नक्सालका सुशील उत्कृष्ट बक्सर

नक्सालका सुशील उत्कृष्ट बक्सर

काठमाडौंः नक्सालका सुशील थापा प्रथम अन्तर क्लब उपत्यकाव्यापी खुला पुरुष बक्सिङ प्रतियोगितामा सोमबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय बक्सिङ संघ नेपालद्वारा आयोजित प्रतियोगितामा सुशीलले ४९ केजी तौलसमूहमा स्वर्ण पदक जिते । फाइनलमा सुशीलले त्रिभुवन आर्मी क्लबका मिसलदीप सुनवारलाई अंक आधारमा पराजित गरे । उत्कृष्ट चुनिए वापत सुशीलले १० हजार रुपैयाँ पुरस्कार पाए ।

लैनचौरस्थित राष्ट्रिय टेबुलटेनिस प्रशिक्षण केन्द्रमा भएको ५२ केजी तौलसमूहको फाइनलमा आर्मीका करण चौधरीले आफ्नै क्लबका सुदीप श्रेष्ठलाई हराउँदै पहिलो स्थान हासिल गरे । ५६ केजी तौलसमूहमा नक्सालका गणेश थापाले स्वर्ण पदक हात पारे । उनले फाइनलमा आर्मीका मुनाल पुनमगरको चुनौतीलाई समाप्त पारे । ६० केजीमा नक्सालका युवराज कार्की च्याम्पियन बने । फाइनलमा उनले नक्सालकै किशोर शर्मालाई पन्छाए ।

यसैगरी ६४ केजी तौलसमूहमा आर्मीका मोहन ठकुरीले फाइनलमा ललितपुरका अनोज भण्डारीलाई निराश पार्दै स्वर्ण पदक जिते । ६९ केजीमा बानुज फिटनेसका अनिश श्रेष्ठ शीर्ष स्थानमा रहे । फाइनलमा उनले काठमाडौं बक्सिङ क्लबका सुरज मगरलाई पाखा लगाए । ७५ केजी तौलसमूहमा आर्मीका केशव बम पहिलो भए । उनले फाइनलमा आर्मीकै हर्कराम विकलाई हराए ।

यसैगरी ८१ केजीमा ललितपुरका मनोहर बस्नेतले बाजी मारे । उनले उपाधि भिडन्तमा आर्मीका ध्रुव रानाभाटलाई निराश पारे । ९१ केजीमाथि आर्मीका रोशन गोदारले फाइनलमा केन्द्रीय बक्सिङका मेघ डानियल लामालाई हराउँदै पहिलो स्थान कब्जा गरे । केशव टेक्निकल नकआउटका आधारमा विजयी भए भने बाँकी सबै अंक आधारमा विजेता बने । प्रत्येक स्पर्धामा पहिलो हुनेले दुई हजार, दोस्रोले एक हजार पाँच सय र तेस्रो हुने दुई खेलाडीले एकएक हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा आर्मी क्लब टिम च्याम्पियन बन्यो । आर्मीले सर्वाधिक पाँच स्वर्ण जित्दै टिम च्याम्पियनको उपाधि उचालेको हो । विजेतालाई पूर्वप्रधानमन्त्री झलनाथ खनाल, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ, आयोजक संघका अध्यक्ष प्रेम प्रधानलगायतले पुरस्कृत गरे । साउन १३ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा ११ क्लबका ५१ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

यसैबीच, टेबुलटेनिस राष्ट्रिय खेलाडी स्वेच्छा नेम्वाङको पहलमा बक्सिङ खेलाडी स्व. इन्द्रबहादुर पुनमगरको परिवारका लागि आर्थिक सहयोग संकलन गरिएको छ ।

स्वेच्छासहित राष्ट्रिय बक्सिङ संघ नेपाललगायतबाट ४० हजार रुपैयाँ आर्थिक सहयोग संकलन गरिएको हो । उक्त रकम सोमबार स्व. इन्द्रका परिवारलाई हस्तान्तरण गर्ने गरी बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापामगरलाई प्रदान गरिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.