राजनीतिक रोगको संक्रमण
केही दिनयता संगठित ढंगले नेकपा (एमाले) को विरुद्धमा अभियान चलाइएको छ । पहिले-पहिले पनि एमालेलाई कमजोर बनाउन कुप्रचारकै सहयोग लिने गरिएको थियो । स्पष्ट छः एमाले सैद्धान्तिक, वैचारिक, कार्यक्रमिक, नीतिगत र संगठनात्मक सबै हिसाबले देशको एक उत्कृष्ट पार्टी हो । यसलाई कमजोर बनाउन बाहिरबाट प्रयास गर्नुभन्दा भित्रै पसेर हतियार चलाउनु धेरै सुविधाजनक हुन्छ भन्ने नेपाल र नेपाली जनताका विरोधी, जो स्वतः एमालेका पनि विरोधी हुन्, ले राम्रोसँग बुझेका छन् ।
एमालेको विरुद्धमा अहिले चलाइएको कुप्रचार अभियान विगतमा भन्दा एउटा कुरामा भने पृथक् छ । विगतमा एमालेभित्रका (कति वास्तविक त कति काल्पनिक) अन्तर्विरोधहरू गोप्य ढंगले पत्रपत्रिकामा छर्ने काम गरिन्थ्यो । यसपालि भने यस पार्टीका कतिपय आधिकारिक मानिएका संस्थाहरूमा संगठित रहेका मानिसहरूलाई खुला रूपमा प्रयोग गरिएको छ । एमालेभित्रका कुनै नेताको अत्यधिक प्रशंसा र कसैको तेजोबध गर्नको लागि खासगरी तथाकथित सामाजिक सञ्जालहरूको व्यापक दुरुपयोग गरिएको छ । विगतमा एमालेभित्र प्रवेश गराइएका बाहिरिया जासुसहरूले छद्मढंगले काम गर्ने गरेका थिए, यसपालि भने उनीहरूलाई खुलारूपमा मैदानमा उतारिएको छ ।
यसबारेमा एउटा नीति कथाको सारांश अत्यन्त संक्षेपमा प्रस्तुत गर्न चाहन्छु-एकादेशमा एउटा धेरै राम्रो र घना जंगल थियो, जहाँ थरीथरीका फलफूल र बोटबिरुवा थिए । एक दिन एकजना मानिस हातमा बन्चरो लिएर जंगलमा पस्यो । ससाना पोथ्राहरू डरले हल्लिन थाले । एउटा हजारौँ वर्ष पुरानो बूढो रुखले सबैलाई आश्वस्त पार्दै भन्यो, ‘ए नाति-नातिनी पोथ्रापोथ्री हो, नडराऊ । त्यो मानिसको हातमा बञ्चरो मात्रै छ । त्यसले कतै सानोतिनो चोट लगाउला तर ठूलो नोक्सान गर्ने छैन ।'
हातमा बिँड नभएको बञ्चरो लिएको मानिसले ठूलो रुखमा दिनभरि प्रहार गरिरह्यो । रुखका केही बोक्रा उप्किए, तर रुख ढल्नुको त के कुरा, गहिरो चोट पनि लागेन । त्यस दिन त्यो मानिस थकाइले चूर भएर निराश हुँदै खाली हात फर्कियो । केही दिनपछि त्यो मानिस बन्चरोमा काठको बिँड हालेर आएको देखियो । यसपछि भने बूढो रुखले भन्यो, ‘लो पोथ्रापोथ्री हो, अब हामीजस्ता गाभी पाकेका बूढापाकाहरूका दिन गए । बन्चरो मात्रैले हामीलाई खासै केही हुने थिएन, हाम्रो आफ्नै दाजुभाइ बिँड बनेर हाम्रोविरुद्ध उत्रिएपछि भने अब हामीलाई धेरै गाह्रो पर्नेछ । हामी ठूला रुखलाई सिध्याएपछि त्यो मानिसले तिमी सानाहरूलाई पनि बाँकी राख्ने छैन ।'
निश्चय नै, जब भित्रैबाट षड्यन्त्र सुरु हुन्छ, तब त्यसले सजिलै अनिष्ट मच्चाउन सक्छ । भित्रको शत्रुलाई परास्त गर्ने एउटै उपाय हो, हरेक निर्णय, कामकारबाही र बोलीवचन विवेकसम्मत गर्नु, हरेक कुरा स्थापित प्रणालीका आधारमा गर्नू । अहिले नेपालका राजनीतिक पार्टीहरूमा सामूहिक कार्यपद्धति, स्वीकृत विधान र स्थापित परम्पराको तीव्र क्षयीकरण भएको छ । पार्टीहरूमा बैठक बसेर सामूहिक निर्णय लिने परम्परा समाप्त नै भएको छ । दुःखको कुरा, यस रोगबाट सबैभन्दा बढी ग्रसित एमाले नै भएको छ । तर पनि राजनीतिक कार्यकर्ताको नैतिक ‘धर्म' हो कि आफूलाई लागेका कुरा आन्तरिक छलफलबाट टुंगो लगाइयोस् । त्यसका लागि धैर्य गरियोस् । नेताले बिराउँदा कार्यकर्ताले सम्हालून्, कार्यकर्ताले बिराउँदा नेताले सम्हालून् । यही कुराको अभाव देखेर यो देशका शत्रू र एमालेका विरोधीहरूले यस पार्टीविरुद्ध भित्रैदेखि घनघोर षड्यन्त्र सुरु गरेका छन् ।
देशको एउटा जिम्मेवार पार्टीमाथि सुरु गरिएको छद्म तर धेरै घातक आक्रमणलाई ‘एउटा पार्टीविशेषको मात्रै विषय’ भनेर नजरअन्दाज गर्न वा पन्छाउन मिल्दैन । एमाले देशको सार्वभौमसत्ता, अखण्डता, लोकतन्त्र र जनजीविकाका लागि अनवरत खटेको पार्टी हो । नेपाली कांग्रेस र अरू कम्युनिस्ट पार्टीहरूले पनि आआफ्नो ढंगले योगदान अवश्य दिएका छन् तर यति भन्नै पर्दछ- एमालेको अभावमा बाँकी अरू पार्टीहरू मात्रैले कुनै पनि हालतमा यो देश बचाउन सक्ने छैनन् । यो कुरा सगरमाथाको टुप्पोमा चढेर भन्न सकिन्छ । एमालेका नेताहरूका विशेषताहरू पनि छन्, यिनले विगतमा त्याग देखाएका पनि हुन् ।
यी नेताका केही कमजोरी पनि पक्कै छन् । कुण्ठा, रिस, आवेग, घमण्ड, आत्मप्रशंसाको भोक, चाकडीबाजहरूको संरक्षण र स्वाभिमानी कार्यकर्ताहरूको अवहेलना, संघर्षको मैदानमा हिजोका कठिन दिनमा सँगै खटेका साथीहरूका बीचमा आपसमा मनमुटाव र अविश्वास, सत्तालिप्सा र दोहोरो चरित्रजस्ता गम्भीर प्रकृतिका रोगहरूबाट एमालेका कम्तीमा पनि माथिल्ला नेताहरू जोगिनसक्दा राष्ट्रको नै उन्नति हुने थियो । यी त्यस्ता रोगहरू हुन्, जो प्रायः राजनीतिक नेता/कार्यकर्ताहरूमा मात्रै देखा पर्छन् । यसैले यस्ता रोगहरूलाई राजनीतिक रोग भने पनि फरक पर्दैन ।
अहिले संगठित ढंगले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालमाथि आक्रमण गरिएको छ । उहाँका अभिव्यक्तिमा रहेका केही शब्दहरूलाई लिएर आकाशै खस्न लागेको जस्तो प्रचार सुरु गरिएको छ । विगतमा यस्तो झलनाथ खनाल, वामदेव गौतम र अहिलेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सबैविरुद्ध गरिएको छ । अहिले माधव नेपालविरुद्ध विषवमन गर्नेले भोलि अर्को नेतालाई पनि सिकार बनाउनेछ । यसैले एकका विरुद्ध कुनै षड्यन्त्र र कुप्रचार हुँदा अर्कोले आङ कन्याएजस्तो आनन्द मान्ने नगर्नु नै कल्याण हुनेछ । यो कुरा पक्कै हो, नेताहरूले पनि सार्वजनिक स्थानमा बोल्ने र आन्तरिक पार्टी जीवनमा बोल्ने कुरामा भेद गर्नैपर्दछ ।
नेपाली कांग्रेसमा अहिले कोही पनि नयाँ संस्करणका बीपी कोइराला छनैन्, कम्युनिस्ट पार्टीहरूमा नयाँ संस्करणका माक्र्स, लेनिन, पुष्पलाल वा मदनभण्डारी छैनन् । यसैले कसैले पनि एक्लै सारा समस्याका जंगल फाँडेर सक्छु, मलाई कसैको सहयोग चाहिन्न भन्ने घमण्ड नगरे हुन्छ । म एक्लै सबै कुरा गर्न सक्छु, म नै एक व्यक्ति सेना (वन म्यान आर्मी) हुँ, कमान्डर र सैनिक सबै मै हुँ भन्ने अति आत्मविश्वास कसैले नराखे हुन्छ ।
देशको एउटा जिम्मेवार पार्टीमाथि सुरु गरिएको छद्म तर धेरै घातक आक्रमणलाई ‘एउटा पार्टीविशेषको मात्रै विषय ' भनेर नजरअन्दाज गर्न वा पन्छाउन मिल्दैन ।
एमालेका नेताहरूले मात्रै होइन, अरूले पनि हेक्का राख्न जरुरी छ, कुनै बेला ‘टीएन प्रधान' नामको काल्पनिक पात्र खडा गरेर पत्रपत्रिकामा तथानाम लेखहरूको शृंखला चलाइएको होइन र ? ती काल्पनिक कथाका लेखकहरू अहिले कहाँ छन् ? सत्तालिप्सामा लिप्त रहेका नेकपा माओवादी र नेकपा माओवादी केन्द्रका नेता-कार्यकर्तालाई यस्ता विषयमा गम्भीर भएर गम्ने फुर्सद त नहोला, आफ्नै बुद्धिले गठबन्धन बिगारी सत्ताबाट बाहिरिन पुगेका एमालेका नेताहरूले त यसबारेमा गम्भीरतापूर्वक सोँचून् ।
एमालेको एकता र विकाससँग यो देशको सार्वभौमसत्ता र अखण्डताको भविष्य गाँसिएको छ । यस मामिलामा कांग्रेस र अरू कम्युनिस्ट् पार्टीहरूको पनि साथ-सहयोग उत्तिकै आवश्यक छ नै, तर एमालेको अभावमा माओवादी केन्द्र र कांग्रेसले मात्रै कुनै हालतमा पनि यो बिँडो पार लगाउन सक्ने छैनन् । यसैले एमालेविरुद्ध अरूले नखेल्नु नै राम्रो हुनेछ ।