घटना बारम्बार सार्वजनिक हुँदासमेत अहिलेसम्म अधिकांश चोरीका घटनामा संलग्नको पहिचान खुल्न सकेकोे छैन।

सिंहदरबार प्रहरी गणका प्रमुख राम प्रसाद चापागाइँले चोरी भएको घटनाबारे आफु जानकार रहको बताए । उनले भने,‘दुई वर्षअघि सिंहदरबार भित्र लागातार चोरी भएपछि प्रहरीले सुरक्षाजाँच बढाएको थियो, अहिले आएर फेरी चोरी भएको सुनियो, सिंहदरबार वृत्तको प्रहरीसँग समन्वय गरेर अनुसन्धान गरिरहेका छौं ।’

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले तिमल्सिनाको उजुरी प्राप्त भएको जानकारी दिंदै अनुसन्धान भईररहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.