पाठेघरको मुखको क्यान्सर र खोप अभियान
विश्वभरका महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर चौथो मुख्य हो। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्यांकअनुसार, सन् २०२० मा पाठेघरको मुखको क्यान्सरका कारण विश्वमा ६ लाख ४ हजार नयाँ बिरामी तथा ३ लाख ४२ हजार जनाको मृत्यु भएको छ। जसमा ९० प्रतिशत निम्न तथा मध्यम आय भएका देशका महिला छन्। नेपालमा हरेक वर्ष २ हजार २ सय ४४ नयाँ बिरामी र १ हजार ४ सय ९३ महिलाको मृत्यु भएको देखिन्छ।
सन् २०३० सम्म क्यान्सर निवारण गर्न डब्लूएचओेले अन्तर्राष्ट्रिय रणनीति ट्रिपल इन्टरभेन्सन टार्गेट बनाएको छ। जसमा ९०–७०–९० को अवधारणा लक्ष्य छ। नेपालको भने ९०–९०–९० छ। सन् २०३० सम्ममा ९० प्रतिशत किशोरीलाई १५ वर्षको उमेरसम्म पूर्णरूपमा एचपीभी खोप लगाइ सक्ने रहेको छ। ९० प्रतिशत महिलामा प्याप स्मियर टेस्ट गराउने र पाठेघरको मुखको क्यान्सर र प्रिक्यान्सर देखिएका ३५ देखि ४५ वर्षसम्मका ९० प्रतिशतको उपचार गर्ने लक्ष्य छ। लक्ष्यप्राप्तिले सन् २१२० सम्ममा ९९ प्रतिशतले क्यान्सर तथा मृत्यु घटाउन सकिन्छ। हालै सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामसम्बन्धी निर्देशिका २०७९ जारी गरेको छ। एचपीभी (हयुमन प्यापिलोमा भाइरस) पुरुषको शरीरमा सुषुष्तावस्थामा रहन्छ। तर, यस्तो पुरुषसँग सम्बन्ध बनाउने महिलाको शरीरमा यो भाइरस पाठेघर मुखको क्यान्सरको कारण हुन सक्छ। उपलब्ध खोपले रोक्न सकिन्छ। रोग धेरैजसोमा ४० वर्षको उमेर हाराहारीमा अर्थात् ३५ देखि ३९ वर्ष र ६० देखि ६४ वर्ष उमेर समूहमा लागेको देखिन्छ। पहिलेदेखि नै एचपीभी भएकाहरूसँग यौनसम्बन्ध राख्दा यसको संक्रमण हुन सक्छ। अधिकांश एचपीभी संक्रमण आफैं निको हुन्छ तर केही विषाणुले गर्भाशय मुखको कोषिकामा परिवर्तन ल्याई क्यान्सर बनाउन सक्छन्।
त्यसैगरी १८ वर्षभन्दा कम उमेरमा विवाह, बढी सन्तानको जन्म, धूमपान र चिकित्सकको सल्लाहबिना गर्भनिरोधक औषधिको सेवन, अंग प्रत्यारोपणपश्चात् प्रयोग गरिने इम्युनो सप्रेसेन्ट ड्रग खानेमा क्यान्सर हुने सम्भावना बढी हुने क्यान्सर सोसाइटीले जनाएको छ। असामान्य रूपमा योनीबाट रक्त श्राव हुनु ९० प्रतिशतमा पाठेघरमा क्यान्सर हो। यो रोग बढ्दै गएपछि गुप्तांगबाट गन्हाउने तथा रगत मिसिएको अस्वाभाविक तरल पदार्थ बग्छ। यौनसंसर्गमा बढी पीडा हुन्छ तथा पछि वा लगत्तै रगत देखिनसक्छ। महिनावारीको बीच–बीचमा, महिनावारी नभएको समयमा पनि योनीबाट रगत देखिन सक्छ। महिनाबारी हँुदा धेरै दिनसम्म वा बढी मात्रामा रगत बग्छ। लामो रक्त श्रावका कारण रक्तअल्पता हुन्छ। महिनावारी सुकिसकेका महिलाहरूमा योनीबाट रगत देखिनु क्यान्सरको लक्षण हुन सक्छ।
रोग ज्यादै फैलिएको अवस्थामा पानी बग्ने, कम्मर दुख्ने, तल्लो पेट दुख्ने, सुन्निने र हावा भरिएजस्तो हुने, मुत्र त्यागपछि मुत्रासयमा पीडा र गाह्रो अनुभव, खुट्टा सुन्निने, दिशापिसावमा रगत देखा पर्ने र दिशा पिसावमा अप्ठ्यारो र शारीरिक तौल अस्वाभाविक बढ्ने वा घट्ने जस्ता लक्षण हुन सक्छ। यो क्यान्सर पनि अरू क्यान्सर जस्तै पाठेघरमा सुुरु भएर शरीरको अन्य भागमा फैलिन सक्छ। पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सम्भव छ। किशोरीहरूलाई एचपीभी खोप उपलब्ध गराउने र ३० वर्ष नाघेका महिलामा नियमित परीक्षणमा भीआईए वा एचपीभी डिएनए जाँच गरेर पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिन्छ।
एचपीभी खोप
पाठेघरको मुखको क्यान्सर ९५ प्रतिशत बढीमा एचपीभीका कारणले हुन्छ। एचपीभीका १ सय ५० भन्दा बढी थरीका भए पनि १३ थरीले यो क्यान्सर गराउँछ। जसमा एचपीभी १६ र १८ ले ७० प्रतिशत, एचपीभी ३०, ३३, ३५, ४५, ५२ र ५८ ले २० प्रतिशत छ। एचपीभी ६ र ११ ले योनी मुसा–जेनाइटल वार्ट गराउँछ। यौनसम्पर्क सुरु भइसकेका ८० प्रतिशतमा एचपीभी संक्रमण हुन्छ, जुन धेरैजसोमा आफैं हराएर पनि जान्छ। एचपीभी भाइरसले मलद्वार, योनी, लिङ्ग र खाने मुखको तलपट्टिको भाग–ओरोफेरिन्जियल क्यान्सर पनि बनाउँछ। एचपीभी १६ र १८ ले मात्रै ७१ प्रतिशतभन्दा बढी क्यान्सर गराउने हुँदा बालिकाहरूको सक्रिय यौनजीवन सुरु हुनुभन्दा अघि नै यो खोप दिइनु उत्तम हो। रोकथामका लागि सन् २००६ देखि हालसम्म १४६ विश्वका मुलुकमा खोप प्रचलनमा छ। यसले एचपीभी ६, ११, १६ र १८ विरुद्ध लड्न सक्ने क्षमता दिन्छ। डब्लूएचओले मान्यता दिएका एचपीभी खोपहरूमा सर्भरिक्स, गाडासिल, गाठासिल ९ र सिकोलिन ब्रान्डका ४ वटा खोपहरू छन्। क्यान्सर उपचारको इतिहासमा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोपको आविस्कार अहिलेसम्मकै ठूलो उपलब्धि हो। सन् २००५ मा मात्र विकास गरिएको यो खोपले सन् २००६ को जुन ८ मा अमेरिकी खाद्य तथा अनुसन्धान प्रयोगशालाले गार्डसिल खोपलाई मान्यता दियो। विगतदेखि सबैजसो विकसित देशले यो खोप अपनाएको पाइन्छ।
नेपालमा चितवन कास्की, ललितपुर, काभ्रे, भक्तपुर, काठमाडौं, मकवानपुर, कपिलवस्तु, सर्लाही, महोत्तरीका किशोरीहरूलाई पाइलटका रूपमा खोप दिएको थियो। सरकारले पनि गत वर्ष ७ प्रदेशका १, १ वटा संघीय अस्पतालमा नमुनाका रूपमा १० हजार जनालाई २ मात्रा खोप लगाएको थियो। त्यसो त सरकारले आर्थिक वर्ष २०७९-०८० को वार्षिक बजेटमै खोप कार्यक्रम सुरुआत घोषणा गरेको थियो र बजेट घोषणामै सीमित भयो। आव २०८०-८१ को बजेटमा पनि क्यान्सर रोकथामका लागि ९ देखि १४ वर्षका बालिका लक्षित एचपीभी खोप कर्यक्रमलाई बिस्तार गरिने प्रतिबद्धता थियो।
धेरै जनालाई खोप लगाउन सकिने विश्वासका साथ विश्व स्वास्थ्य संगठनले सन् २०२२ को अप्रिल महिनाको अध्ययनमा सिकोलिन खोप १ मात्रा पनि उत्तिकै प्रभावकारी हुने देखाएको छ। विश्वमा सन् २००६ यता करिब २७ करोडले खोप लगाइसकेकामा कसैलाई पनि संवेदनशील जोखिमहरू देखिएको छैन।
खोप लगाएको ठाउँमा सुन्निने वा रातो हुनसक्छ। ज्वरो आएको छ भने निको भएपछि मात्र लगाउन्पर्छ। खोप लगाएको १५ देखि २० मिनेटसम्म निगरानीमा बस्नपर्छ। खोप लगाएकाहरूले पनि प्याप स्मियर नियमित गर्न जरुरी छ। सरकारले विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेरका र कक्षा ६ देखि १० मा अध्ययनरत किशोरीलाई खोपका लागि लक्षित गरेको छ। पाठेघरको मुखको क्यान्सरबाट जोगाउन मनाङ, मुस्ताङ, हुम्ला र डोल्पा जिल्लामा हिमपात भएकाले फागुन तेस्रो साता र अन्य ७३ जिल्लामा माघ २२ गतेबाट २ साता चलेको एचपीभी खोप अभियानका लागि ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन (गाभी)बाट प्रदान भएको चिनियाँ कम्पनी इनोभ्याक्सद्वारा उत्पादित सिकोलिन ब्रान्डको १७ लाख ७० हजार २० मात्रा खोप प्राप्त भएको थियो।
विद्यालय केन्द्रित अभियानमा १८ हजार ९०० विद्यालयमा र ८ हजार २ स्वास्थ्य संस्थामा खोप केन्द्र राखिएको छ। अभियानमा २७ हजार ८० स्वास्थ्यकर्मी, ५४ हजार १६० स्वास्थ्य स्वयंसेवक, १५ हजार ६७४ जना सुपरिवेक्षक परिचालित थिए। बाहिर किनेर लगााउँदा ६ हजार पर्ने खोप सरकारले निःशुल्क लगाएको हो। ७३ जिल्लामा सञ्चालित खोप अभियानबाट १५ लाख ६० हजार ८ लक्ष्यको ९२ प्रतिशत अर्थात् १४ लाख ३५ हजार ७८९ ले खोप लिएका छन्।
स्क्रिनिङ कहिले ?
क्यान्सर हुनुभन्दा पूर्वास्था अर्थात् लक्षण नदेखिँदैको सुरुआती चरणको अवस्थामा नै क्यान्सर रोग पत्ता लगाई शीघ्र उपचारमा सहयोग गर्ने नै स्क्रिनिङ हो। पाठेघर मुखको क्यान्सरका लागि भिज्युल इन्स्पेक्सन विथ एसिटिक एसिड–भीआईए, प्याप स्मेयर टेस्ट, ह्युमन प्यापीलोमा भाइरस–एचपीभी टेस्ट, लिक्विड बेस्ड सिस्टोलोजी आदि उपलब्ध छन्।
निर्देशिकाले भीआईए ३० देखि ४९ वर्ष उमेर र एचपीभी स्क्रिनिङ ३० वर्षमाथि भनेको छ। त्यसैगरी एचआईभी संक्रमित महिलाहरूको भीआईए २५ देखि ४९ वर्ष उमेर र एचपीभी २५ वर्ष माथिकाले गराउनपर्र्ने र निःशुल्क छ। सामान्य अवस्थामा भीआईए हरेक ३ वर्षमा र एचपीभी हरेक ५ वर्षमा गराउनपर्छ। तर, एचआईभी महिलाले १ वर्षको अन्तरालमा भीआईए र हरेक ३ वर्षमा एचपीभी स्क्रिनिङ गराउन पर्ने निर्देशिकामा छ।
अन्तमा, खोप लिन छुटेकालाई नजिकको स्वास्थ्य संस्थामार्फत फागुन महिनाभर खोप प्रदान गरिन्छ। ३० वर्षमाथिका महिलाहरूको भीआईए प्रविधिबाट पाठेघरको मुखको क्यान्सर परीक्षण हरेक स्थानीय तहका स्वास्थ्य संस्थाबाट भइरहेकाले मौकाको फाइदा लिई जनस्वास्थ्य समस्याका रूपमा रहेको यस क्यान्सर निवारण गर्नमा होस्टेमा हैसे गर्नुपर्छ। सबै सरोकारवाला निकालयबीचको समन्वय र सहकार्यबाट मात्र पाठेघरको मुखको क्यान्सर निवारणमा सफलता पाउन सकिन्छ।
डा. बुढाथोकी संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता हुन्।
प्रतिक्रिया दिनुहोस !