राजनीति धन्दा र शिक्षा व्यापार भएपछि !

राजनीति धन्दा र शिक्षा व्यापार भएपछि !

अहिंसाका पुजारी महात्मा गान्धीले चलाएको ‘भारत छोडो' आन्दोलनमा नेपालका नेताहरू बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी सरिक भएको इतिहास छ । यी तीनैजना नेपालमा प्रधानमन्त्रीसमेत बने । उनीहरूको जीवन आदर्श सम्मानित र स्तुत्य छ । उनीहरू त्यसै भारत छोडो आन्दोलनमा सहभागी भएका हैनन् ।

आन्दोलनका सारथि गान्धीको आदर्श विचार र व्यवहारले उक्त आन्दोलनमा भारतवासीसँगै अनुयायी भएका हुन् । यी तीनैजनाले बनारस हिन्दु विश्वविद्यालयबाट उच्च शिक्षा लिएका थिए । दक्षिण एसियामा नै उक्त विश्वविद्यालयको गौरवमय इतिहास छ ।

गान्धीको राजनीतिक जीवन स्मरण गर्दा अन्तिम दिनहरूमा उनको आस्था र भरोसा राजनीतिबाट विच्छेद थियो । आफूले विश्वास गरेको राजनीतिक दल कांग्रेसको चरित्रका कारण उनले सम्बन्धविच्छेद नै गर्नु परेको थियो । त्यस बखत उनलाई छुट्टै पार्टी निर्माण गर्न सल्लाह दिनेहरू पनि थिए । तर, उनले त्यो मार्ग रोजेनन् ।

बरु भन्दिए, जसलाई राजनीति गर्नु छ, कांग्रेसमै जाऊ राजनीति गर, मेरो उद्देश्य पूरा भएको छ, भारत स्वतन्त्र भएको छ । अबको बाँकी जीवन समाजसेवामा लगाउनेछु । तर दुर्भाग्य ! उनको आयु जनवरी ३० सन् १९४८ सम्म मात्र रह्यो । स्वतन्त्र देशको नागरिक भएर गान्धी मात्र एक सय ६८ दिन बाँचे ।

भारतका राम्रा कामको भन्दा नराम्रा कामको प्रभाव नेपालमा रात दुगुना दिन चौगुना परिरहेको हुन्छ । त्यसैको परिणाम हो, नेपालमा घृणित राजनीतिको खेलसँगै यहाँको वैभवशाली समाजिक संस्कृति, चिन्तन र सेवा भावनाको मृत्यु ।

उनको जीवन बहुआयामिक थियो । त्यसको उदाहरणमध्ये चर्खा प्रचार अभियान र विदेशी शिक्षा बहिष्कारसँगै स्वदेशी शिक्षाको सुरुआतलाई मान्न सकिन्छ । उनले आफ्नै पहलमा शैक्षिक संस्थाहरू स्थापना र सञ्चालन गरे । बिहारमा बिहार विद्यापीठ, बनारसमा काशी विद्यापीठ, गुजरात अहमदाबादमा गुजरात विद्यापीठ लगायतका शैक्षिक संस्था उनले स्थापना गरेका थिए ।

ती संस्था अहिले पनि निरन्तर छन् । त्यसैगरी कांग्रेस आईका संस्थापक अध्यक्ष मदनमोहन मालवियले स्थापना गरेको बनारस हिन्दु विश्वविद्यालय, रवीन्द्र्रनाथ टैगोरले सञ्चालन गरेको शान्ति निकेतन लगायतका शैक्षिक संस्था आज पनि भारतमा समयसापेक्ष शिक्षा दिन सफल छन् । ती संस्था कुनै दलविशेषका रूपमा दर्ज छैनन् । निजी स्वामित्वमा पनि छैनन् । राज्यले उनीहरूको त्याग र समर्पणलाई सम्मान गर्दै स्वामित्व ग्रहण गरेर सञ्चालन गरेको छ ।

गान्धीले कांग्रेससँग सम्बन्धविच्छेद गरे पनि ती संस्थासँगको सम्बन्ध र उत्तरदायित्वबाट कहिल्यै पन्छिएनन् । ‘निःस्वार्थ सेवा मै ही हृदय स्पर्श हो सकता हैं', गान्धीको वाणी थियो ।

तर आज त्यही भारतमा उनको आदर्श घाँडोजस्तै भएको छ । भारतमा पनि धूर्त चरित्र भएका दल र नेताहरूका कारण आदर्श र निष्ठा धरमराएको अवस्था छ । त्यसैगरी नेपालमा पनि । भारतका राम्रा कामको भन्दा नराम्रा कामको प्रभाव नेपालमा रात दुगुना दिन चौगुना परिरहेको हुन्छ । त्यसैको परिणाम हो, नेपालमा घृणित राजनीतिको खेलसँगै यहाँको वैभवशाली समाजिक संस्कृति, चिन्तन र सेवा भावनाको मृत्यु ।

शिक्षालाई सेवा मानेर राजनीति गरेका दल र नेताहरू आज त्यही शिक्षामा अपारदर्शी स्रोतको लगानी गरेर व्यापारी बन्न सफल छन् । कुनै बेला आदर्शवादी समाजको कल्पना गर्ने समाजवादी चिन्तक बीपी कोइरालाको विरासत बोक्ने परिवार र दलका कार्यकर्तादेखि मनमोहनको आदर्श र विचारको जगमा बनेको पार्टीका कार्यकर्ता आज निजी शैक्षिक संस्थाका पक्षपाती भएर आदर्श र निष्ठाको राजनीतिको दुहाई दिन चुक्दैनन् ।

विडम्बना ! तिनै दलबाट सांसद, मन्त्री र अन्य सम्मानित ओहदामा आसीन हँदा अपारदर्शी स्रोतबाट आर्जित वैभव लगानी गरेर शैक्षिक संस्था सञ्चालन गर्दा उनीहरूलाई किञ्चित पनि लज्जाबोध छैन । त्यसरी लगानी गरिएका संस्थाबाट आर्जित सम्पत्तिको आडमा तिनै दलका नेता र कार्यकर्ता धनाढ्य राजनीतिज्ञ र समाजसेवी बन्ने होडमा छन् ।

 

राजनीतिमा आफूहरूले आर्जेको सम्मान र पहिचानलाई शिक्षा र स्वास्थ्यमा लगानी गर्दै राज्यको सेवालाई गुणस्तरहीन बनाउन उनीहरू सक्रिय हुने गरेका छन् । त्यसकै उपज हो डा. केसीको पटकपटकको अनशन ।

नेपालको संविधानमा मौलिक हकअन्तर्गत उल्लेख भएको शिक्षाको ग्यारेन्टी र हालै व्यवस्थापिका संसद्ले पारित गरेको शिक्षा ऐनले माध्यमिक तह मानेको कक्षा १२ सम्म निःशुल्क व्यवस्था गर्न यी दलहरूले चासो देलान् त ? सरकारी शिक्षाको स्तर खस्कनुको जिम्मेवारी लिन नसक्ने दलहरूले आफैंले बनाएको संविधान ऐन कार्यान्वयनमा इमानदारिता देखाउलान् त ?


त्यसो त अहिलेसम्म दलहरूले चुनावी घोषणापत्रमा देखाएको आश्वासन पूरा गरेनगरेको कसले पो मूल्यांकन गरेको छ र ? संविधानअनुसार ०७४ माघसम्ममा प्रतिनिधिसभाको चुनाव हुनुपर्नेछ । त्यति बेला पनि दलहरूले घोषणापत्रमा शिक्षामा सबैको पहुँच लेखेर नारा बनाउने पक्का छ । कार्यान्वयन गर्नु नपर्ने आश्वासन बाँड्ने त पञ्चायतकालदेखिकै चलन हो ।

गणतन्त्र आउँदा पनि त्यो चलन फेरिन सकेको छैन । उल्टो शिक्षामा समान पहुँचको प्रतिबद्धता गर्ने दलका नेता–कार्यकर्ताको ठूलो लगानीले पछिल्लो एक दशकमा मुलुकको शिक्षा क्षेत्रमा व्यापारीकरण भएको छ ।

निजी शैक्षिक संस्था सञ्चालकहरूले शिक्षामा गरिएको लगानी सेवामूलक भएको दाबी गर्दै आएका छन् । उपभोग्य वस्तुको बजारसँग तुलना गर्दै बजार वृद्धिदरलाई आधार बनाएर प्रत्येक वर्ष शिक्षा शुल्कमा १० देखि १५ प्रतिशतले वृद्धि गर्दै आएका छन् । यस्तो अवस्थामा कसरी मान्ने शिक्षालाई सेवामूलक व्यवसाय ?


कुनै बेला आदर्शवादी समाजको कल्पना गर्ने समाजवादी चिन्तक बीपी कोइरालाको विरासत बोक्ने परिवार र दलका कार्यकर्तादेखि मनमोहनको आदर्श र विचारको जगमा बनेको पार्टीका कार्यकर्ता आज निजी शैक्षिक संस्थाका पक्षपाती भएर आदर्श र निष्ठाको राजनीतिको दुहाई दिन चुक्दैनन् ।

अन्तरिम संविधानमा शिक्षालाई मौलिक अधिकारमा समावेश गरिए पनि समान पहुँच गराउन संविधान सभामा अक्कल-क्कलबाहेक बहस नै भएन ।

राजनीतिक दलका कार्यकर्ताले शैक्षिक संस्थामा अपारदर्शी तरिकाले लगानी गरेर शिक्षामा चरम व्यापारीकरण गरेकै कारणले संसद्मा बहसको विषय बन्न नसकेको हो । एमाले, कांग्रेस, माओवादी केन्द्रलगायतका दलहरूले शिक्षामा निजी क्षेत्रबाट गरिएको लगानीबारे स्पष्ट अवधारणा बनाउन सकेका छैनन् । त्यसैको फाइदा उठाउँदै दलहरूमा जिम्मेवार हैसियत राख्ने नेताहरूले निजी शैक्षिक संस्थामा लगानी गरे तर लगानीको स्रोत पारदर्शी छैन ।

बैंकहरू उनीहरूको लगानीका साक्षी बनिदिएका छन्, जसले शिक्षामा व्यापारीकरणलाई प्र श्रय दिएको छ । शिक्षामा भएको व्यापारीकरणले राज्यले शिक्षामा गरेको अर्बौं लगानी निरर्थक बनाएको छ ।

सरकारी शिक्षाको स्तरमा सुधार ल्याउनुको सट्टा नेता आफैंले निर्धक्क शिक्षामा लगानी गरेका छन् । शिक्षामा विभेद निम्त्याएर अभिभावक तथा विद्यार्थीलाई निजी शैक्षिक संस्थाका उपभोक्ता बनाउन उनीहरूको भूमिका छ । दलसँगको आबद्धतालाई उनीहरूले शिक्षाको व्यापारमा उपयोग गर्दै आएका छन् । दलहरूले संविधानमा ग्यारेन्टी गरिएको र चुनावी घोषणापत्रमा गरिएको प्रतिबद्धता उल्लंघन गर्नु कुनै नौलो प्रसंग भएन ।

आधारभूत तहको शिक्षामा सबैको समान अधिकार भनेर दाबी गरेका दलका जनप्रतिनिधिले नै शिक्षामा लगानी गरेर व्यापारीकरण गर्नु कत्तिको न्यायोचित हो ? पार्टीले घोषणा गरेको मान्यतालाई बेवास्ता गर्दै जिम्मेवार नेताहरूले नै अपारदर्शी तरिकाबाट निजी शैक्षिक संस्थामा लगानी गरेपछि आधारभूत तहको शिक्षासमेत व्यापारीकरणको चंगुलमा फसेको छ ।

नयाँ शिक्षा ऐनले निजी विद्यालय सञ्चालनमा गुठीमा दर्ता भएर सञ्चालन हुनपर्ने व्यवस्था गरे पनि नेताहरूको लगानीकै कारण ऐन कार्यान्वयनमा आशंका छ ।

पछिल्ला वर्षहरूमा नयाँ खुलेका विद्यालय तथा कलेजहरूमा ठूला दल कांग्रेस, एमाओवादी र एमालेनिकट नेताकार्यकर्ताको ठूलो लगानी छ । एकातिर तिनै दलका विद्यार्थी संगठनले शिक्षामा विभेद भयो भन्दैछन् । विडम्बना ! सरकारी शिक्षाको स्तर खस्काउन भूमिका निर्वाह गर्ने राजनीतिक दलका नेता र कार्यकर्ताले अपारदर्शी स्रोतबाट आर्जित धन–वैभव लगानी गरेर शैक्षिक संस्था सञ्चालन गर्नु कति न्यायोचित हो ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.