आतंकवाद विरुद्ध चिनियाँ औषधि

आतंकवाद विरुद्ध चिनियाँ औषधि

बेइजिङः विश्वशान्ति र विकास प्रयासको नेतृत्व गर्ने चीनको प्रयासले निकै हदसम्म अनुमोदन हासिल गरेको छ, अनौपचारिक रूपमा । यो प्रयास पक्कै पनि अर्थतन्त्र र सामरिक सुरक्षामा प्रतिस्पर्धी रहेको अमेरिकालाई पछाडि पार्दै सम्मानजनक नेतृत्व हासिल गर्नुतर्फ पनि लक्षित छ । प्रारम्भिक तथा अनौपचारिक रूपमा उसले अनुमोदन हासिल गरेको छ ‘वन बेल्ट, वन रोड' परियोजनामार्फत ।

चीनको प्राचीन ‘रेशमी मार्ग' लाई व्यापारिक संस्कृतिको आधार मान्दै त्यसलाई सतही र समुद्री मार्गमार्फत समग्र विश्वको विकासमा विकसित गर्ने महत्त्वाकांक्षी परियोजनामा चीनले केही महत्त्वपूर्ण फड्को मारिसकेको छ । त्यसलाई उसले विश्वका दुई ठूला समस्या— आतंकवाद र शरणार्थी मामिला समाधानका रूपमा पनि प्रस्तुत गरेको छ ।

‘विभिन्न संस्कृति र सिद्धान्तबीच निरन्तर बहस र अन्तरक्रियाको माध्यम बन्नेछ यो परियोजना', कम्युनिस्ट पार्टी अफ चाइनामा पाँचौं वरीयताको हैसियत राख्ने नेता लियु युनसानले बुधबार ‘द ग्रेट हल अफ दी पिपुल' मा करिब ७० देशका सञ्चारकर्मीसमक्ष यो अभिव्यक्ति दिए ।

घुमाउरो पारामा उनले इस्लामिक आतंकवादको मूलमा निकै हदसम्म रहेको अमेरिकी नीति र युरोपभित्रै जटिल रूपमा देखापरेको शरणार्थी समस्या समाधानमा चीन लागेको सन्देश दिएर भावी विश्व नेतृत्वको पात्रता प्रस्तुत गरेको बुझ्न कठिन थिएन ।

उनको यो कार्यक्रम ‘पिपुल्स डेली अफ चाइना' ले आयोजना गरेको ‘२०१६ मिडिया कोअपरेसन फोरम अन बेल्ट एन्ड रोड' समारोह समापनको मुख्य पाटो थियो । उक्त फोरममा ७० भन्दा बढी मुलुकका सञ्चारकर्मीमात्र उपस्थित थिएनन्, करिब ३० विभिन्न मुलुकका सञ्चारमाध्यमले परियोजनाको विकासमा सहयोगी भूमिका निर्वाह गर्ने सहमतिमा हस्ताक्षर पनि गरे, पिपुल्स डेली अफ चाइनासँगको सहकार्यमा ।

 

दैनिक ३१ लाख प्रति बिक्ने उक्त पत्रिका एउटा ‘मल्टी मिडिया' संस्था र चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र पनि हो । ‘सिल्क रोड' वा ‘वन बेल्ट, वन रोड' परियोजनालाई राष्ट्रपति सी जिनपिङले आफ्नो ‘भिजन परियोजना' का रूपमा सार्वजनिक गरेपछि त्यसबारे पिपुल्स डेलीले आयोजना गरेको यो तेस्रो सम्मेलन हो ।

‘यो परियोजना मानव जातिको साझा भाग्य निर्माणमा समर्पित छ', चिनियाँ कम्युनिस्ट पार्टीका ती सदस्य लियुले भने । अनि आतंकवाद र शरणार्थी समस्यासँग वर्तमान परिवेशलाई जोड्दै ‘विकासमा सबैलाई समावेशी महसुस गराउन सकियो भने' यी दुई समस्या समाधान हुनेछन् । विकासबाट कुनै भूभाग वा कुनै ‘संस्कृति' वा कुनै मुलुक बाहिर रहनु हुँदैन ।

र, विकासमार्फत नै इस्लाम, बुद्ध धर्म वा अन्य कुनै पनि धर्मसँग छलफल र अन्तरक्रिया गर्न सकिन्छ । अझ अमेरिकी लेखक स्यामुयल पी हन्टिङ्टनको नामै लिएर ती कम्युनिस्ट पार्टी सदस्यले प्रश्न गरे, ‘कुनै एउटा संस्कृति कसरी अरूभन्दा ठूलो र शक्तिशाली होला ? '

त्यो हन्टिङ्टनको बहुचर्चित पुस्तक ‘क्ल्यास अफ सिभिलाइजेसन' प्रति लक्षित थियो यद्यपि उनले पुस्तकको नाम उच्चारण गरेनन् । अर्कोतिर उनको आक्रमण उच्चारण नगरी पहिचान र जातीयताका मुद्दाहरूविपरीत पनि त्यत्तिकै लक्षित थियो । सबै संस्कृतिको उत्थान विकासबाट सम्भव भएको तर्क पनि उनले राखे ।

‘चीन कसैलाई निषेध गर्न चाहँदैन र विकासमार्फत हामी सबैबीच छलफल तथा अन्तरक्रिया गराउन चाहन्छौं र सिल्करोड परियोजनाको उद्देश्य त्यही हो', उनले भने । विकसित समृद्ध चीनको व्यावहारिक स्वरूपद्रष्टा देङ सियाओ पिङको ‘शान्ति र विकास' आज विश्वको आवश्यकता भएको र त्यसले नै युद्धको समाप्ति र आतंकवाद तथा शरणार्थी समस्या समाधान हुने उनको मान्यता थियो । ‘दोस्रो ठूलो अर्थतन्त्रका हैसियतमा चीन विश्वशान्ति र विकासमा योगदान पुर्‌याउन चाहन्छ', उनले भने ।

राष्ट्रपति सी जिनपिङको घोषणालगत्तै चीनले लगानी र भौतिक पूर्वाधार सुनिश्चित गर्न अन्तर्राष्ट्रिय बैंक स्थापित गर्‌यो । यसलाई अमेरिकी हितका लागि स्थापित मानिने विश्व बैंक र इन्टरनेसनल मनिटरी फन्डको समानान्तर संस्थाका रूपमा हेरिएको छ ।

चीनले त्यसका लागि करिब ९० खर्ब डलर (नौ ट्रिलियन) दिने प्रतिबद्धतासँगै अस्ट्रेलिया, भारत, मध्यएसिया, मलेसिया आदि मुलुकमात्र हैन, युरोपेली संघबाट बाहिरिएको बेलायतलाई पनि सामेल गरेको छ, झन्डै ७० मुलुकसँगै । दक्षिणएसियामा नै उसले यो परियोजनासँग जोड्न श्रीलंका तथा पाकिस्तानमा बन्दरगाह निर्माण गरेको छ भने सडक र रेल सम्पर्कबाट नेपाललाई जोड्ने लक्ष्य छ ।

फैलिँदो व्यापारबाट आउने समृद्धि र जनता–जनताबीचको बढ्दो सम्पर्कबाट उनीहरूका आधारभूत आवश्यकता अर्थात् शिक्षा, स्वास्थ्यजस्ता विषयमा समेत यो परियोजनाका लाभ खर्च गरिने उद्देश्य चीनले राखेको छ । यस परियोजनाबारे विस्तृत जानकारी राख्ने कानुन विशेषज्ञ डा. विपीन अधिकारीका अनुसार चिनियाँ रेलसँग नेपाल जोडिँदा नेपाल चीनवरिपरिका अन्य १४ मुलुकसँग पनि जोडिनेछ ।

चीनको आधिकारिक तहबाट केही नभनिए पनि इजिप्टलगायतका सञ्चार अगुवाहरूले अमेरिकाले इराक, लिबिया, सिरियालगायत मुलुकको आन्तरिक सार्वभौमसत्ताको उल्लंघन र अवमूल्यन गरेकाले आतंकवाद र शरणार्थी समस्याले विकराल रूप लिँदै गएको तर्कसाथ चीनको ‘बेल्ट एन्ड रोड' परियोजनालाई पूर्ण सफल गराउने तर्क राखेका थिए ।

चीनले परियोजनाका प्रारम्भिक तीन वर्षमै अन्तर्राष्ट्रिय जगत्मा आफ्नो नेतृत्वको पात्रता र हैसियत स्थापित गरिसकेको छ । यो परियोजनाको चरणबद्ध सफलतासँगै चीनले छिमेक र टाढाका मुलुकहरूमा अहस्तक्षेपकारी शक्तिका रूपमा आफूलाई कसरी स्थापित गरिरहनेछ, त्यो आगामी दिनमा उसका लागि ठूलो चुनौती सिद्ध हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.